अज्ञात समूहद्वारा विद्यालय जाँदै गरेका प्रअमाथि गोली प्रहार, अवस्था गम्भीर

घरबाट विद्यालय जाँदै गरेका प्रधानाध्यापकमाथि अज्ञात समूहले गोली प्रहार गरी घाइते बनाएको छ । विलट साह सर्वोदय मा.वि सिनुरजोडाका प्रअ ५० वर्षीय नरेन्द्रकुमार शर्मामा आज बिहान साढे ६ वजे गोली प्रहार भएको हो । शर्माको बायाँ गालामा गोली लागेको छ । गम्भीर घाइते शर्माको उपचार जनकपुर अञ्चल अस्पतालमा सम्भव नभएपछि हेलिकप्टरबाट थप उपचारको लागि काठमाडौँस्थित ग्राण्डी अस्पताल लगिएको छ ।

जनकपुर उमनपा-७ निवासी प्रअ शर्मा आज बिहान विद्यालय जाँदै गर्दा लक्ष्मीनीयादेखि पश्चिम सिनुरजोडा जाने बाटोमा मोटरसाइकमा सवार हतियारधारी दुई जना अज्ञात व्यक्तिहरूले गोली प्रहार गरेको पीडित पक्षले जनाएको छ ।

सोही विद्यालयमा कार्यरत अस्थायी शिक्षक आनन्दकुमार मण्डलले चलाइरहेको मोटरसाइकमा बसेर विद्यालय गइरहेको समयमा उनीमाथि गोली प्रहार गरिएको हो ।

गोली प्रहार गरेका दुवै जना फरार छन् । प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा मोटरसाइकल चालक शिक्षक आनन्दकुमार मण्डललाई मोटरसाइकल सहित अनुसन्धानको लागि गिरफ्तार गरेको जनाएको छ । घटनामा संलग्नहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका एसपी लालमणि आचार्यले बताए ।


विनोदकुमार रविदास