अधिकारकर्मीको टोलीद्वारा प्रहरी हिरासतमा रहेका जनमत पार्टीका कार्यकर्ताको अवस्थाबारे अनुगमन

  ०७८ पुस २७ गते

राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रतिनिधि सम्मिलित टोलीले जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा रहेका जनमत पार्टीका कार्यकर्ताहरूसँग पुस २४ गते भेटघाट गरी अनुगमन गरेको छ ।

अनुगमनको क्रममा प्रहरी हिरासतमा रहेका जनमत पार्टीका जिल्ला नेताहरूको मानव अधिकारको अवस्थाबारे टोलीले जानकारी लिएको छ । अनुगमन टोलीसँग प्रहरी हिरासतमा रहेका थुनुवाहरूले आफूहरूलाई प्रहरीले सम्मानपूर्वक व्यवहार गरेको बताए ।

जनमत पार्टीले आह्वान गरेको बन्दलाई सफल पार्न पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भारदह सडकखण्डमा लाठीसहित प्रदर्शन र सवारीसाधन तोडफोड गरेको आरोपमा पुस १६ गते गिरफ्तार जनमत पार्टी सप्तरीका अध्यक्ष विष्णुपुर गाउँपालिका–७ का ५७ वर्षीय चन्देश्वर मण्डलसहित ६ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयले पुस १८ गते सार्वजनिक शान्ति विरुद्धको कसुर अन्तर्गत उजुरी दर्ता गरेको छ ।

f
f

बन्द हड्तालका क्रममा पुस १६ गते हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदह सडकखण्डमा को.१ ख ६९८३ नम्बरको टिपर र बा.१९च ५२९२ नम्बरको कारको सिसा तोडफोड भएको थियो ।

अनिश्चितकालीन बन्दको क्रममा भएको झडप, प्रदर्शन, गिरफ्तारी र आगजनी घटनाको अनुगमन गरेको टोलीले जनमत पार्टीका अध्यक्ष सिके राउतसँग समेत भेटघाट गरी शान्तिपूर्ण तबरले नागरिकको अधिकार हनन् नहुने गरी आफ्नो गतिविधि गर्न अनुरोध गरेको इन्सेक प्रदेश २ संयोजक पासवानले बताउनु भयो ।

राजमार्ग अवरुद्ध नगरी वैकल्पिक माध्यमबाट शान्तिपूर्ण आन्दोलनको कार्यक्रम गर्न जनमत पार्टीसँग अनुरोध गरिएको जानकारी दिनुहुँदै प्रदेश संयोजक पासवानले एसपी अविनारायण काफ्लेसँग अत्यधिक बल प्रयोग नगर्न, मानव अधिकारको संरक्षण गर्न, गिरफ्तारीमा परेकाहरूलाई मानवोचित व्यवहार गर्न र नियन्त्रणमा लिइएको कार्यकर्ताहरूको मोटरसाइकल फिर्ता दिन अनुरोध गर्नु भयो ।

टोलीमा राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश २ कार्यालयका प्रमुख बिरबहादुर बुढा मगर, इन्सेक प्रदेश २ कार्यालयका संयोजक राजु पासवान, एडभोकेसी फोरम प्रदेश २ का संयोजक राजकुमार महासेठ, थर्ड एलायन्स प्रदेश २ का संयोजक अर्जुन साह र इन्सेक सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेल रहेका थिए ।

photo20220111saptari (2)


मनोहरकुमार पोखरेल