अदालतले आरोपितलाई थुनामुक्त गरेको भन्दै आन्दोलन

  ०८१ साउन २९ गते

आत्महत्या दुरुत्साहन मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका आरोपितलाई उच्च अदालत सुर्खेतले थुनामुक्त गरेपछि पीडितहरू आन्दोलित भएका छन् ।

सुर्खेतको लेकवेशी नगरपालिका–३, व्यावरीकी १९ वर्षीया गरिमा जिसीले ०८१ जेठ १४ गते घरमै आत्महत्या गर्नुभएको थियो । माइती पक्षले गरिमालाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै २३ वर्षीय पति गङ्गबहादुर खत्री, ५० वर्षीय ससुरा मानबहादुर खत्री र ४५ वर्षीया सासु राधिका खत्रीसहितले आत्महत्या गर्न बाध्य पारेको भन्दै जेठ १६ गते इलाका प्रहरी कार्यालय छिन्चुमा उजुरी दिनुभएको थियो । माइती पक्षको उजुरीपछि प्रहरीले गङ्गबहादुरलाई जेठ १७ गते गिरफ्तार गरेर आत्महत्या दुरुत्साहन मुद्दा चलाएको थियो । ०८१ असार १६ गते जल्ला अदालतले प्राप्त प्रमाणका आधारमा गङ्गबहादुर दोषी होइनन् भन्न सकिने आधार नभएकाले हाललाई थुनामा पठाउनु भनेर आदेश गरेको थियो । त्यस विरुद्ध गङ्गबहादुर उच्च अदालत पुगेका थिए ।

Photo13082024Surkhet,

उच्च अदालतका मुख्य न्यायाधीश लोहितचन्द्र शाह र न्यायाधीश माधव धितालको साउन १६ गते इजलासले आदेश बदर वा धरौटी माग गर्ने निर्णय गरेको थियो । उच्च अदालतको आदेशपछि गङ्गबहादुर १ लाख ५० हजार रुपियाँ धरौटी बुझाएर थुनामुक्त भएका थिए । छोरीलाई आत्महत्या गर्न बाध्य पार्नेलाई उच्च अदालतले थुनामुक्त गरेपछि माइती गाउँ भेरीगङ्गा नगरपालिका–११, रामघाटबाट आएका झण्डै एक सयभन्दा बढी आफन्तहरूले साउन १८ गते उच्च अदालतबाहिर धर्ना दिएका थिए । पीडितहरू मङ्गलगढी चोकदेखि र्‍यालीसहित उच्च अदालत पुगेका थिए । उनीहरूले घुस खाएर अदालतले फैसला गरेको, पीडितले न्याय नपाएको, महिलामाथि हिंसा बढ्दै गएको भन्दै नारा लगाएका थिए ।

सुरक्षाकर्मीमार्फत आन्दोलन गरिरहेकाहरूलाई छलफलमा बोलाइए पनि पीडित पक्षले आफूहरूले न्याय पाउन नसकेको गुनासो गर्दै आएका छन् । मृतकका जेठो बुबा हर्क बिसीले पीडकलाई अदालतले थुनामुक्त गरेपछि आफूहरू आन्दोलित भएको बताउनु भयो । ‘छोरीलाई आत्महत्या गर्न बाध्य बनाइयो, पत्नी, सासु–ससुरा र नन्दले कुटपिट गरेपछि छोरीले आत्महत्या गरेकी हुन् । सुरुमा प्रहरीले उजुरी लिन मानेन्, पति विरुद्ध मात्रै उजुरी लिएपछि जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठायो । उच्च अदालतले थुनामुक्त गरेपछि आन्दोलित भएका हौँ', उहाँले भन्नुभयो । उहाँका अनुसार साउन २९ गते वकिलसहित वार्तामा गएका छन् । पीडितलाई कारबाही नभए, पीडितलाई फेरि थुनामा नपठाए थप आन्दोलन गर्ने उनीहरूको भनाइ छ ।

Photo13082024Surkhet,.


जगतदल जनाला विक