अधिकांशले बुझाएनन् निर्वाचन खर्च विवरण
सप्तरीमा स्थानीय तह निर्वाचनका भदौ ४ गतेसम्म अधिकांश उम्मेदवारले निर्वाचन खर्चको विवरण बुझाएका छैनन् । निर्वाचनका बेला गरेको खर्चको विवरण बुझाउने उम्मेदवारको सङ्ख्या ९ प्रतिशतभन्दा कम रहेको तथ्यांकले देखाएको छ ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीले दिएको जानकारी अनुसार ५ हजार ५१ जना उम्मेदवारले आफूले गरेको खर्चको विवरण बुझाएका छैनन् । खर्च विवरण बुझाउनेको सङ्ख्या ४ सय ८४ जना मात्र रहेको छ ।
सप्तरी जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ पालिकामा १६४ वडा रहेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लामा कुल ८ सय ५६ पदका लागि ५ हजार ५ सय ३५ जनाले प्रतिस्पर्धा गरेका थिए । ती उम्मेदवारमध्ये ४ सय ८४ जनाले मात्रै खर्च विवरण पेस गरेको जिल्ला निर्वाचन कार्यालय सप्तरीका जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले जानकारी दिनु भयो । निर्वाचित ८ सय ५६ जनप्रतिनिधीमध्ये १ सय ६८ जनाले र निर्वाचित नभएकामध्ये ३ सय १६ जना उम्मेदवारले खर्च विवरण बुझाएका छन् ।
‘ऐनले निर्वाचनको परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्च विवरण तोकिएको ढाँचामा पेस गर्ने भनेको छ’ जोशी भन्नु हुन्छ ‘तर आजसम्म ४ सय ८४ जनाले मात्रै खर्च विवरण बुझाएका छन् ।’ यसरी खर्च विवरण बुझाउनेमा ३ सय ४१ पुरुष र १ सय ४३ जना महिला उम्मेदवार छन् ।
दुई स्थानीय तहका कसैले पनि बुझाएनन्
जिल्ला निर्वाचन कार्यालय सप्तरीको तथ्यांक अनुसार १२ वडा रहेको कञ्चनरुप नगरपालिका र ११ वडा रहेको सप्तकोशी नगरपालिकाका कुनै पनि उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छैनन् । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सरोज मेहताका अनुसार कञ्चनरुप नगरपालिकामा ३ सय ४३ जना र सप्तकोशी नगरपालिकामा २ सय ५५ जनाले उम्मेदवारी दिएका थिए ।
यस्तै जम्मा ५ वडा रहेको तिरहुत गाउँपालिकाका पराजित अध्यक्षका एक जना उम्मेदवारले मात्र खर्च विवरण बुझाएका छन् । उक्त गाउँपालिकामा १ सय ८६ जनाको उम्मेदवारी परेको थियो ।
जम्मा ११ वडा रहेको सुरुङ्गा नगरपालिकामा ३ सय २३ जनाले उम्मेदवारी दिएकोमा ३ जनाले खर्च विवरण बुझाएका छन् । जिल्लाको सबैभन्दा दक्षिण–पश्चिम रहेको बलान बिहुल गाउँपालिकामा ६ वडा रहेको छ । त्यहाँ १ सय ९३ जनाको उम्मेदवारी परेकोमा ३ जनाले मात्र खर्च विवरण बुझाएका छन् ।
निर्वाचित प्रमुख, उपप्रमुखले पनि बुझाएनन्
निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार निर्वाचित प्रमुख पदका उम्मेदवारहरुमा राजविराज, शम्भुनाथ र डाक्नेश्वरी नगरपालिकाका प्रमुख र उपप्रमुख दुबैले निर्वाचन खर्च विवरण बुझाएका छैनन् । रुपनी, बलान बिहुल, तिरहुत र अग्नीसाइर कष्णसवरन गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पनि खर्च विवरण नबुझाएको कार्यालयको तथ्याङ्कले देखाउँछ ।
यसैगरी हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष, खडक नगरपालिकाका उपप्रमुख, राजगढ र बिष्णुपुर गाउँपालिकाका उपाध्यक्षले पनि खर्च विवरण नबुझाएको तथ्यांकमा देखिन्छ ।
खर्च विवरण बुझाउने उम्मेदवारमा राजविराज नगरपालिकाका १ सय १ जना, बोदे बर्साइन नगरपालिकाका ७५ जना, छिन्नमस्ता गाउँपालिकाका ६१ जना, हनुमाननगर कंकालिनी नगरपालिकाका ५१ जना र राजगढ गाउँपालिकाका ४६ जना छन् । महादेवा गाउँपालिकाका ४२ जना, तिलाठी कोइलाडी गाउँपालिकाका ३८ जना, डाक्नेश्वरी नगरपालिकाका १९ जना, बिष्णुपुर गाउँपालिकाका १८ जना उम्मेदवारले पनि खर्च विवरण बुझाएका छन् ।
यस्तै खडक नगरपालिकाका ९ जना, शम्भुनाथ नगरपालिका र रुपनी गाउँपालिकाका ६/६ जना, अग्नीसाइर कृष्णसवरन गाउँपालिकाका ५ जना, सुरुङ्गा नगरपालिका र बलान बिहुल गाउँपालिकाका ३/३ जना तथा तिरहुत गाउँपालिकाका १ जना उम्मेदवारले मात्र खर्च विवरण बुझाएका छन् ।
निर्वाचन आयोगले तोकिएको समयमा खर्च बिबरण बुुझाए नबुुझाएको यकिन गरी आबश्यक कारवाहीको लागि आयोगमा सिफारिससहित लेखी पठाउन निर्देशन जारी गरेपछि विवरण पठाइएको छ ।
स्थानीय तहमार्फत सबै उम्मेदवारहरुलाई निर्बाचन खर्च विवरण बुुझाउन ताकेता गरे पनि न्यून सङ्ख्यामा मात्र खर्च विवरण प्राप्त भएको जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले बताउनु भयो । आयोगले खर्च विवरण नबुझाउने र ढिलो बुझाउनेलाई कारवाहीको प्रकृया अगाडि बढाउँदै साउन ३१ गते नै सात दिनभित्र सफाइसहितको स्पष्टिकरणको आदेश दिएको छ ।
कुन कुन पार्टीले बुझाए खर्च विवरण ?
खर्च विवरण बुझाउनेमा सबैभन्दा बढी जनमत पार्टीका उम्मेदवारको रहेको छ । यसअघि निर्वाचन बहिष्कार गर्दै आएको जनमत पार्टीले सप्तरीको १८ ओटै स्थानीय तहमा चुनाव लड्दै १२८ जना उम्मेदवारले खर्च विवरण समेत बुझाएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका ८२ जना, नेपाली कांग्रेसका ८० जना, जसपाका ७९ जना उम्मेदवारले खर्च विवरण बुझाएका छन् ।
यस्तै नेकपा (माओवादी केन्द्र)का ३५ जना, नेकपा (एकिकृत समाजवादी) केन्द्रका ३१ जना, नेकपा (एमाले)का २७ जना, राप्रपाका १० जना, नेपाल संघीय समाजवादी पार्टी र जनता प्रगतिशील पार्टीका २/२ जना तथा तमलोपा र नेपाल लोकतान्त्रिक पार्टीका १/१ जना उम्मेदवारले खर्च विवरण बुझाएका छन् । स्वतन्त्र ६ जना उम्मेदवारले पनि खर्च विवरण बुझाएका छन् ।
कानुनी व्यवस्था
निर्वाचन आयोग ऐन २०७३ को दफा २५ को उपदफा १ र स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार निर्वाचन खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र बुझाउनु पर्ने व्यवस्था छ ।
सजिलोका लागि दल, उम्मेदवार वाहेक तिनका प्रतिनिधिले समेत आयोगले तोकेको कार्यालय अर्थात जिल्ला वा प्रदेश निर्वाचन कार्यालय समक्ष खर्च विवरण बुझाउन सक्ने व्यवस्था छ । तर सप्तरी जिल्लाका अधिकांश उम्मेदवारले तीन महिना बित्दासम्म पनि निर्वाचन खर्च विवरण बुझाएका छैनन् ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…