कारागार भवन जीर्ण हुँदा कैदीबन्दीलाई सास्ती

  २०८१ जेठ १८

१९९७ सालमा स्थापना भएको जिल्ला कारागार, कैलालीको भवन जीर्ण हुँदा कैदीबन्दीहरुले सास्ती खेप्नुपरेको छ । कारागारमा क्षमता भन्दा चार गुणा बढी कैदीबन्दी राखिएका कारण अत्यधिक गर्मी बढेसँगै कैदीबन्दीहरुले थप सास्ती खेप्नु परेको छ ।

टीनले छाएका छाप्राहरु गर्मीको कारण तातिएर बस्नै नसक्ने अवस्था भएको  कारागारका चौकीदार ऐकेन्द्र शाहीले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘एक जना बस्ने ठाउँमा तीन / चार जना कोचिएर बस्नु पर्ने अवस्था छ । गर्मीको मौसममा मान्छेको चाप र ताप दुवै भएपछि शरीरको दुर्गन्धसँगै छाला र श्वासप्रश्वाससम्बन्धी रोगको संक्रमण फैलिन सक्ने सम्भावना अत्यधिक छ । मेसमा खाना खानु पर्ने, एउटै कोठामा कोचिएर बस्नु पर्ने, पालैपालो सुत्नु पर्ने, शौचालय जान पालो कुर्नु पर्ने, फोहाेर व्यवस्थापन र ढल निकास नहुँदा कैदीबन्दीहरु दुर्गन्धित वातारणमा बस्नु पर्ने बाध्यता रहेको छ ।’

महिला नाइके कल्पना सिंहले आमासँगै बन्दी जीवन बिताइरहेका तीन जना नाबालकलाई राज्यले पोषण, शिक्षा, स्वास्थ्य कुनै किसिमको सेवासुविधा नदिदा नाबालक अन्य कैदीबन्दी जस्तै जीवन जिउन बाध्य रहेको बताउनु भयो ।

२५ जना महिला सहित १ सय २५ जना क्षमता भएको जिल्ला कारागार, कैलालीमा हाल ६ सय ३९ जना पुरुष, ५४ जना महिला गरी ६ सय ९३ जना कैदीबन्दी र दुई जना नाबालक राख्नु पर्ने बाध्यताले दैनिक रुपमा गरिने क्रियाकलाप तथा प्रशासनीक व्यवस्थापनमा चुनौती रहेको जिल्ला कारागार, कैलालीका प्रमुख दिपक पाण्डेले बताउनु भयो ।

भौतिक संरचनाको अभाव, ऐन र कानुनमा व्यवस्था भए अनुसार राज्यले स्वास्थ्य, पोषण, आचरण सुधारका गतिविधिहरु तथा मनोरञ्जन, खेलकुद तथा राज्यबाट प्राप्त बजेट अपुग हुँदा कारागार व्यवस्थापन गर्न कर्मचारीहरुले समस्या भोग्नु परेको पण्डेले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘गर्मीको कारण कारागार भित्रका कैदबन्दी, ज्येष्ठ नागरिक, नाबालक, बिरामी, दिर्घरोगी र अपाङ्गता भएका व्यक्तिहरुलाई छुट्टा छुट्टै राख्नु पर्ने हो । तर, भौतिक संरचनाको अभावमा बिभिन्न अपराधिक मानसिकता भएका र नभएका कैदीबन्दी सबैलाई एउटै कोठामा राख्नु पर्ने बाध्यता रहेकाले सुरक्षामा चुनौती बढेको छ । ’


मैनामोती चौधरी