अज्ञात समूहद्वारा नेपाली काङ्ग्रेसको सम्पर्क कार्यालयमा तोडफोड

  ०७४ वैशाख ५ गते

नेपाली काङ्ग्रेसले चुनाव प्रचार प्रसारका लागि लम्कीचुहा नपा-६ गुलरामा स्थापना गरेको सम्पर्क कार्यालयमा वैशाख ३ गते राति अज्ञात समूहले तोडफोड गरेको छ ।

अज्ञात समूहले कार्यालयमा राखिएका चार वटा कुर्सी तोडफोड गर्नुका साथै पार्टीको झण्डा जलाएको प्रहरी कार्यालयका, लम्कीका इन्सपेक्टर नैनसिंह साउदले बताए ।

आगजनी र तोडफोड हुन थालेपछि घरधनी डवल विष्ट घर बाहिर निस्कँदा तोडफोड गर्ने समूहले उनलाई पनि सामान्य कुटपिट गरेको पीडितले बताए ।

घटनाका बारे जानकारी पाए लगत्तै घटनास्थल पुगे पनि घटनामा संलग्नहरू फरार भइसकेको तथा घटनाको अनुसन्धान सुरु गरिएको इन्सपेक्टर साउदले बताए ।

नेपाली काङ्ग्रेस कैलाली जिल्ला सभापति नरनारायण शाहले वैशाख ४ गते प्रकाशन गरेको विज्ञप्तिमा घटनाका आरोपितलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ ।


रविना चौधरी