अदालतमा सम्बन्ध विच्छेदका मुद्दा धेरै

  ०८१ साउन २४ गते

विवाहपछि पति वैदेशिक रोगजारीमा जानु, सानै उमेरमा प्रेम विवाह गर्ने र परिपक्क भएपछि आपसी समझदारी नहुनु, अन्तरजातीय विवाहपछि परिवारमा बेमेल हुनु तथा अपेक्षा अनुसारको माग पुरा नहुँदा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।

सम्बन्ध विच्छेदका मुद्दा बढ्दै जानुले समाजमा महिला र बालबालिकाको अवस्था र उनीहरूले पाउने अधिकार सङ्कुचित हुँदै गएको छ । जिल्ला अदालतमा आर्थिक वर्ष ०८०-०८१ मा दर्ता भएका ४ सय ६८ थान मुद्दामध्ये १ सय ९९ थान मुद्दा सम्बन्ध विच्छेदका छन् ।

सम्बन्ध विच्छेदका मुद्दा उक्त आर्थिक वर्षमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा धेरै रहेको जिल्ला अदालतले जनाएको छ । दर्ता भएका १ सय ९९ थान सम्बन्ध विच्छेदका मुद्दामध्ये १ सय ९७ ओटा मुद्दा फर्छौट भएका छन् । दुई थान मुद्दामा न्याय निरूपण हुन बाँकी रहेको अदालतका श्रेस्तेदार उज्वल न्यौपानेले बताउनु भयो ।

अदालतमा दर्ता भएका अंशवण्डाका ५१, बलात्कारसम्बन्धी २०, बलात्कार प्रयासका ६, बाल यौन दुर्व्यवहारका चार, हाडनाता करणीका आठ, गर्भपतनका तीन, जातीय विभेका दुई र बालविवाहको एक थान मुद्दा दर्ता भएको श्रेस्तेदार न्यौपानले बताउनु भयो ।

विवाहसम्बन्धी ३०, बहुविवाहका पाँच, हत्याका पाँच, ज्यान मार्ने प्रयासका पाँच, आत्महत्या दुरूत्साहनका आठ थान मुद्दा दर्ता भएका छन् । अदालतमा गत वर्ष दर्ता भएका ४ सय ६८ थान मुद्दामध्ये ३ सय ५८ फर्छाैट भई १ सय १० बाँकी रहेको श्रेस्तेदार न्यौपानले बताउनु भयो ।

विवाहपछि पति वैदेशिक रोगजारीमा जानु, सानै उमेरमा प्रेम विवाह गर्ने र परिपक्क भएपछि आपसी समझदारी नहुनु, अन्तरजातीय विवाहपछि परिवारमा बेमेल हुनु तथा अपेक्षा अनुसारको माग पुरा नहुनुको कारण सम्बन्धविच्छेदका मुद्दा धेरै दर्ता भएको श्रेस्तेदार न्यौपानले बताउनु भयो । उच्च अदालत विराटनगर, धनकुटा इजलासले कार्यसम्पादनमा विगत पाँच वर्षयताकै सबैभन्दा उल्लेखनीय प्रगति हासिल गरेको छ । धनकुटासहित चार जिल्लाको कार्यक्षेत्र रहेको उक्त इजलासमा यसवर्ष ८३ दशमलव ८४ प्रतिशत मुद्दामा न्याय सम्पादन गरिएको छ ।  आर्थिक वर्ष ०७६-०७७ मा ८१ दशमलव २७ प्रतिशत मुद्दा किनारा लगाइएकोमा त्यसयता कमि आएको थियो । अदालतका रजिष्टार राजकुमार दाहालले पाँच वर्षे मुद्दाको तुलनात्मक अवस्थामा सबैभन्दा उल्लेख्य प्रगति यस वर्ष भएको बताउनु भयो ।

आर्थिक वर्ष ०७६-०७७ मा ४ सय ७० लगतमध्ये ३ सय ८२ थानमा न्याय निरूपण गरिएको थियो । इजलास अन्तर्गत धनकुटा, तेहृथम, सङ्खुवासभा र भोजपुर जिल्ला कार्यक्षेत्र छन् । पाँच वर्षको अवधिमा सबैभन्दा कम मुद्दा आर्थिक ०७७-०७८ मा थिए । उक्त अवधिमा ३ सय १४ थान मुद्दा दर्ता भएकामध्ये १ सय ५२ थान मुद्दामा न्याय सम्पादन गरिएको थियो । जुन ४८ दशमलव ४० प्रतिशत मात्र प्रगति थियो । त्यस अवधिमा कोरोना भाइरसको महामारीका कारण प्रगति कमी भएको रजिष्टार दाहालको भनाइ छ ।

आर्थिक वर्ष ०७८-०७९ मा ४ सय १४ थान मुद्दा दर्ता भएकोमा २ सय ८९ थान मुद्दा छिनिएको थियो । जुन ६९ दशमलव ८ प्रतिशत प्रगति हो । यस्तै, अदालतमा ०७९-०८० मा ४ सय ६४ थान मुद्दामध्ये ३ सय ३५ थान मुद्दामा छिनोफानो गरिएको थियो । विगतको तुलनामा यस वर्ष उल्लेख्य प्रगति हुनुमा मातहतका जिल्लाबाट मिसिललगायतका कार्यमा सहज र समन्वयकारी भूमिका रहेको रजिष्टार दाहालको भनाइ छ ।

‘मातहतका अदालतबाट मिसिल समयमा पठाउने कार्य प्रभावकारी भएकोले मुद्दा फैसलामा सहज हुन पुग्यो’, उहाँले भन्नुभयो, ‘इजलासले एक वर्षे मुद्दा शूण्य गर्ने प्रयासमा लाग्दा पनि प्रगतिमा सुधार आएको हो ।’ पञ्चवर्षीय रणनीतिक योजना अन्तर्गत छिटोछरितो रूपमा न्याय प्रदान गर्ने प्रयासमा रहेको इजलासका मुख्य न्यायाधीश गणेश बरालले बताउनु भयो ।

आर्थिक वर्ष ०८०-८१ मा उक्त इजलासमा अघिल्लो वर्षको सरेर आएको १ सय ३२ थान र नयाँ दर्ता भएका ३ सय २० थान गरी ४ सय ५२ थान मुद्दामध्ये ३ सय ७९ थान मुद्दामा छिनोफानो गरिएको छ । सरकारवादी फौजदारी २ सय ८८ थान मुद्दामध्ये २ सय ५५ थान तथा दुनियावादी फौजदारी २७ थानमध्ये २२ थान मुद्दामा न्याय निरूपण गरिएको छ । रिट निवेदन ५५ थानमध्ये ४५ थान फर्छ्योट भएको अदालतल जनाएको छ ।

सोलुखुम्बु प्रतिनिधि अञ्जु कार्कीका अनुसार जिल्लामा आर्थिक वर्ष ०८०-०८१ मा सम्बन्धविच्छेदका ८९ ओटा मुद्दा भएका छन् । आर्थिक वर्ष ०८०-०८१ मा देवानी मुद्दातर्फ १ सय २८ थान मुद्दा दर्ता भएकामा ८९ थान मुद्दा सम्बन्ध विच्छेदका भएको जिल्ला अदालतले जनाएको छ । ८९ थान मुद्दा सम्बन्ध विच्छेदका दर्ता भएकोमा ६६ ओटा फैसला र २३ थान मुद्दा फैसला हुन बाँकी रहेको जिल्ला अदालतका श्रेस्तेदार विकास कुमार रजकले बताउनु भयो । उहाँका अनुसार देवानी मुद्दातर्फ १ सय २८ थान मुद्दा दर्ता भएकोमा ६६ थान मुद्दा फैसला र ३४ थान मुद्दा कानुनी प्रक्रियामा छ । फौजदारीतर्फ १ सय दुई थान मुद्दा दर्ता भएकोमा ६६ थान मुद्दा फैसला र ३३ थान मुद्दा फैसला हुन बाँकी छ । फौजदारीतर्फ सबैभन्दा बढी बलात्कारका  ३१ थान मुद्दा मुद्दा दर्ता भएकामा २८ थान मुद्दा फैसला र तीन थान मुद्दा कारवाहीको प्रक्रियामा रहेको जिल्ला अदालतका तहसिलदार उमेश सुवेदीले बताउनु भयो । विवाहपछि पति वैदेशिक रोगजारीमा जानु, सानै उमेरमा प्रेम विवाह गर्ने र परिपक्क भएपछि आपसी समझदारी नहुनु, अन्तरजातीय विवाहपछि परिवारमा बेमेल हुनु तथा अपेक्षा अनुसारको माग पुरा नहुँदा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएको अदालतले जनाएको छ ।


ईश्वर थापा