अधिकारी हत्या समबन्धमा अदालतमा बहस नोट पेश

चितवन जिल्ला अदालतले कृष्णप्रसाद अधिकारी हत्या घटना सम्बन्धमा बहस गर्ने अधिवक्ताहरूसँग लिखित बहस नोट पेश गर्न आदेश गरे बमोजिम सबै अधिवक्ताले कात्तिक ५ गते बहस नोट अदालतमा पेश गरेका छन् ।

न्यायाधीश टेकनायारण कुँवरको इजलासले लिखित बहस नोट पेश गर्न असोज ११ गते आदेश गरेको हो । साथै यस मुद्दाको पेशी कात्तिक २३ गतेका लागि तय गरिएको पनि अदालतले जनाएको छ ।

वादीका तर्फाट बहस गर्ने नौ जना अधिवक्ता र प्रतिवादीका तर्फाट बहस गर्ने १३ जना अधिवक्ताहरूसँग कात्तिक ५ गतेभित्र लिखित बहस नोट पेश गर्न आदेश गरेकोमा अन्तिम दिन सबैले बहस नोट पेश गरेको अदालतका सूचना अधिकृत कृष्णप्रसाद बरालले जानकारी दिए ।

यस घटनाका सम्बन्धमा जिल्ला आदालत चितवनमा असोज ९, १० र ११ गते दुवै तर्फाट बहस गरिएको थियो ।

चितवनको रत्ननगर नपा-१३ मा आफ्नो हजुरबुवालाई भेट गर्न आएका गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीलाई ०६१ जेठ २४ गते तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले अपहरण गरी हत्या गरेका थिए ।


दिपेन्द्र अधिकारी