अधिकांश राजनीतिक दलद्वारा आचारसंहिता उल्लङ्घन

स्थानीय तहको निर्वाचनका क्रममा प्रदेश नम्वर एकका जिल्लाहरूमा असार ८ गते शान्तिपूर्ण रूपमा राजनीतिक दलहरूले प्रचारप्रसार गरेका छन् । प्रचारप्रसारका क्रममा अधिकांश जिल्लाहरूमा राजनीतिक दलका नेता कार्यकर्ताहरूले निर्वाचन आयोगद्वारा जारी आचारसंहिता विपरीत चूनाव चिन्ह अङ्कित भेष्ट, टोपी, झण्डा, व्यानरलगायतका सामग्री प्रयोग गरेका छन् । प्रदेश नम्बर २ मा पर्ने सप्तरी जिल्लामा निर्वाचन स्थगनपश्चात निर्वाचनमा होमिएका राजनीतिक दलका कार्यकर्ताहरू निरूत्साहित हुन पुगेका छन् भने निर्वाचनको विरोधमा रहेको राष्ट्रिय जनता पार्टी(राजपा) ले मागप्रति बेवास्ता गरिएको जनाउँदै आउँदो निर्वाचनलाई लक्षित गरी असार १० गतेदेखि पुनः आमहड्ताल गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

इलाम प्रतिनिधि कोकिला ढकालका अनुसार इलाममा निर्वाचन अधिकृतको कार्यालयले असार ८ गतेबाट मतपेटिकादेखि निर्वाचन सामग्रीहरू मतदान केन्द्रहरूमा पठाउने काम शुरू गरेको छ । जिल्लामा दलहरूले  निर्वाचन गतिविधि र चुनावी सभाहरू गर्ने क्रममा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विपरीतका झण्डा र व्यानरहरू प्रयोग गरेको पाइएको छ ।

यसैबिच राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले इलाममा भइरहेको निर्वाचन आचारसंहिता उलङ्घनको अवस्थाका विषयमा जानकारी लिएका छन् । उनले जिल्लास्थित मानव अधिकारकर्मी, पत्रकार महासङ्घका सदस्य तथा सञ्चारकर्मी, प्राध्यापकहरूसँग आचारसङ्हिता उल्लङ्घनका विषयमा र निर्वाचन पर्यवेक्षकले गर्ने पर्यवेक्षणका विषयमा जानकारी आदान प्रदान गरेका हुन् ।

धनकुटा प्रतिनिधि सन्तोष रूचालका अनुसार स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै धनकुटा निर्वाचनमय बनेको छ । जिल्लामा क्रियाशील राजनीतिक दलहरू मतदाताको घर-घरमा आफ्ना प्रतिबद्धताहरू लिएर मत माग्न व्यस्त देखिएका छन् । राजनीतिक दलहरूबिचमा कुनै खालको विवाद, तनाव र झडपको अवस्था देखिएको छैन ।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी प्रदिप साहले मतदाता परिचय पत्र असार ११ गतेदेखि वितरण गर्ने जानकारी दिए ।

त्यस्तै जिल्लाको सुरक्षा अवस्था मजबुद रहेको छ । जिल्लाभरी नेपाल प्रहरी र म्यादी प्रहरी गरी करिब १ हजार २ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको र अहिलेसम्म जिल्लामा कुनै किसिमको सुरक्षा चुनौती नरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी प्रविणलाल श्रेष्ठले बताए ।

भोजपुर प्रतिनिधि किरण राईका अनुसार स्थानीय तहको निर्वाचनको क्रममा दलहरू चुनावी प्रचारप्रसारमा व्यस्त छन् । निर्वाचन सुरक्षा, सजगता र भविष्यमा हुनसक्ने घटनाप्रति मध्यनजर गर्दै प्रहरीले असार ८ गते नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई गिरफ्तार गरेको छ । जिल्लाभरीको १ सय ४१ मतदानस्थलमा खटिने १ सय ४४ जना कर्मचारीहरूका लागि सञ्चालित निर्वाचन सम्बन्धी तालिम असार ८ गते सम्पन्न भएको छ । सदरमुकामदेखि टाढा रहेको मतदानस्थलमा प्रहरीलाई असार ८ गतेदेखि खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । निर्वाचनका क्रममा हुन सक्ने सुरक्षालाई मध्यनजर गर्दै थप सतर्कता अपनाईएको प्रहरीले जनाएको छ ।

सङ्खुवासभा प्रतिनिधि बाबुराम बास्तोलका अनुसारका मत माग्न जाने क्रममा राजनीतिक दलहरूले चूनाव चिन्ह अङ्कित भेष्ट, टोपीलगायतका सामग्री प्रयोग गरी आचारसंहिता समेत उल्लङ्घन गरिरहेको पाइएको छ ।

खाँदबारी नपा-९ स्थित ढुङ्गेधारमा माओवादी केन्द्रबाट उम्मेदवार भएकी एक दलित महिलालाई एमालेलाई भोट नदिए गाउँ निकाला गर्ने भन्दै एमाले कार्यकताले धम्क्याएको माओवादी पक्षको आरोप छ ।

तेह्रथुम प्रतिनिधि भगिश्वर लिम्वुका अनुसार प्राय सबै दलका कार्यकर्ताहरूले अझै पनि चुनाव चिन्ह अङ्कित टिसर्ट प्रयोग गरिरहेको पाइएको छ । चुनावी प्रचार प्रसारका क्रममा बालबालिकाहरूको प्रयोग भएको र सोको निर्वाचन कार्यालयमा मौखिक उजुरी प्राप्त भएको निर्बाचन कार्यालयले जनाएको छ ।

खोटाङ प्रतिनिधि सुनिता मगरका अनुसार असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि मत माग्न हिँडेका अधिकांश दलहरूले निर्वाचन आचारसंहिता विपरीत चूनाव चिन्ह अङ्कित भेष्ट र सामग्रीहरू प्रयोग गरिरहेको पाइएको छ ।

ओखलढुङ्गा प्रतिनिधि शिव ढुङ्गानाका अनुसार मोलुङ गाउँपालिका-७, पात्लेमा असार ८ गते बिहान एमाले र कांग्रेस कार्यकर्तावीच झडप भएको छ । झडपमा एमालेका गाउँ कमिटी सचिव टेकराज सुनुवार घाइते भएका छन् ।

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार पूर्वाञ्चलको १६ जिल्लामध्ये प्रदेश नम्वर एक अन्तर्गत १४ वटा जिल्लाहरूमा निर्वाचनको वातावरण सहज देखिएता पनि प्रदेश नम्वर दुईमा रहेको सप्तरी र सिरहाको अवस्था भिन्न र असहज देखिएको छ । राष्ट्रिय जनता पार्टी(राजपा) को आन्दोलनका कारण प्रदेश नम्वर दुईको निर्वाचन स्थगित गरिएता पनि स्थानीय तहमा सरकारले माग पुरा नगरेको जनाउँदै आन्दोलनलाई निरन्तरता दिईनै रहेका छन् ।

निर्वाचनको विरोधमा आन्दोलनरत राष्ट्रिय जनता पार्टी(राजपा) नेपालका नेता, कार्यकर्ता र यसका समर्थकहरू पनि प्रदेश नम्बर २ को मात्र चुनाव रोकिएकोमा असन्तुष्ट छन् । प्रदेश नं. २ को निर्वाचन आगामी असोज २ गतेको लागि सार्ने सरकारले निर्णय गरेपनि राजपाले असहमति जनाउँदै आन्दोलन जारी राखेको छ ।

राजपाको बन्दहडतालले प्रभावित बनेको यहाँको जनजीवन पुन बन्दको आतङ्कले त्रसित छ । असार १४ गतेको निर्वाचनलाई लक्षित गरी उक्त पार्टीले असार १० गतेदेखि अनिश्चितकालको लागि पुनः आमहड्तालको कार्यक्रम यसअघिनै गरिसकेको छ ।


इन्सेक क्षेत्रीय कार्यालय विराटनगर