अक्सिजन आपूर्ति र कोभिड परीक्षणलाई सहज बनाउन उच्च अदालतको अन्तरिम आदेश

  ०७८ वैशाख ३१ गते

उच्च अदालत तुलसीपुरले कोभिड नियन्त्रण तथा उपचारका लागि सहज वातावरण निर्माण गर्न प्रदेश र स्थानीय सरकारका नाममा वैशाख ३० गते अन्तरीम आदेश जारी गरेको छ ।

अधिवक्ताहरू बिष्णुमणी धिताल, रबिन्द्रकुमार धिताल, मधुसुदन गौतम, पत्रकार सुशील बस्नेत र टेकनाथ आचार्यले कोभिड परीक्षण र अक्सिजनको आपूर्ति सहज बनाउन माग गर्दै वैशाख ३० गते उच्च अदालत तुलसीपुरमा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले कोभिड परीक्षण, अक्सिजनको आपूर्ति सहज गर्न लुम्बिनी प्रदेश सरकार, तुलसीपुर उपमनपा र लमही नपाका  नाममा अन्तरीम आदेश जारी गरेको हो ।

उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश  निता गौतम दीक्षितको एकल इजलासले नागरिकको औषधि उपचार तथा  अक्सिजनको आपूर्ति सहज, कोभिड परीक्षणका लागि स्वाव सङ्कलन र पिसिआर परीक्षणको दायरा बढाउन, सुबिधा सम्पन्न क्वारेन्टाइन, आइसियु, भेन्टिलेटरको उपयुक्त व्यवस्थापन गर्न लुम्बिनी प्रदेश सरकार तथा स्थानीय तहका नाममा अन्तरीम आदेश जारी गरेको हो ।

अदालतले  कोभिड विरूद्धको खोपको अवस्था, पिसिआर परीक्षण, स्वाव सङ्कलन केन्द्र, पिसिआर परीक्षण गर्दा लिने शुल्कबारे जेठ ९ गते भित्र लिखित जवाफ पेश गर्न पनि आदेश दिएको छ ।

निवेदकहरूले लुम्बिनी प्रदेश सरकार, तुलसीपुर उपमनपा, घोराही उपमनपा, लमही नपा, जिल्ला प्रशासन कार्यालय दाङ, स्वास्थ्य कार्यालय दाङ, जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र, जिल्ला विपद् व्यवस्थापन केन्द्रलाई विपक्ष बनाई रिट दायर गरेका थिए । निवेदकका तर्फबाट अधिवक्ता विष्णुमणी धिताल, रबिन्द्रकुमार धिताल र अधिवक्ता मधुसुदन गौतमले बहस गर्नु भएको थियो ।


जयनारायण पुन