अपरिचित व्यक्तिका समूहद्वारा नेपाल टेलिकमको टावर तोडफोड

  ०८१ पुस ७ गते

सर्केगाड गाउँपालिका–५ स्थित भदालीमा राखिएको नेपाल टेलिकमको टावर तोडफड भएको छ । ०८१ पुस ५ गते रातिको समयमा अपरिचित व्यक्तिका समूहद्वारा सो ठाउँमा रहेको उक्त नेपाल टेलिकमको टावर तोडफोड गरेको स्थानीय छवी थापाले बताउनु भयो ।

टावर तोडफोड गरेका कारण सर्केगाड गाउँपालिका–१ देखि ८ वडासम्मका १० हजार ६ सय ८८ जना सेवाग्राही टेलिफोन सेवाबाट वञ्चित भएको स्थानीय थापाको भनाइ छ । अपरिचित व्यक्तिका समूहले टावरेका लागि राखिएका सोलार प्यानलसँगै ढोका तोडफोड गर्नुका साथै भित्र रहेका इलेकट्रोनिक सामग्री टुटफुट गर्दा निकै क्षति भएको सेवाग्राही सन्तोष सिंहले बताउनु भयो ।

नेपाल टेलिकमको टावर तोडफोड भएपछि स्थानीय सेवाग्राहीहरूले सास्ती खेप्नु परेको नेपाल टेलिकम हुम्लाका प्राविधिक सहायक गार महतले बताउनु भयो । उहाँका अनुसार उक्त घटनाका विषयमा हालसम्म प्रहरी मुचुल्का समेत नभएको बताउनु भयो ।

सर्केगाड गाउँपालिकामा गाउँपालिका कार्यालय, सिटिजन बैँक लगायतका सरकारी तथा गैर सरकारी कार्यालय रहेका छन् । उक्त सबै कार्यालयमा काम गर्न समस्या भएको सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाले बताउनु भयो । उक्त विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, सर्केगाडका इन्स्पेक्टर एकबहादुर खड्काले बताउनु भयो ।


नन्द सिंह