अधिकाङ्श सरकारी कार्यालयमा स्तनपान कक्ष नहुँदा सेवाग्राही महिलालाई समस्या

  ०८० वैशाख २० गते

जिल्ला सदरमुकाम मन्थलीमा रहेको जिल्ला प्रशासन कार्यालय, मन्थली अस्पताल र मन्थली नगरपालिका बाहेक अन्य अधिकाङ्श सरकारी कार्यालयमा नवजात शिशु बोकेर सेवा लिन आउने महिलालाई स्तनपान गराउने कक्ष नहुँदा नवजात शिशुलाई दूध खुवाउन समस्या परेको छ ।

महिला र बालबालिकाले सरकारी कार्यालयमा जाँदा समेत त्यसको उपभोग गर्न पाएका छैनन् । रामेछापका सरकारी कार्यालयमा स्तनपान कक्ष नहुँदा महिला र बालबालिका यो सुविधा उपभोग गर्नबाट वञ्चित छन् ।

सेवाको लागि पर्खँदा बच्चा रुँदा पनि स्तनपान कक्ष नहुँदा महिलाले आफ्नो बच्चालाई दूध खुवाउन नपाउने समस्या रहेको सञ्चारीका महिला समूह रामेछापकी अध्यक्ष शान्ता श्रेष्ठ बताउनु भयो ।

‘मान्छेहरूको बीचमा बसेर नवजात शिशुलाई दूध खुवाउन पनि गोह्रो, कार्यालयले छुट्टै स्तनपान कक्ष व्यवस्था नगरिदिँदा महिलालाई समस्या छ’, उहाँले भन्नुभयो ।

जिल्लाका सरकारी कार्यालयमा मात्र होइन गाउँ कार्यपालिका कार्यालयहरूमा समेत स्तनपान कक्ष व्यवस्था नगरिएको र वडा कार्यालयले त्यस बारेमा नसोचेको श्रेष्ठले जानकारी दिनुभयो ।

यसले गर्दा ती निकायमा नवजात शिशु बोकेर सेवा लिन जाने महिलाले समस्या झेल्नु परेको छ ।

'पालिकाहरूमा योजना सम्झौता गर्न जानुपर्छ, उपभोक्ता समितिको पदाधिकारीमा महिला अनिवार्य छ, उपभोक्ता समितिमा बसेको महिलाहरू योजना सम्झौता गर्न जाँदा घण्टौँ कुरेर बस्नु पर्छ, बच्चालाई दूध खुवाउने ठाउँ नहुँदा बच्चा रोइरहेको हुन्छ, महिलाले अप्ठेरो महसुस गरिरहनु भएको हुन्छ, कतिपय महिलाले अप्ठेरो मानेर नै कुनातिर बसेर बच्चालाई दूध खुवाएको देखिन्छ, यसमा स्थानीय तहका जनप्रतिनिधिको ध्यान पुगेको छैन', पत्रकार नवराज श्रेष्ठले भन्नुभयो ।

Photo_080-1-20_Ramechhap

सेवा प्रदायक कार्यालयमा महिला मैत्री शौचालय र स्तनपान कक्ष आवश्यक रहेको रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौला बताउनु हुन्छ । ‘महत्पूर्ण सुझाव आएको छ, यी सबै विषयमा कार्यालय प्रमुखको बैठकमा म कुरा उठाउँछु’, उहाँले भन्नुभयो ।

नेपालको संविधानको धारा ३८ (२) ले प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको अधिकार र ३९ (२) ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहारको हक प्रदान गरेको भए पनि रामेछापका महिला र बालबालिकाले त्यसको सहज उपभोग गर्न पाएका छैनन् ।


नवराज पथिक