अदालत परिसरमै प्रहरीद्वारा महिलामाथि कुटपिट

  ०७४ फागुन १५ गते

राजपुर नपा-९ की ५५ वर्षीया कोरैसी खातुन र सोही ठाउँकी ३४ वर्षीया अमब्या खातुनलाई ०७४ फागुन १४ गते दिउँसो प्रहरीले रौतहट जिल्ला अदालत परिसरमै कुटपिट गरी घाइते बनाए । उनीहरूसँगै गएका अन्य महिला समेतलाई प्रहरीले कुटपिट गरी घाइते बनाएका छन् ।

रौतहटको राजपुर नपा-९ बैरियाटोलमा गत माघ ९ गते ८ वर्षीय बालक महफुज देवानलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनाका पाँच जना आरोपितलाई प्रहरीले फागुन १४ गते अदालत पेश गरेको थियो ।

आरोपितहरूलाई अदालतमा पेश गरेपछि बहस सुन्न जान लागेका मृतक बालककी हजुरआमा कोरैसी खातुन सहित दुई दर्जन बढी महिलाहरूलाई प्रहरीले अदालत परिसरमै कुटपिट गरी घाइते बनाएका हुन् ।

प्रहरीको कुटपिटबाट घाइते महिलाहरुलाई तत्कालै गौर अस्पतालमा उपचारको लागि लगिएको थियो । अस्पतालका अहेव पङ्कज ठाकुरले घाइते महिलाहरूको सम्वेदनशील अङ्गमा चोट लागेको जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी यज्ञविनोद पोखरेलले अदालत परीसरमा न्याय सम्पादनको कामलाई दबाव दिने उद्धेश्यले केही व्यक्ति प्रवेश गर्न लाग्दा सुरक्षाकर्मीले रोकेको तर कुटपिट नगरेको बताए । प्रहरीको कुटपिटबाट घाइते कोरैसी खातुनलाई थप उपचारको लागी बिरगञ्ज पठाइएको छ । अमब्या खातुनको उपचार गौर अस्पतालमा नै भैरहेको छ ।


बिपिन गौतम