शान्ति प्रक्रिया जितजितको भावनाबाट टुङ्ग्याउनुपर्छ
सुशील प्याकुरेल
राष्ट्रपतिका मानव अधिकार तथा राजनीतिक विज्ञ
हाम्रो देशमा थालिएको शान्ति प्रक्रियाको काम आफ्नै किसिमको छ । अलिकति विगतलाई सम्झौँ । एउटा सशस्त्र समूह छ त्यसलाई सरकारले आतङ्ककारी भनेको छ । त्यसलाई हामीले भन्यौँ कि–‘यिनीहरू आतङ्ककारी होइनन् । राजनीतिक समूह हो ।’ सरकारले कानुन बनाएर आतङ्ककारी भन्दा हामीले कहिल्यै पनि आतङ्ककारी भनेनौँ । उनीहरूलाई राजनीतिको मुलधारमा ल्याउनका लागि वार्ता हुनुपर्छ भन्यौँ । साथसाथै हामीले यो पनि भन्यौँ कि–‘जेनेभा महासन्धिलाई स्वीकार गर्छौ भने मात्र हामी राजनीतिक समूहका रूपमा मान्छौँ ।’ जेनेभा महासन्धि नमान्ने समूह राजनीतिक हुन सक्दैन । आतङ्काकारीसँग वार्ता हुँदैन । राजनीतिक समूहको मान्यताका लागि पनि तिमीहरूले जेनेभा महासन्धिको पालना गर्नैपर्छ । प्रतिबद्धता जनाउनै पर्छ भन्यौँ । जेनेभा महासन्धिमा युद्धका नियम र नियम पालना गर्ने कुरा उल्लेख गरिएको छ । उनीहरूलाई हामीले पटकपटक मानव अधिकारको सम्मान गर्न भन्यौँ ।
यि सबै कुरा भनिरहँदा सम्झनु पर्ने कुरा के हो भने राजनीतिक माग एउटा विषय हो । तर, माग पूरा गराउन गरिने व्यवहार अर्कै पाटो हो । उनीहरूको व्यवहारलाई दबाउने नाममा सरकारले गर्ने दमन बेग्लै हो । यि सबै विषयवस्तुलाई ध्यानमा राखेर हामी मानव अधिकारकर्मीहरू, मानव अधिकार आयोग, मानव अधिकार सङ्घसंस्थाले अभियान नै चलायौँ । सबैको एउटै ध्येय थियो शान्ति स्थापनाको । हामी सबैको एउटै बोली थियो ।
हामीले गरेको हाम्रो शान्ति प्रक्रिया हाम्रो मुलुकका नागरिक, समाज र परिवेश अनुसार थालिएको हो । यो प्रक्रियामा तत्कालीन विद्रोही नेकपा माओवादी सहभागी भयो । बृहद् शान्ति प्रक्रियाका दस्तावेज नबनुन्जेल हाम्रो योगदान छ । हामीले बनाएका हौँ ति दस्तावेजहरू । त्यसयता ‘विदेशी’हरू बढी हावी हुन थाले । संयुक्त राष्ट्रसङ्घको नामबाट वा अन्य सङ्संस्थाको नामबाट उनीहरूले किताबी ज्ञानलाई र अरू देशका अनुभवलाई यहाँ राख्न खोजे । नक्कल गर्न खोजे । हाम्रो समस्या यहिँबाट आएको हो । विदेशीको प्रभावका लागि हामीले नै निम्तो गरेका हौँ । हामीले नै ठाउँ बनाइदिएका हौँ भन्ने कुरा पनि स्मरणीय छ । उनीहरूको पढाई एकखाले भयो हाम्रो मुलुकको शान्ति प्रक्रिया अर्कै खाले भयो । अनि तादाम्यता मिलाउन सकिएन । जस्तो कि कोलम्बिया र अफ्रिकाकै शान्ति प्रक्रिया एकै खालको छैन । हाम्रो त झनै फरक छ । अफ्रिकाले राजनीतिक परिवर्तन सँगसँगै सङ्क्रमणकालीन न्यायका लागि गर्नुपर्ने काम गरेर एउटा उदाहरण चाँहि प्रस्तुत गरेकै हो । त्यसमा हामी चुक्यौँ । विदेशीका काम कति इमान्दारीपूर्वक गरिएका पनि थिए होलान् कति जागिरे वा बेइमानी पनि थिए होलान् त्यतातिर समीक्षा गर्दै गरौँला ।
हामीहरूले २–३ ओटा गल्ती गरका छौँ । बृहद् शान्ति सम्झौतालाई हामीले दुई ओटा पाटोबाट हेर्नुपर्छ । एउटा राजनीतिक पाटो हो । गणतन्त्र स्थापनादेखि लिएर सङ्घीयता, समावेशीसम्मको राजनीतिक परिवर्तनलाई हेर्नु आवश्यक छ । शान्ति प्रक्रियामा अर्को पाटो भनेको मानव अधिकार भन्नुस् वा सङ्क्रमणकालीन न्यायलाई हेर्नु आवश्यक छ । सशस्त्र द्वन्द्वको क्रममा जति नागरिक पीडित भए उनीहरूलाई न्याय दिनुपर्छ ।
द्वन्द्व सकिने बित्तिकै हामीले राजनीतिक पाटोलाई बढी प्राथमिकता दियौँ । द्वन्द्वबाट आएको शक्तिलाई पनि राजनीतिक भोक बढी भएकै हो । हिजो लडाइँमा उनीहरूका सेना, राजनीतिक कार्यकर्ता र नागरिकप्रति बढी चासो रहने गरेको थियो । शान्ति प्रक्रियामा आइसकेपछि माओवादीले कसरी आफ्नो पक्कडमा राजनीतिलाई राख्ने भन्ने ध्यान दियो । र, अरूको पनि माओवादीलाई ‘ब्रेक’ लगाउँदै कसरी आफ्नो अस्तित्व बचाइरहने भन्नेमा केन्द्रीत रह्यो । तपाईँ हामी जनतालाई चाँहि कहिले यो देशमा परिवर्तन होला ? कहिले नयाँ संविधान बन्ला ? भन्ने पिरलोका कारण चाँडोभन्दा चाँडो संविधान सभाको चुनाव हुनुपर्यो । राजतन्त्र उन्मुलन हुनु पर्यो । भन्नेतर्फ मात्रै ध्यान गयो कि ! चुनाव गर्नका लागि न्यूनतम आवश्यकता के के हो पनि हामीले हेरेनौँ । हामी दुई सेना भएकै बेला चुनावमा गयौँ । एउटा क्यान्टोन्मेन्टमा र अर्को व्यारेकमा । एउटा राज्यको र अर्को विद्रोही पक्षको सेना छ । हामीले अनमिनलाई पनि भनेका थियौँ कि–‘चुनाव गर्ने वातावरण तयार भइसकेको छैन है !’ द्वन्द्वपीडितका लागि दिइने न्याय, परिपुरणलगायतका काम पनि सँगसँगै लैजानुपर्छ भन्ने हाम्रो भनाई थियो । तर, त्यो हुन सकेन । हामीपनि निर्वाचनमै केन्द्रीत भयौँ । चुनाव नहुँदा देशमा गडबडी हुन थाल्यो विभिन्न किसिमका आन्दोलन हुन थाले । संविधान सभाको चुनावपछि हरेक कुरा संसद (संविधान सभा) भित्र आउँछ भन्ने भयो । बढी समय त्यतैतिर लगाइयो । त्यसपछि गणतन्त्र तिर लागियो । सङ्क्रमणकालीन न्यायिक प्रक्रियाको महत्व र आवश्यकतालाई हामीले नजरअन्दाज गर्यौँ । पहिला हुँदा चेत एकदम राम्रो थियो ६० दिनमा गनेृ भन्ने थियो । तर, व्यवहारमा आउँदा हामी राजनीतिक परिवर्तनतिर केन्द्रीत भयौँ । राजनीतिक परिवर्तन हाम्रा लागि महत्वपूर्ण भयो भन्ने नाममा सङ्क्रमणकालीन न्यायका कामलाई हामीले ओझेलमा पार्यौँ ।
जति समय बित्दै गयो । यसलाई कसरी हेर्ने भन्ने विषयमा विदेशी हावी भए । हाम्रो शन्ति प्रक्रिया कस्तो हो भने–‘न्यायका तरिका दिने हो ।’ न्याय त अनुभूति गर्ने कुरा हो नि ! तर, सुरूमै पीडितलाई राहत रकम दिने काम भयो । राहत रहम पनि दिनु पर्छ तर प्राथमिकता चाँहि न्यायको अनुभूति गराउने कुरामा हुनुपर्ने थियो । एकातिर न्यायका थुप्रै कुरा पनि गर्ने अर्कातिर ‘पिस ट्रष्ट फण्ड’ मार्फत रकम बाँड्ने काम भयो । दुवैलाई सँगै लैजाँदा निकै राम्रो हुनेथियो । न्याय किन्न पैसा बाँडेको जस्तो भयो । न्याय किन्ने वा बेच्ने कुरै होइन । र, हाम्रा राजनीतिक नेतृत्वलाई पनि पैसा दिएपछि त सबै कुरा हल भइहाल्छ नि भन्ने लागेको भान हुन्छ । बाढीले घर बगाएका कारण दिइएको क्षतिपूर्ति होइन यो । मान्छे मारिएका छन् । बेपत्ता पारिएका छन् । बलात्कृत भएका छन् । मान्छेको उठिबास भएको छ । यसले समाजमा ठूलो प्रभाव पारेको थियो । त्यतातिर नहेरेर राहत रकमतिर मात्रै बढी जोड दिइयो । यो कुनै व्यक्ति विशेषको मात्रै समस्या होइन । सामाजिक समस्या पनि भएकाले व्यक्तिव्यक्तिलाई रकम बाँडेर मात्र न्यायको अनुभूति हुनै सक्दैन ।
सङ्क्रमणकालीन न्यायको पहिलो सिद्धान्त भनेकै सत्य जान्न पाउनु हो । सत्य जान्ने भन्नाले कहिले के भयो ? कसरी भयो ? परिवारका सदस्य र समाजले जान्न पाउनुपर्छ । त्यतिखेर हामीले जानेरै बेपत्ता पारिएका र मारिएकाहरूको सूची बनाउनुपर्छ भनेका थियौँ । हामीले बनाएका पनि छौँ । बाबुरामजी (डा. बाबुराम भट्टराई)जीले सम्झना गर्नुहुन्छ कि गर्नुहुँदैन कुन्नी ? दिल्लीमा माओवादी र सात दलका नेताहरूबिच वार्ता भइरहेको थियो । त्यतिबेला मैले नै बाबुरामजीलाई भनेको थिएँ । तपाइँहरू (माओवादीमा लागेका)का मान्छे कोको, कहाँकहाँका कति जना मारिए ? कोको बेपत्ता पारिए ? त्यसको सूची बनाउनुहोस् । तपाईँहरूको पनि अभिलेख त होला नि ! त्यस्तै सूची सेनाले पनि निकाल्नुपर्छ । जनताले थाहा पाउनु पर्यो नि ! यि सबै हाम्रा मान्छे हुन् । त्यसैले हामीलाई थाहा चाहियो । तर, अहिलेसम्म पनि सरकारले पैसा दिएको भरमा तथ्याङ्क राखिरहेको छ । अहिलेसम्म कति मारिए, कति बेपत्ता पारिए थाहा छैन । जबकि यो नै प्रारम्भिक काम थियो । प्रवेश बिन्दु नै त्यही हो । त्यही बिन्दुबाट हामी चुक्यौँ । त्यसपछि यो एजेण्डालाई अरूभन्दा कम महत्व दिँदै आयौँ ।
मलाई नेतृत्व नभएर सबै कुरा रोकिन्छ भन्ने लाग्दैन । पहिला सत्य पत्ता लगाउने काम गर्नुपर्यो । अवधिमा सङ्क्रमणकालीन न्यायिक संयन्त्रहरूले यति जना मान्छे बेपत्ता पारिएका रहेछन् । यति मान्छे मारिएका रहेछन् भनेर भन्न नसक्नु दुखद् पक्ष हो । जुन कुरा २ महिनामा गर्न सक्छौँ भनेर शान्ति सम्झौतामा लेखिएको थियो त्यही काम गर्नै यत्रो वर्ष लाग्नु सबैभन्दा दुखद् पक्ष हो । संयन्त्र बनेकै चार वर्ष नाघ्यो । सम्झौता भएको त १२–१३ वर्ष भइसक्यो । (विस्तृत शान्ति सम्झौता २०६३ मङ्सिर ५ गते भएको हो ।) त्यसमा हामी मानव अधिकारकर्मीहरूले र नागरिक समाजका अगुवाहरूले पनि शान्ति प्रक्रियालाई सही ढङ्गले निश्कर्षमा पुर्याउने वातावरणका लागि योगदान पुर्याउनु आवश्यक छ । न्याय भनेको अदालतमा थुन्ने मात्रै होइन भन्ने बुझ्नु आवश्यक छ । त्यो मात्रै न्याय होइन । त्यो पनि हुन्छ । शान्ति प्रक्रियाका विभिन्न अवयवहरूमध्ये थुन्ने काम एउटा हो । स्वीकारोक्ति पनि एउटा कुरा हो । त्यतातिर हाम्रो ध्यान पुग्न सकेको छैन । किन भयो ? कसले गर्यो ? कसको कति दोष छ ? सबै हेर्नुपर्छ । हामीले पहिला गर्नु पर्ने काम हो यो । बदमासी त भएको छ । बदमासी गर्ने वातावरण के थियो भन्ने पनि हेर्नु आवश्यक छ । यो त धेरै सुझबुझपूर्ण तरिकाले गर्नुपर्ने काम हो । लामै प्रक्रिया पनि हुन सक्छ । अहिलेको अहिले सबै नटुङ्गिन सक्छ । तर, सुरू त गर्नुप¥यो नि ! एकले अर्कोलाई यसैमा ठिक लगाउँछु भन्ने भावनाले शान्ति प्रक्रिया निश्कर्षमा पुग्दैन । एकअर्को नभनी समग्रतामा हेर्नु पर्छ । शान्ति प्रक्रिया टुङ्ग्याउने काम अविश्वासबाट हुनै सक्दैन । विश्वासका आधारमा टुङ्ग्याउनुपर्छ । हामीले बिर्सन नहुने कुरा के हो भने शान्ति प्रक्रियाको अवस्था जितजितबाट आएको हो । कसैले हारेको वा जितेको होइन । सम्झौताबाट आएको हो । सम्झौताबाट आएको भन्ने फ्रेमभित्र न्याय निरूपण गर्नुपर्छ । हामी १२ बुँदे सहमति र त्यसयता गरिएका विभिन्न सहमतिलाई साथमै राखेर शान्ति प्रक्रियाको काममा नलागी धरै छैन । यो फ्रेमभन्दा दायाँबायाँ गर्न सकिन्न । मिल्दैन र हुँदैन पनि । यो सबैको समष्टिगत रूप विस्तृत शान्ति सम्झौता हो । हामी यसबाट दायाँबायाँ लाग्न खोजेका छौँ । यसलाई अबिलम्ब रोकेर शान्ति सम्झौताकै फ्रेममा आउनुपर्छ ।
हामीले हिजो केके गर्दै यहाँ आइपुग्यौँ ? अब के गरी जानुपर्छ भन्नेतिर हाम्रो बल कम भइरहेको छ । समीक्षा गर्दै अगाडि बढ्नुपर्छ । समय बित्दै गर्दा यसमा गाँठाहरू पनि थपिँदै जान्छन् । गाँठा फुकाउन ढिला गर्नु हुँदैन । ढिला गर्दै गयौँ भने पछि समस्याको सम्बोधन गर्न नसक्ने परिस्थितिमा पुग्छौँ । जुन हाम्रो मौलिक शान्तिप्रक्रियाको विपरीत हुन्छ । शान्ति प्रक्रिाको काममा ढिलाई भएकै हो । द्वन्द्वपीडितले निकै पीडा खेप्नुपर्यो । अझै पनि समय घड्किइसकेको छैन । मलाई विश्वास छ कि हामी शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउन सक्छौँ । असम्भव छैन । हामी गर्न सक्छौँ । शान्ति प्रक्रियालाई सकारात्मक अवतरण नगरी हामीसँग अर्को कुनै विकल्प छैन ।
(राष्ट्रिय मानव अधिकार आयोगको सदस्यका रूपमा काम गर्नुभएका प्याकुरेल इन्सेकका संस्थापक अध्यक्ष हुनुहुन्छ । राष्ट्रपतिका राजनीतिक एवम् मानव अधिकार विज्ञका रूपमा क्रियाशील प्याकुरेलसँग रमेशप्रसाद तिमल्सिनाले गर्नुभएको कुराकानीमा आधारित । यो कुराकानी प्राचीको साउन अङ्कबाट लिइएको हो ।)
सम्बन्धित अन्तरवार्ताहरू
मानव अधिकार रक्षकसम्बन्धी कानुन आवश्यक छ
लुम्बिनी प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा ०८१ साउन ७ गते नियुक्त भएपछि चेतनारायण आचार्यले प्रदेश सरकारको औचित्य स्थापित गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । सरकारको नेतृत्व गरेको करिव दुई महिना पुग्नै…
सङ्घीयताले खर्च बढाएको भन्ने तर्कमा तथ्याङ्कीय आधार छैन
बालानन्द पौडेल, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष हुनुहुन्छ। नेपालको संविधान जारी भएपछि सरकारद्वारा गठित स्थानीय तह पुर्नसंरचना आयोगको अध्यक्षको जिम्मेवारीमा हुनहुन्थ्यो। उहाँको नेतृत्वको आयोगले नेपालको स्थानीय तहको संरचना…
नागरिकको आवश्यकताको आधारमा कानुन निर्माण गछौँ
मानव अधिकार अभिभाज्य, अन्तरसम्बन्धित र विश्वव्यापी हुन्छन् । तसर्थ मानव अधिकारका सबै विषयको सुनिश्चितता गर्ने काम सरकारको हुन आउँछ । मुलुकको नीति निर्माण गर्ने र कार्यान्वयन गर्ने अधिकार सरकारमा नै…
नागरिक र सरकारको सहकार्यले मात्रै वातावरणको अधिकार सुनिश्चित
मानव अधिकार अभिभाज्य, अन्तरसम्बन्धित र विश्वव्यापी हुन्छन् । तसर्थ मानव अधिकारका सबै विषयको सुनिश्चितता गर्ने काम सरकारको हुन आउँछ । मुलुकको नीति निर्माण गर्ने र कार्यान्वयन गर्ने अधिकार सरकारमा नै…
मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने खालको कानुन निर्माणमा संवेदनशील छौँ
प्रदेशसभाको प्रमुख कार्य सरकार निर्माण गर्नु, प्रादेशिक कानुन बनाउनु, प्रदेश सरकारको काम कारबाहीको निगरानी गर्नु र प्रादेशिक जनसरोकारका विषयमा प्रदेशसभामा छलफल गर्नु हो । नेपालको संविधानको भाग १३ मा प्रदेश…