अति संवेदनशील मतदान स्थलबाट मतपेटी ल्याउन हेलिकप्टरको माग

  ०७९ वैशाख २२ गते

आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जुम्ला जिल्लाका ७९ वटा मतदान स्थल र १ सय २ मतदान केन्द्र कायम गरिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दका अनुसार सुरक्षाको दृष्किोणबाट ७९ मतदान स्थलहरूमध्ये ४१ ओटा मतदान स्थललाई अति संवेदनशील, १५ ओटा मतदान स्थललाई संवेदनशील र २३ ओटा मतदान स्थल सामान्य रहेका छन् ।

कसरी सुरक्षा प्रवन्ध मिलाउने भन्ने बिषयमा तयारी भईसकेको छ । यति मात्र होइन दुरीको हिसावले टाढा भएको तिला गाउँपालिकाको खोप्री सहित चार स्थान टाढा रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी  विजयाकुमारी प्रसाईका अनुसार सुरक्षा निकायलाई मतदान गरेर सकाउन मात्रै चिन्ता छैन । मतदानपछि स्थानीय तहको निर्वाचन कार्यालयमा मतपेटिएका पु¥याउने, गणना सहित अन्तिम कार्यसम्म सुरक्षा प्रवन्धको बिषयमा जिल्ला सुरक्षा समितिले योजना बनाएको उहाँले बताउनु भयो । तर ५ देखि ७ घण्टा लाग्ने खोप्रीबाट मत पेटिका ल्याउन हेलिकप्टर आवश्यक देखिएको छ ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले खोप्री जस्ता जोखिम स्थानमा हेलिकप्टरका लागि पहल गर्न राजनीतिक दलको तर्फबाट पनि पहल गर्न आग्रह गर्नुभयो । उहाँले प्रदेश स्तरीय बैठकमा समेत खोप्रीमा हेलिकप्टरको आवश्यक रहेकोमा जोड दिनुभयो ।

जुम्लाका डिएसपी चन्दका अनुसार तिला गाउँपालिका–९ स्थित नैनादेवी आधारभुत विद्यालय खोप्रीमा मानेचौरबाट हिडेर ६ देखि ७ घण्टा समय लाग्छ । त्यहाँबाट मतपेटिका तिलामा ल्याई पुग्न करिब ८ देखि ९ घण्टा लाग्ने भएकाले ध्यान दिन जरुरी रहेको उहाँले बताउनु भयो ।

यस्तै तिला गाउँपालिका–९ कै ज्योति मा.वि राँसामालापानी र प्रस्तावित मा.वि. ढिपु पनि करिब तिला गाउँपालिकाबाट ६ घण्टा टाढा रहेको छ । यस्तै कनकासुन्दरीको मर्फानमा कनकासुन्दरीबाट तीन घण्टा समय लाग्ने अनुमान गरिएको छ । यस्तै जिल्लाभरमा मतगणना स्थल वा पालिका केन्द्रमा १ देखि ३ घण्टा समय लाग्ने धेरै स्थान छन् तर तिला गाउँपालिका–९ खोप्रीको नदैदेवी आधारभुत विद्यालयको मतदान केन्द्र जिल्लाकै सबैभन्दा टाढा रहेको छ ।

चन्दननाथ नगरपालिकामा मतदान स्थल १० वटा र मतदान केन्द्र १६ वटा, हिमा गाउँपालिकामा मतदान स्थल ९ वटा र मतदान केन्द्र ११ वटा कनकासुन्दरी गाउँपालिकामा मतदान स्थल १४ वटा, मतदान केन्द्र १५ वटा रहेका छन् ।

गुठिचौर गाउँपालिकामा मतदान स्थल आठ वटा र मतदान केन्द्र नौ वटा, तातोपानी गाउँपालिका मतदान स्थल नौ वटा र मतदान केन्द्र १३ वटा, तिला गाउँपालिका १२ वटा र मतदान केन्द्र १३ वटा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

पातारासी गाउँपालिकामा मतदान स्थल १० वटा र मतदान केन्द्र १३ वटा रहेको छ । सिंजा गाउँपालिकामा मतदान स्थल सात वटा र मतदान केन्द्र १३ वटा रहेको जिल्ला निर्वाचन कार्यालय, जुम्लाले जनाएको छ ।
Jumla_Photo2022-05-05


मानदत्त रावल