अझै बनेन स्थानीय तहको कानुन

स्थानीय तह गठन भएको एक वर्षपुग्दासमेत सङ्खुवासभाका नौवटा स्थानीय तहले ऐन, नियम, कार्यविधि र विनियमावली बनाउन सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ को उपदफा १ बमोजिम ऐनको मस्यौदा बनाएर नगर/गाउँ सभाले पास गर्नुपर्ने भए पनि स्थानीय तहले ऐन, नियम, कार्यविधि र विनियमावली बनाउन ढिलाइ गरेकाले बन्न सकेको छैन ।

नेपालको संविधानले स्थानीय सरकारलाई २२ वटा ऐन, नियम, कार्यविधि र विनियम बनाउने अधिकार दिएको छ । सभाले ऐन पास गरेपछि मात्र नियमावली पास हुनेछ । नियमावली पास भइसकेपछि कार्यविधि पारित गरिन्छ । तर, सङ्खुवासभाका नौवटा स्थानीय तहले सरकार सञ्चालनका लागि अति आवश्यक पर्ने कानुन निर्माणमा खासै चासो दिएका छैनन् ।

सङ्खुवासभामा रहेका १० वटा स्थानीय तहमध्ये स्थानीय सरकार गठन भएको एक महिनामा नै आर्थिक ऐन, नियम र कार्यविधि बनाउने निर्णय कार्यपालिकाको बैठकले पास गरेका भए पनि न्यायिकलगायतका अन्य ऐन, नियम र कार्यविधि पास गरेका छैनन् ।

हालसम्म जिल्लाको सिलिचोङ गाउँपालिकाले मात्रै ६ वटा कार्यविधि पास गरेको भए पनि अन्य नौ वटा स्थानीय तहले कुनै पनि ऐन नियम तथा कार्यविधि बनाउन सकेका छैनन् ।

स्थानीय तहलाई केन्द्र र प्रदेशका ऐन नियम कानुन नबन्दा पनि समस्या भएको केहीको बुझाई छ । स्थानीय तहबाहेक संविधानको अनुसूची ९ अनुसार थप १५ ऐन केन्द्र र प्रदेशसँगको समन्वयमा बनाउनुपर्ने हुन्छ ।

केन्द्र, प्रदेश र स्थानीय तहले साझा बनाउनुपर्ने र स्थानीय तहले छुट्टै बनाउनुपर्ने ऐन एक-आपसमा बाझिन सक्ने भएकाले केही ऐन निर्माणमा ढिलाइ भएको खाँदबारी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमार निरौलाले बताए ।

'संविधानले ऐन बनाउन अधिकार दिएपनि घुमाएर केन्द्रले प्रयोग गर्ने भएकाले काम, कर्तव्य बीचैमा बाझिने समस्या छ ।'-उनले भने-'त्यसै कारण केही ऐन नियम बनाउन स्थानीय तहलाई ढिलाइ भएको छ ।' नगरपालिकामा समायोजन भएका शिक्षा, स्वास्थ्य, कृषिलगायत विभिन्न कार्यालयको काम गर्न अन्योल भएको जनप्रतिनिधिले बताएका छन् ।

यसैबिच शिलिचोङ गाउँपालिकाको तेस्रो गाउँसभाले ६ वटा कार्यविधि पारित गरेको छ । बैठकले विपद व्यवस्थापन कार्यविधि, विकाश योजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि, स्थानीय राजपत्र प्रकाशनसम्बन्धी कार्यविधि, कर्मचारी सेवा सुविधासम्बन्धी कार्यविधि, परामर्श सेवासम्बन्धी कार्यविधि र उपभोक्ता समिति गठन सञ्चालन तथा व्यवस्थापन कार्यविधि पारित गरेका हुन् ।

कार्यविधि नबनाउँदा कतिपय कार्यक्रम सञ्चालन गर्न दुविधा भएकाले आवश्यक कार्यविधि निर्माण गरी पारित गरिएको शिलिचोङ गाउँपालिकाकी उपप्रमुख लालकुमारी राईले बताइन् ।

यसअघि नगरपालिकाका ऐन नियम तथा कार्यविधिहरू नबन्दा गाउँपालिकालाई कार्यसम्पादन गर्न समस्या थियो । ऐनहरू बनेपछि कार्यसम्पादन गर्न थप सहजता हुने राईले बताइन् ।


बाबुराम बास्तोला