अझै प्रयोगमा आउन सकेको छैन भूकम्प पीडितको निर्माण भएका घर

  ०८० माघ २२ गते

उत्तरगया गाउँपालिका-१, तिरु गाउँमा ०७२ साल वैशाखको विनाशकारी भूकम्पबाट विस्थापितहरूको आवास निर्माण भएपछि प्रयोगमा आउन सकेको छैन ।

सुरक्षित आवास नपाउँदा नागरिकले विभिन्न स्वास्थ्य लगायत विभिन्न समस्या झेल्दै आएका छन् । उत्तरगया गाउँपालिका-१ को तिरु गाउँमा १ सय ५४ परिवार विस्थापित भएका मध्ये १ सय २५ परिवारले जग्गा प्राप्त गरे । अझै २९ परिवारले आवास निर्माणका लागि जग्गा पाउन सकेका छैनन् । जग्गा पाएका मध्ये पनि १ सय ६ परिवारको मात्र निजी आवास निर्माण भएको छ । त्यहाँ १ सय ६ ओटा घर बनेको दुई वर्ष बित्दा कसैले पनि आवासको उपभोग गरेर बस्न पाएका छैनन् ।

सबै परिवारका लागि पुग्ने गरी आवास निर्माण भइसकेपछि मात्र कुन घरमा को बस्ने ? बारे निधो गर्ने भनेर तीन वर्ष अघि गरेको सहमतिले विस्थापित बस्न पाएका छैनन् । सरकारले एकीकृत बस्ती विकाससम्बन्धी कार्यविधि २०७५ अनुसार स्थानीय प्रविधि, सीप र सामग्री प्रयोग गरी प्रत्येक परिवारका लागि दुई कोठा, एउटा भान्सा घर र एक शौचालय सहित संरचना निर्माण गर्ने गरी कादुरी फाउण्डेसन नामक संस्थालाई जिम्मा दिए पनि सबैको आवास निर्माण हुन नसकेर अलपत्र अवस्थामा रहेको छ । तर तिरुगाउँको एकीकृत बस्तीमा भने दुई कोठाका घर जोडेर बनाइएको छ । शौचालय र भान्छा बनाउने ठाउँ समेत छैन । सडक, खानेपानी, मनोरञ्जनस्थल, खोल्सी संरक्षण, सरसफाई, बाल विकास केन्द्र, गोम्बा, विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवनलगायतको निर्माण गर्ने गरी ‘मास्टर प्लान’ मा तयार गरे पनि सो अनुसार आवास निर्माणको काम हुन सकेको छैन ।

यहाँ माघको चिसोमा धेरै परिवार अस्थायी छाप्रामा जोखम तवरले बस्न बाध्य छन् । स्थानीय रमेश लामाले भन्नुभयो,'बनेका घरहरूमा ज्येष्ठ नागरिक, सुत्केरी जस्ता अति जोखिममा परेको परिवारलाई उपयोग गर्न दिनुपर्छ ।' यस वर्ष तल्लो पैरेमा एकीकृत बस्ती निर्माणको लागि जग्गा प्लटिङ सुरु भएकोले आवास निर्माण प्रक्रिया सुरु हुने उत्तरगया गाउँपालिकाको उपाध्यक्ष चमेली गुरुङले जानकारी दिनुभयो । सुरक्षित आवासको अधिकार सुरक्षित हुन नसकेको कारण यहाँ बस्दै आएका बालबालिका, महिला, सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक जोखिममा परेकोले निजी आवास निर्माणमा ढिलाई गर्न नहुने उत्तरगया गाउँपालिका-१ का वडा अध्यक्ष मारसिं तामाङले बताउनु भयो ।

Photo_080-10-22_Rasuwa


हेमनाथ खतिवडा