अधिकारकर्मीहरूद्वारा गङ्गामायाको जीवन रक्षाको अपील

  ०७५ जेठ १८ गते

लामो समयदेखि सत्याग्रहमार्फत न्यायको माग गर्दै आएकी गोरखा फुजेलकी ६२ वर्षीया गङ्गामाया अधिकारीको जीवन रक्षाको लागि अधिकारकर्मीहरूले अपील गरेका छन् ।

गणतन्त्रमासमेत न्याय नपाएको भन्दै अधिकारी गणतन्त्र दिवसकै दिनदेखि पानीसमेत नखाने प्रतिबद्धताका साथ आमरण अनसनमा रहेकी छन् । पछिल्ला केही महिनायता अधिकारीले झोलिलो पदार्थ लिइरहेकी थिइन् । तर, जेठ १५ गतेबाट झोलिलो पदार्थसमेत त्यागेकी छन् ।

‘गङ्गामायाका १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीलाई तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले २०६१ जेठ २४ गते चितवनको बकुल्लहरचोकमा हत्या गरेका थिए । हत्याको किटानी जाहेरी परेको भएतापनि आजसम्म विभिन्न बहानामा मुद्दाको पेशी सार्दै ल्याइएकाले फैसला हुन सकेको छैन ।’–जेठ १८ गते अधिकारकर्मीहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘सत्याग्रही गङ्गामायाको माग बमोजिम सम्मानित सर्वोच्च अदालतको आदेश अनुसार प्रतिवादी छविलाल पौडेललाई पक्राउ गर्न एवम् अबिलम्व मुद्दाको पुर्पक्ष गरी न्याय दिलाई गङ्गामायाको जीवनरक्षा गर्न हामी नेपाल सरकारलगायतसम्बन्धित सबैपक्षसँग अपील गर्दछौँ ।’–विज्ञप्तिमा उललेख छ । उक्त विज्ञप्तिमा अधिकारकर्मीहरू सुबोधराज प्याकुरेल, चरण प्रसाइ, बावुराम गिरी, ईन्द्रप्रसाद अर्याललगायतले हस्ताक्षर गरेका छन् ।


अनलाइन डेस्क