अज्ञात पक्षद्वारा विद्यालयमा तोडफोड

अदानचुली गाउँपालिका–३ गोरपाली स्थित कालदेव प्राथामिक विद्यालयमा अज्ञात पक्षद्वारा फागुन १२ गते तोडफोड गरेको छ । रातीको मौका पारेर अज्ञात पक्षले विद्यालयमा तोडफोड गरेको सोही विद्यालयका प्रधानाध्यापक अनिरुद्ध जैसीले जानकारी दिनु भयो ।

विद्यालयको ढोका, कुर्सी र दुई ओटा दराज तोडफोड गर्नुका साथै विद्यालयका कागजपत्र समेत च्यातिदिएको प्रधानाध्यापक जैसीले आरोप लगाउनु भएको छ । त्यस्तै सोही विद्यालयको कार्यालयमा राखिएको विद्यार्थीको दिवा खाजाको सामानहरु समेत काम नलाग्ने गरी फालिदिएको उहाँले बताउनुभयो ।

घटनाका विषयमा फागुन १३ गते गल्फागाड प्रहरी चौकी श्रीनगरमा उजुरी गरेको प्रधानाध्यापक जैसीले बताउनुभयो ।

हाल विद्यालय तोडफोड गर्ने अज्ञात पक्षको खोजीकार्य भइरहेको प्रहरीचौकी श्रीनगरका असई खेमराज भट्टले बताउनुभयो ।


नन्द सिंह