अखाद्य सामान विक्री गरेको आरोपमा व्यापारीलाई कारबाही

आठबिसकोट नपा-९ स्थित राडी बजारमा म्याद नाघेका अखाद्य वस्तु विक्री गर्ने दुई ओटा पसललाई नगरपालिका कार्यालयले असोज २८ गते कारबाही गरेको छ ।

बजार अनुगमनका क्रममा यसअघि सचेत गराउँदा पनि म्याद नाघेका सामान चाउचाउ, बिस्कुट र पेय पदार्थ विक्री गरेको पाइएकोले ओली स्टोर एण्ड चित्रलेखी सप्लायर्सलाई ५ हजार रूपियाँ र चाख्लीघाट स्टोरलाई ५ सय रूपियाँ जरिबाना गराइएको आठविसकोट नगरपालिका कार्यालयका कार्यकारी अधिकृत रामबहादुर केसीले बताए । यसअघिको अनुगमनमा उनीहरूलाई म्याद नाघेका सामान विक्री नगर्न सचेतसमेत गराइएको कार्यकारी अधिकृत केसीको भनाई छ ।

प्रत्येक महिनामा दुई दिन बजार अनुगमन गर्ने कार्यतालिका अनुसार नगरपालिकाको वडा नं. ९ र ११ का राडी बजार र सिम बजारमा अनुगमन गरिएको थियो । यस पटक जम्मा ५० पसलमा अनुगमन गरिएकोमा पहिलोपटक म्याद नाघेका सामान भेटिएकाले त्यस्ता पसलेलाई सजग गराएको र दोहोर्‍याएर विक्री गरेकालाई जरिबाना गरिएको नगरपालिका कार्यालयले जनाएको छ । म्याद नाघेका करिब ४ लाख रूपियाँ बराबरको सामान नष्टसमेत गरिएको आठविसकोट नगरपालिका कार्यालयले जनाएको छ ।


मनिषा केसी