अतिरिक्त शुल्कको विरोधमा नोवेल मेडिकल कलेजमा तोडफोड र तालाबन्दी

  ०७८ पुस २२ गते

अतिरिक्त शुल्कको विषयलाई लिएर विराटनगरस्थित नोवेल मेडिकल कलेजमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै विभिन्न विद्यार्थी सङ्गठनका नेता कार्यकर्ताले पुस २१ गते नोवेल मेडिकल कलेजको प्रशासन कक्षमा तोडफोडपछि तालाबन्दी गरेका छन् ।

अतिरिक्त शुल्क नबुझाएको भन्दै नोवेल मेडिकल कलेजले झण्डै ८० जना विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेशमा रोक लगाएको छ । ती विद्यार्थी कक्षा प्रवेशका लागि आन्दोलनरत छन् ।

कक्षा प्रवेशको लागि आन्दोलन गरीरहेका विद्यार्थीको समर्थनका लागि पुगेका विद्यार्थी सङ्गठनका नेता तथा कार्यकर्ताहरूले तोडफोडपछि प्रशासन कक्षमा तालाबन्दी गरेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अखिल) मोरङ जिल्ला कमिटि सदस्य नविन पहाडीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

विद्यार्थी नेता पहाडीले एमबीबीएस अध्ययन सरकारले काठमाण्डौँ उपत्यकाभित्र ४० लाख रुपियाँ र उपत्यका बाहिर ४४ लाख रुपियाँ शुल्क निर्धारण गरेको भएपनि नोवेल मेडिकल कलेजले तोकिए भन्दा १५ देखि २८ लाख रुपियाँ अतिरिक्त शुल्क विद्यार्थीबाट लिएपछि आन्दोलन गर्नु परेको बताउनु भयो ।

सरकारले तोके बमोजिमको शुल्क लिन नोवेल मेडिकल कलेजका प्रमुख रामहरि घिमिरेलाई ज्ञापनपत्र बुझाएर एक साताको समय सीमा दिँदा पनि नोवेल मेडिकल कलेजले अतिरिक्त शुल्क लिने बताएपछि प्रशासनमा तालाबन्दी गरिएको विद्यार्थी नेता पहाडीको भनाइ छ ।

१४ लाख ८५ हजार रुपियाँ बुझाएर एमबीबीएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीसँग नोवेलले विभिन्न शीर्षकमा ४ लाख रुपियाँ भन्दा बढी रकम असुल्न खोजेको आन्दोलनरत विद्यार्थीको भनाइ छ ।

Photo 20220105 Morang (1)

Photo 20220105 Morang (2)


अर्जुन दर्जी