अझै हटेन तुइन, जोखिम मोलेर वारपार गर्छन् बालबालिका र ज्येष्ठ नागरिक

  ०८१ असार १३ गते

कर्णाली नदीमा पक्की पुल बन्न नसक्दा स्थानीयबासी तुइनमार्फत वारपार गर्नुपर्ने बाध्यता छ ।  पूर्वाधार विकास कार्यालयले लालीबगरमा कर्णाली नदीमाथि पक्की पुल निर्माणका लागि निर्माण कम्पनी छनोट गरे पनि निर्माण कम्पनीले पुल नबनाउँदा तीन ओटा वडाका स्थानीयबासी तुइन तर्न बाध्य हुनु परेको हो ।

खार्पुनाथ गाउँपालिका–२ थाली गाउँका जयबहादुर रावलले लाली बगरमा स्थानीयलाई नदी वारपार गर्न तुइन तर्नु पर्ने बाध्यता रहेको गुनासो गर्नुभयो । थाली गाउँका ज्येष्ठ नागरिकले नेपाल सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता समेत लिन जाँदा जोखिम मोलेर तुइनकै भर पर्नु परेको ७० वर्षीया बैदार रावलले गुनासो गर्नुभयो । उहाँले आफु लगायत धेरै जना जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता लिनका लागि सदरमुकाम सिमकोट जाँदा तुइन तर्नु परेको बताउनुभयो । म जस्तै यहाँका धेरै ज्येष्ठ नागरिकलाई तुइन तर्न निकै समस्या हुने गरेको ज्येष्ठ नागरिक रावलले बताउनु भयाे ।

तुइन तर्नु पर्दा अपाङगता भएका व्यक्ति, जेष्ठ नागरिक, बालबालिकालाई थप सङ्कट पर्ने गरेको छ ।  खार्पुनाथ गाउँपालिका–१ स्थित मालिका माध्यामिक विद्यालयमा अध्यायनरत विद्यार्थी पनि सोही तुइन तर्न बाध्य भएको अभिभावक टेके बुढाले बताउनु भयो । थाली गाउँका कम्तीमा पनि ६७ जना बालबालिका सो विद्यालयमा पठनपाठन गर्दै आएका छन् । बालबालिकालाई बिहान बेलुका विद्यालयमा आवत जावत गर्दा अभिभावले नै कर्णालीको तुइन जोखिम मोलेर तार्नु पर्ने स्थानीय बुढाको भनाइ छ ।

तुइन नतरे चार घण्टा लामो बाटो हिँडेर बोक्चे गाउँडाको झोलुंगे पुल तर्नु पर्ने हुन्छ । समय बढी लाग्ने भएकाले स्थानीयबासी जोखिम भए पनि उक्त तुइन तर्न पर्ने बाध्यता छ । हाल तुइन भएको क्षेत्रमा यस अघि झोलुंगे पुल भए पनि कर्णाली करिडोरको सडक निर्माण गर्ने क्रममा बिष्फोट गर्दा सो पुल भत्किएको थियो । गाउँपालिकालेको सहयोगमा सो स्थानमा तुइन जडान गरिएको छ । जनप्रतिनिधि समेत वडाको खाद्यान्न वितरण गर्नका लागि सो तुइन तर्नु परेको छ ।

सोही वडाका अध्यक्ष चन्द्र रावलले दुई वर्ष अगाडि ठेक्का लागेको पक्की पुल निर्माण हुन नसक्दा तीन ओटा वडाबासीले जोखिम रहेको तुइन तर्नु परिरहेको बताउनुभयो । पक्की पुल निर्माण गर्न निर्माण कम्पनीले दुई वर्षअगाडि सम्झौता गरे पनि हालसम्म एक प्रतिशत पनि काम अगाडि नबढाउँदा यो समस्या आएको अध्यक्ष रावलको भनाइ छ ।

Photo20240627Humla


नन्द सिंह