अदालतको फैसला विपरीत विप्लव नेतृवको नेकपाका नेता प्रहरी हिरासतमा

अदालतको फैसला विपरीत नेत्रविक्रम चन्द (विप्लव) नेतृवको नेकपाका नेता गोरखा बस्ने ४५ वर्षीय कपिलदेव भट्टलाई जिल्ला प्रहरी कार्यालय, तनहुँले हिरासतमा राखेको छ ।

सो पार्टीका गोरखा जिल्ला सेक्रेटरी समेत रहेका भट्टलाई जेठ १४ गते इलाका प्रहरी कार्यालय, आबुँखैरेनीको टोलीले गिरफ्तार गरेको हो ।

यसअघि नै वैशाख २७ गते गोरखाबाट गिरफ्तार भएका भट्टलाई उच्च अदालत पोखराले जेठ १३ गते थुनामुक्त गर्नु भन्ने फैसला गरेको थियो ।

अदालतको सो फैसला अनुसार भट्टलाई इलाका प्रहरी कार्यालय, आबुँखैरेनीबाट परिवारको जिम्मा लगाउने भनी जेठ १४ गते पोखराबाट आबुँखैरेनी लगिएकोमा परिवारको जिम्मा नलगाई जिल्ला प्रहरी कार्यालय दमौलीमा ल्याई हिरासतमा राखिएको पीडित पक्षले जानकारी दिएको छ ।

यसअघि गोरखामा प्रहरीले गिरफ्तार गर्ने क्रममा भागदौड हुँदा भट्टको दाहिने गोडा भाँचिएपछि हाल उनी हिरासत भित्रै उपचारको क्रममा छन् ।

इन्सेक प्रतिनिधिले जेठ २० गते हिरासतमा गरेको भेटका क्रममा भट्टले आफूलाई अदालतको आदेश विपरीत प्रहरीले पुनः गिरफ्तार गरेको बताए । गोडा प्लाष्टर गरेको कारण हिरासत भित्र शौचालय जान आउन निकै समस्या पर्ने गरेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय, तनहुँका एसपी विनोद सिलवालले भट्टलाई परिवारको जिम्मा लगाउन इलाका प्रहरी कार्यालय, आबुँखैरेनीमा लैजाँदा प्रहरीलाई दुर्व्यवहर गरेको कारण पुनः गिरफ्तार गर्नु परेको बताए ।

प्रहरीलाई दुर्व्यवहर गरेको आरोपमा उनलाई अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएको एसपी सिलवालले जानकारी दिए ।


प्रकाशचन्द्र भट्टराई