अज्ञात पक्षद्वारा चार महिनाको अवधिमा तीन ओटा स्काभेटरमा आगजनी

जिल्लामा चार महिनाको अवधिमा तीन ओटा स्काभेटरमा अज्ञात पक्षले आगजनी गरेपछि सुरक्षा चुनौती थपिएको छ ।

Photo 20230731 Solukhumbhu

सार्वजनिक हितका लागि प्रयोग गरिएका स्काभेटरमा अज्ञात पक्षले आगजनी गर्दा सुरक्षा चुनौतीसहित संविधानको धारा २५ ले प्रदत्त गरेको सम्पत्तिको अधिकारसमेत आकर्षित भएको छ ।

थुलुङ दूधकोशी गाउँपालिका क्षेत्रमा चार महिनाको अवधिमा तीन ओटा स्काभेटरमा आगजनी गरिएको छ ।

आगजनीमा संलग्नहरूको पहिचान हुन नसकेको र कानुनी कारबाही अघि बढाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकिशोर शाहले बताउनु भयो ।

थुलुङ दूधकोशी गाउँपालिका क्षेत्रमा ०८० वैशाखयता हालसम्मको अवधिमा तीन ओटा स्काभेटरमा शङ्कास्पद हिसावले आगजनी गरिएको छ ।

०८० वैशाख ७ गते थुलुङ दूधकोशी गाँउपालिका-९ लोखिम क्षेत्रमा सडकमा पार्किङ्गमा राखिएको बा ३ क ४४ नम्वरको स्काभेटरमा अज्ञात पक्षले आगजनी गरेको छ ।

अज्ञात पक्षले पार्किङ्गमा राखेको स्काभेटरमा आगजनी गर्दा १ करोड ३० लाख रुपियाँ बराबरको क्षति भएको इन्स्पेक्टर शाहले बताउनु भयो ।

स्काभेटरमा आगजनी घटनामा प्रहरीले मुद्दा दर्ता गरेको  छ ।

०८० असार ६ गते सोही गाउँपालिकाको वडा-४ बादेदेखि छिक्लीसम्म दूधकोशी गाउँपालिका-२ जलेश्वरी हाइड्रो पावरले नयाँ बाटो खन्ने क्रममा प्रयोग गरेको स्काभेटरमा आगजनी गरिएकोे छ ।

बा २ क ४७७८ नम्बरको (टु-शन) कम्पनीको खामपाचे शेर्पा निर्माण सेवा प्रालिको स्काभेटरमा अज्ञात पक्षले आगजनी गर्दा ४० लाख रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

०८० साउन ४ गते थुलुङ दूधकोशी गाउँपाकिला-२ बादेमा रोकी राखेको स्काभेटरमा अज्ञात पक्षले आगजनी गरेको छ ।

पञ्चनमा निर्माण शुरू हुन लागेको दूधकोशी हाइड्रोले सडक खन्ने काममा प्रयोग गर्दै आएको स्काभेटरमा अज्ञात पक्षले आगजनी गर्दा  ८० लाख रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

रादुर कन्स्ट्रक्सन कम्पनीको स्वामित्वमा रहेको कोबेल कम्पनीको स्काभेटरमा अज्ञात पक्षले आगजनी गर्दा जलेर मेसिन पूर्ण रूपमा क्षति भएको इन्स्पेक्टर रामकिशोर शाहले बताउनु भयो ।

स्काभेटर आगजनीमा सबै घटनामा अनुसन्धान जारी रहेपनि घटनामा संलग्नहरूको पहिचान र गिरफ्तारी हुन नसक्दा जिल्लामा सुरक्षा चुनौती थपिएएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


अञ्जु कार्की