अज्ञात पक्षको गोली प्रहारबाट एक जनाको हत्या

  ०७९ भदौ १० गते

अज्ञात पक्षको गोली प्रहारबाट मायादेवी गाँउपालिका –६ मदरहवाका  ५५ वर्षीय राम समुझ भनिने घुरहु पासीको भदौ १० गते हत्या भएको छ ।

पासी मायादेवी गाँउपालिका– ५ बनकसिहांको एक खाली घरमा गोली  लागेर घाइते भएको अवस्थामा फेला परेका थिए ।

घाइतेको कपिलवस्तु अस्पताल तौलिहवा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जेसी शाहले जानकारी दिनु भयो ।

पासीलाई स्थानीयले रक्ताम्य अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाए लगत्तै प्रहरी टोली घटना स्थलमा पुगेको थियो ।

भारतीय नम्बर प्लेटको मोटर साईकलमा आएको एकजना अपरिचत व्यक्तिले  गोली प्रहार गरेको स्थानीयले बताएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको  डिएसपी शाहले बताउनु भयो ।

शव पोष्टमार्टमकालागि कपिलवस्तु अस्पताल तौलिहवामा राखिएको छ ।


पार्वती आचार्य