अज्ञात पक्षद्वारा एकै परिवारका ६ जनाको हत्या

  ०७८ भदौ २१ गते

मादी नगरपालिका–१ खोलागाउँका ५८ वर्षीय तेजबहादुर कार्कीको परिवारका ६ जना सदस्यको अज्ञात पक्षले हत्या गरेको प्रहरीले जनाएको छ ।

तेजबहादुर कार्की, ८० वर्षीया आमा पार्वता, ५६ वर्षीया पत्नी मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमा कार्कीको भदौ २० गते राति अज्ञात पक्षले हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय डिएसपी लालध्वज सुवेदीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

अज्ञात पक्षले भदौ २० गते राति एकै परिवारका ६ जना सदस्यको हतियार प्रहार गरी हत्या गरेको मादी नगरपालिका–१ का स्थानीय तथा शिक्षक योगेन्द्र ओझाले बताउनु भयो । स्थानीयले भदौ २१ गते बिहान हत्या भएको थाहा पाएपछि प्रहरीलाई खबर गरेको शिक्षक ओझाले बताउनु भएको छ । शिक्षक ओझाका अनुसार ३५ वर्षीय छोरा रोजगारीका क्रममा विदेशमा छन् ।

घटनास्थल सदरमुकामदेखि ६ घण्टाको पैदल दूरीमा रहेको र घटनास्थलतर्फ प्रहरी गएको डिएसपी सुवेदीले बताउनु भयो ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा खाँदबारी ल्याएर गरिने प्रहरीले जनाएको छ ।


भविन कार्की