अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख सर्वोच्चमा हाजिर

  ०७३ कात्तिक ३० गते

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की सर्वोच्च अदालतमा हाजिर भएका छन् । अदालतमा उपस्थित हुन कार्कीको नाममा अदालतले आदेश जारी गरेपनि त्यसको अवज्ञा गर्दै आएका उनी कात्तिक ३० गते सर्वोच्च अदालतमा हाजिर भई लिखित जवाफ पेश गरेका हुन् ।

निलम्बित कार्कीले म्याद तामेलीका क्रममा विभिन्न बाहाना बनाई अवरोध गरेको भनी अधिवक्ता ओप्रकाश अर्यालद्वारा दायर मुद्दाका विपक्षी कार्कीलाई एक साताभित्र अदालतमा उपस्थित भएर जवाफ दिन सर्वोच्चले आदेश दिएको थियो ।

अदालतमा कार्कीले बुझाएको लिखित जवाफमा म्याद तामेलीमा अवरोध गर्ने आफ्नो कुनै योजना र उद्देश्य नभएको जिकिर गरेका छन् । सर्वोच्चमा कार्कीविरूद्ध अख्तियार प्रमुखको नियुक्तिको योग्यता नपुगेको, म्याद तामेलीमा अवरोध गरेको र निलम्बित भएपछि उनको सेवा सुविधा खोस्नुपर्ने माग राख्दै तीन ओटा छुट्टाछुट्टै मुद्दा दायर भएको छ । बाँकी मुद्दाको मङ्सिर १६ गते सुनुवाइका लागि पेशी तोकिए सर्वोच्चले जनाएको छ ।


विवेक ढुङ्गाना