अदालत र आयोगको निर्देशन विपरीत प्रशासन कार्यालय परिसरबाट नेकपा कार्यकर्ता गिरफ्तार

जिल्ला अदालत र मानव अधिकार आयोगको निर्देशन अटेर गर्दै प्रहरीले जिल्ला प्रशासन कार्यालय परिसरबाट दानबहादुर फडेरालाई वैशाख १० गते गिरफ्तार गरेको राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जले जनाएको छ ।

राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालयको वैशाख ९ गतेको निर्णय अनुसार बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलमार्फत फडेरालाई घर पठाई सकुशल परिवारको जिम्मा लगाउने भनिएको थियो ।

सोही अनुसार राष्ट्रिय मानव अधिकार आयोग र अधिकारकर्मी तथा सञ्चारकर्मीहरूको एक टोलीले वैशाख १० गते फडेरालाई प्रमुख जिल्ला अधिकारीलाई जिम्मा लगाएको थियो ।

फडेरालाई इन्सेक प्रदेश ५ का संयोजक भोला महतको रोहवरमा फडेराकी पत्नी मिश्रा पुनलाई जिम्मा लगाएको थियो ।

जिम्मा लिए लगत्तै जिल्ला प्रशासन कार्यालय परिसर भित्रैबाट प्रहरीले फडेरालाई पुनः गिरफ्तार गरेको आयोगका प्रमुख चन्द्रकान्त चापागाईँले बताए ।

विष्फोटक पदार्थ मुद्दाको आरोपमा गिरफ्तार परेका हुम्ला जिल्ला ओदानचुली नगरपालिका घरभई बाँके जिल्ला  कोहलपुर नपा–११ एकतानगर बस्दै आएका ३५ वर्षीय दानबहादुर फडेरालाई  जिल्ला अदालतले वैशाख ८ गते साधारण तारेखमा रिहा गरेको थियो । रिहा लगत्तै फडेरा पुनः गिरफ्तारीमा पर्ने डरले आयोगको कार्यालयमा शरण लिन पुगेका थिए ।

आयोगमा बसेका फडेरालाई गिरफ्तार गर्न वैशाख ८ गते राति इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमेशबहादुर सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा पुगेर सुरक्षा गार्ड हरिबहादुर केसीलाई धम्की दिएको आयोगका नेपालगञ्जका प्रमुख चापागाईँले बताए ।

उक्त घटनाका सम्बन्धमा बाँकेस्थित अधिकारकर्मीहरूले वैशाख १० गते ध्यानाकर्षण जनाएका छन् । सकुशल घर फिर्ता पठाई परिवारको जिम्मा लगाउन आयोगले निर्देशन दिएको भएपनि जिल्ला प्रशासन कार्यालयले सो निर्देशन पालना नगरी कार्यालय भित्रैबाट फडेरालाई गिरफ्तार गरिएको घटनाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल बारका केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठ, उच्च अदालत बार नेपालगञ्जका अध्यक्ष विकास आचार्य, नेपाल मानव अधिकार संगठनका अध्यक्ष प्रह्लाद कार्की, इन्सेक नेपालगञ्जका संयोजक भोला महत, एडभोकेसी फोरमका बसन्त गौतम, थर्ड एलाइन्सका आलम खानलागयतले संयुक्तरूपमा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा  मानव अधिकार मुल्य मान्यता, विधिको शासन र कानुनी प्रक्रियाका समान्य सिद्दान्तहरुको समेत उल्लङ्घन गर्दै प्रहरीद्वारा गरिएका यस्ता निन्दनीय कार्यका भत्र्सना गरिएको छ ।

उनीहरूले आम नागरिकको मानव अधिकारको रक्षा गरी कानुनी शासनको सम्मान गर्दै यस किसिमका मानव अधिकार र कानुनी प्रक्रिया विपरीतका कार्य नगर्न/नगराउन सम्बन्धित निकायलाई अपिल गरेका छन् ।

photo20190423banke (1)

photo20190423banke (2)

photo20190423banke (3)

photo20190423banke (4)

photo20190423banke (5)


स्मृति देवकोटा