अत्यधिक गर्मीका कारण विद्यालयमै विद्यार्थीहरू बेहोस

  ०८१ जेठ ३० गते

अत्यधिक गर्मीका कारण दाङका दुई ओटा विद्यालयका १२ जना विद्यार्थीहरू बेहोस भएका छन् । अमर माध्यमिक विद्यालय, तुलसीपुर उपमहानगरपालिका–११, उरहरीका १० जना विद्यार्थीहरू ०८१ जेठ ३० गते कक्षाकोठामै बेहोस भएर लडेपछि विद्यालयमै स्वास्थ्यकर्मी बोलाएर उपचार गरी घर पठाइएको विद्यालयका प्रधानाध्यापक पदमबहादुर ओलीले जानकारी दिनुभयो ।

नौ जना छात्रा र एक जना छात्र गर्मीले बेहोस भएपछि स्वास्थ्य चौकी बेलटाकुराबाट स्वास्थ्यकर्मी बोलाएर उपचार गरिएको हो । गर्मीका कारण बेहोस भएको स्वास्थ्य चौकीका स्वास्थ्य कर्मचारी चित्रबहादुर वलीले बताउनु भयो । पहिले पनि एक/दुई जना विद्यार्थीमा समस्या देखिएको थियो । यसैगरी जनता सँस्कृत मावि, तुलसीपुर उपमहानगरपालिका–१८, विजौरीमा पनि दुई जना छात्रा बेहोस भएको जनता सँस्कृत माविका प्रधानाध्यापक पदमबहादुर रावतले जानकारी दिनुभयो ।

विद्यार्थीहरूलाई ज्वरो आउने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, पखाला लाग्नेजस्ता समस्या देखिएको तर बेहोस हुने समस्या जेठ ३० गतेदेखि देखिएको प्रधानाध्यापक रावतले बताउनु भयो । बिरामी छात्र छात्रालाई प्राथमिक उपचारपछि अभिभावकको जिम्मा लगाइएको उहाँले जानकारी दिनुभयो ।

अत्यधिक गर्मीले विद्यार्थीहरू बिरामी पर्न थालेपछि दाङका स्थानीय तहहरूले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । घोराही, तुलसीपुर उपमहानगरपालिका, गढवा, राप्ती र शान्ति नगरपालिकाले विदाको निर्णय गरेका छन् भने अन्य स्थानीय तहमा पनि छलफल भइरहेको छ । दाङमा हालसम्म अधिकतम तापक्रम ४०.२ डिग्री र न्यूनतम तापक्रम २७ डिग्री मापन गरिएको जल तथा मौसम विभाग फिल्ड कार्यालय घोराहीले जनाएको छ । धेरैजसो विद्यालयमा टिनको छाना रहेको, ट्याङ्कीमा राखिएको पानी पनि तातिएकाले विद्यार्थी बिरामी पर्न थालेको विद्यालयहरूले जनाएको छ ।

Photo12062024Dang1


जयनारायण पुन