अज्ञात समूहले गोली प्रहार गरी एकको हत्या

  ०७४ वैशाख ३१ गते

नमोबुद्व नपा-४ मेथिनकोटका २६ वर्षीय राम भनिने नमराज पाठकलाई वैशाख ३० गते राति घरको आँगनमा कुरा गरीरहेको अवस्थामा अज्ञात व्यक्तिहरूको समूहले गोली हानी हत्या गरेको छ ।

घटनापछि त्यहाँ पुगेको सशस्त्र प्रहरीको टोलीले उनलाई सशस्त्र प्रहरीकै गाडीमा राखेर धुलिखेल अस्पतालमा उपचार गर्न ल्याएपछि अस्पतालले मृत्यु भइसकेको बताएको थियो ।

नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेविसङ्घका अध्यक्ष रहेका उनका दाजू र उनी स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनपछि निस्क्रिय रहेका थिए । मृतक स्थानीय निर्वाचनमा नयाँ शक्तिका उपप्रमुख उम्मेदवार कुमार दाहालको प्रचार-प्रसारमा संलग्न रहेको बताइएको छ ।

स्थानीयले दुई पटक गोली चलेको सुनेको बताएका छन् । सशस्त्र प्रहरीले भने उक्त घटना मोटरसाइकलमा आएका व्यक्तिहरूले गराएर भागेको बतायो ।


भोजराज तिमल्सिना