अधिकारकर्मीहरूद्वारा कारागारको अनुगमन

  ०७८ मङ्सिर २२ गते

राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, जिल्ला बारलगायतका सङ्घ संस्थामा आवद्ध  अधिकारकर्मीहरूले मङ्सिर २२ गते  बाँके कारागारको अनुगमन गरेका छन् ।

अनुगमन टोलीले कैदी /बन्दीहरुलाई  भेटेर उनीहरूको अवस्था, स्वास्थ्य परीक्षण, व्यवस्थापन, खानाको गुणस्तर, कानुनले तोके अनुसारको सजाय भए नभएको जस्ता  बिषयमा जानकारी लिएका थिए ।

अनुगमनका क्रममा  अनुसन्धानको अभावमा मुद्दामा निर्दोष व्यक्ति पनि गम्भीर फौजदारी मुद्दामा फस्ने गरेको, अदालतले आदेश गरेका कानुनलाई कार्यान्वयन नगर्दा समय भन्दा बढी कारागारमा बस्न बाध्य भएको पाइयो ।

कारागारका जेलर रामकुमार सोनकरले बाँके कारागारको सुधारमा सहयोग गर्न सरोकारवालालाई आग्रह गर्नु भयो । सोनकरले ३ सय ५० क्षमताको कारागारमा हाल ८ सय ९ कैदी बन्दी रहेको बताउदै  जाडोको समयमा ओढ्ने कपडाको कमी भएकोले एउटै ओढ्ने कपडामा ३/४ जना कोचिएर सुत्नु परेको बताउनु भयो ।

16 days campaignNepali

निर्माणधिन अवस्थामा रहेको खुल्ला कारागारको कार्यविधि नमिलेको कारण त्यसलाई व्यवस्थित गर्न गाह्रो भएको बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका प्रमुख झङ्करबहादुर रावलले कारागारको सुधारका लागि पहल गरिने बताउनु भयो । उहाँले कैदी /बन्दीहरूको समस्या र गुनासोलाई सम्बन्धित निकायसम्म पुर्‍याउन मदत गर्ने बताउनु भयो ।

इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले  कानुनले दिएको अधिकारलाई कार्यान्वयन गराउन आफूले पहल गरेको बताउनु भयो ।

कारागारका चौकीदार खिम सुनारले कैदी /बन्दीहरूको अधिकारको विषयमा संविधानमा लेखिएका कुराहरु व्यवहारमा लागु नभएकोले समस्या भएको बताउनु भयो ।

सुनारका अनुसार कारागारमा खेलकुद सामाग्रीहरूको अभाव, क्षमता भन्दा बढी कैदी/ बन्दी हुदाँ सुत्न, शौचालय प्रयोग गर्न समस्या रहेको छ ।

अनुगमन टोलीमा राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका प्रमुख झङकर रावल , इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत, जिल्ला बारका अध्यक्ष जनकबहादुर शाही, फातिमा फाउण्डेशनकी अध्यक्ष मैमुना सिद्दिकि, अधिकारकर्मी कमला पन्त, इन्सेक बाँके प्रतिनिधि स्मृति देवकोटा रहेका थिए ।


स्मृति देवकोटा