वातावरण संरक्षणका पक्षमा एकीकृत आवाज र अभियानको आवश्यकता छ

भुषण तुलाधर
वातावरणविद्
आकाशमा तुवालोले ढाकेर वातावरण प्रदुषित भएको छ । धुलो र धुवाँ अनि ठाउँ–ठाउँमा लागेको डढेलो र निकटवर्ती भारतीय शहरहरुको वायु प्रदूषणको प्रभाव नेपालको आकाशमा परेको वातावरणविद्हरूले बताउँदै आएका छन् । पानी परेमा वा वायुको वेग चलेमात्र यो तुवाँलो हट्छ र वातावरणमा सकारात्मक प्रभाव पर्न सक्छ । यसै सन्दर्भमा वातावरणविद् भुषण तुलाधरसँग इन्सेक अनलाइनका सम्पादक रमेशप्रसाद तिमल्सिनाले कुराकानी गर्नुभएको छ । प्रस्तुत छ तुलाधरसँग गरिएको कुराकानीको सम्पादित अंशः
अहिले हामी वातावरणीय दुष्चक्रमा परेका छौँ । यस्तो परिस्थिति यसअघि कहिले थियो वा यो खालको परिस्थितिभित्र हामी कहिलेबाट गाँजिदै गयौँ ?
अहिलेको वातावरणीय प्रदुषण जुन छ यो नयाँ होइन । नेपालमा प्रदुषण पहिला पनि थियो । अहिले छ । भोलि झन् बढ्दै जाने सम्भावना छ । प्रदुषणका विभिन्न रूपहरू हुन्छन् । एक हिसाबले हेर्ने हो भने धेरै अगाडिदेखि नै नेपालका भान्छाहरूमा निस्कने धुवाँ प्रदुषणको मूल स्रोत हो । सायद अहिले पनि नेपालको वातावरण बिगार्ने यिनै भान्छाहरूले हो । भान्छाघरमा परम्परागत इन्धनहरूः दाउरा, गुइँठा प्रयोग गर्दा अत्यधिक मात्र प्रदुषण निस्कन्छ । त्यसबाट प्रभावित हुने महिला नै हो । जो भान्छामा अधिकांश समय बिताउँछन् । महिलासँग बस्ने काखे बालबालिका पनि निकै प्रभावित हुन्छन् । विद्यालय जाने बालबालिका पनि भान्छामा बसेर गृहकार्य गर्ने गरेको पाइन्छ । उनीहरू पनि प्रभावित हुने नै भए । अहिलेपनि नेपालको करिबकरिब दुई तिहाई घरमा यस्ता भान्छाहरू छन् भन्ने गरिन्छ । यो भनेको अहिले पनि करिबकरिब दुई तिहाई महिला यसबाट प्रभावित छन् ।
आधुनिकीकरण गर्ने नाममा हामीले अन्य इन्धन प्रयोगमा ल्याउन थालेका छौँ । चाहे मोटरसाइकलमा प्रयोग गर्ने पेट्रोल होस् चाहे उद्योगहरूमा प्रयोग हुने कोइला नै किन नहोस् । जुनसुकै इन्धन बाल्दा पनि त्यसबाट प्रदुषण निस्कन्छ । र, यो बढ्दो क्रममा छ । यस्तो प्रदुषण धेरैजसो सहरी क्षेत्रमा भइरहेको छ । सहरी क्षेत्रमा प्रदुषण बढि हुन्छ र लिने मान्छे पनि बढि नै हुन्छन् । जनघनत्व बढि भएका सहरी क्षेत्रमा प्रदुषणको व्यवस्थापन गर्न सकेनौँ भने त्यसको असर भयावह बन्छ । विगत केही दशक यता काठमाडौँजस्ता ठूला सहरमा प्रदुषणको मात्रा बढ्दो छ ।
अहिले लागेको तुवाँलो भनेको एउटा मौसमी प्रभाव हो भने अर्को देशभर लागेको डढेलोको कारण हो । डढेलोको कारण के होला त्यतातिर नजाउँ । अहिले यसको प्रभाव देशैभर फैलिएको छ । पानी नपर्ने र हावा नचल्ने कारण त्यो जहाँको तहिँ रहँदा उकुसमुकुसको वातावरण बनेको छ । प्रदुषणको स्रोत यथावत रहेकाले त्यसलाई हटाउनतिर हाम्रो ध्यान जानु जरुरी छ । यो वर्ष डढेलो पनि अत्यधिक मात्रामा वृद्धि भएको छ । वैशाखको मध्यतिर सबैभन्दा बढि डढेलो हुने कुरा विगतहरूबाट थाहा पाउन सकिन्छ । डढेलोको मौसम खासै सुरू नै भएको छैन । गत वर्ष यो बेलामा ३ सय जति ठाउँमा भएको डढेलो अहिले २ हजार ७ सय जति ठाउँमा छ । जलवायु परिवर्तनका कारण पनि यस्तो भएको हो । जलवायु परिवर्तनले अतिवृष्टि, अनावृष्टि हुने हुन्छ । यो वर्ष त्यस्तै भयो लामो समय सुख्खा हुन पुग्यो ।
संविधानमा स्वच्छ वातावरणको हकको सुनिश्चितता गरिएको छ । सरकारका कार्ययोजनाले यो हक सुनिश्चित हुने दिशामा छ ?
स्वच्छ मात्रै भएर भएन स्वस्थ वातावरणको आवश्यकता छ । वातावरणको अधिकार जनस्वास्थ्यसँग अन्तरसम्बन्धित छ । सरकारका योजनै छैन त म भन्न सक्दिनँ । स्वच्छ र स्वस्थ वातावरण बनाउने जिम्मेवारी सरकारको हो भने नागरिकको उक्त अधिकार प्रचलनमा ल्याउन पाउने अधिकार छ । सरकारको जिम्मेवारीलाई नागरिकले पनि साथ र सहयोग गर्नुपर्छ । काठमाडौँ उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६ मन्त्रीपरिषदले पारित गरेको योजना हो । मन्त्रीपरिषदले पारित गरेको कार्ययोजना लागु त गर्नु पर्यो नि ! यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन । वातावरण नीति, जलवायु परिवर्तनसम्बन्धी नीति छन् । त्यसैगरी यातायात नीति, स्वच्छ उर्जा प्रवर्धन नीति छन् । अन्तर्राष्ट्रिय प्रतिबद्धता पनि हामीले जाहेर गरेका छौँ । हामीसँग नीति छन् । तर, नीति कार्यान्वयन गर्ने नियतमा भने समस्या छ । वातावरणलाई प्राथमितामा राखेर लगानी गर्ने र काम गर्ने अवस्थाको सिर्जना गर्नु अहिलेको महत्वपूर्ण आवश्यकता हो । वातावरणको विषय सबैको हो । स्वास्थ्य मन्त्रालय, कृषि मन्त्रालय, यातायात मन्त्रालय सबैको हो । समग्रमा भन्नु पर्दा यो विषय सबै मन्त्रालयसँग अन्तरसम्बन्धित छ । वातावरणको हकको सुरक्षाका लागि नेपाल सरकारले सरकारी, गैरसरकारी तथा नीजि क्षेत्रसँग समन्वयकारी भूमिका निर्वाह गर्नुपर्छ । जुन काम अहिले हुन सकिरहेको छैन ।
वातावरणको अधिकार उपभोगका लागि सरकारले र नागरिकले गर्नुपर्ने मुलभूत काम के के हुन् ?
सरकार आफैँले बनाएका नीति नियमहरू अलि राम्रोसँग हेर्नुपर्यो । नीति बनाउँदै बिर्सँदै जाने वातावरणको अन्त्य हुनु पर्यो । २३ हजार सामुदायिक वन उपभोक्ता समूहलाई मात्रै शसक्तिकरण गर्न सके पनि डढेलो नियन्त्रणमा केही हदसम्म सफलता हात पार्न सकिन्छ । सरकारले नेतृत्व लिनु पर्यो र यो विषयलाई प्राथमिकतामा पारेर लगानी गर्नुपर्यो । नागरिकले गर्ने काममा पहिला त बुझ्नुपर्यो । यो विषयमा चासो दिनु पर्यो । वातावरणको विषय भनेको मेरो, बालबालबालिकाको र मेरो परिवारको विषय हो भनेर अपनत्व लिनु पर्यो । वातावरण प्रदुषण सामान्यतया मानवीय क्रियाकलापबाट नै हुने भएकाले आफूले गर्ने क्रियाकलापबाट सकेसम्म कम प्रदुषण गरौँ भनेर काम गर्नु पर्यो । वातावरण प्रदुषित छ भने कसरी बच्ने भन्ने कुरा हरेक व्यक्तिले जान्नु पर्यो । विषय विज्ञले भनेका कुरा मान्नु पर्यो । र, नागरिकले गर्नुपर्ने महत्वपूर्ण काम भनेको आवाज उठाउने हो । आफूले जहाँ सकिन्छ त्यो ठाउँमा आवाज उठाउनु असल नागरिकको कर्तव्य हो । वातावरण संरक्षणका पक्षमा एकीकृत आवाज र अभियानले वातावरणमा देखिएको प्रदुषण स्वतः कम भएर जान्छ ।
हिमालमा हिउँ नै छैन भनिन्छ । यो अवस्था कहिलेसम्म ?
तापक्रम वृद्धिका कारणले हिमालमा हिउँ पग्लिएको हो । यो हामी मानव जातिको क्रियाकलापबाट नै भएको हो । यसलाई न्यूनीकरण गर्न सकिन्छ रोक्न नै त सकिन्न । हाम्रो दैनिकीमा ल्याउने परिवर्तनले यसको न्यूनीकरण गर्न सकिन्छ र गर्नै पर्छ ।
के हामीले दैनिकीमा ल्याउने सकारात्मक परिवर्तनले न्यूनीकरण सम्भव छ ?
सकिन्छ । हामीले नै न्यूनीकरण गर्ने हो । आजैबाट सुरूवात गर्नुपर्छ । हाम्रो देशको अवस्था त्यति सारै निराशजनक पनि छैन । अहिले नै नगर्ने हो भने हामी पछि अप्ठेरोमा पर्छौँ । हामी अहिले विकास निर्माणको चरणमा छौँ । यहिबेला नै हामीले दुरदर्शी योजना ल्याउनु पर्छ जसले गर्दा वातावरणीय दुस्प्रभाव रोकियोस् । न्यूनीकरण होस् । यो काममा आजैबाट हामी सबैले एकैपटक थालनी गर्नु पर्छ । अब ढिला नगरौँ । वातावरण जोगाऔँ । हामी पनि जोगिऔँ ।
सम्बन्धित अन्तरवार्ताहरू
अहिले प्राप्त मत परिणामले युवा नेपालको चिन्तनलाई उजागर गरेको छ
सुबोधराज प्याकुरेल, इन्सेकका निवर्तमान अध्यक्षका साथै प्रदेश १ योजना आयोगका पूर्व उपाध्यक्ष हुनुहुन्छ । नेपालको मानव अधिकार तथा सामाजिक न्यायको अभियानमा पाँच दशक खर्चिनु भएका प्याकुरेल सामाजिक न्याय, दण्डहीनताको अन्त्यजस्ता…
आम नेपालीले जति अधिकार प्रयोग गर्छन् त्यति नै अधिकार मानव अधिकारकर्मीले प्रयोग गर्ने हो
मनोज दुवाडी राष्ट्रिय मानव अधिकार आयोगको सदस्य हुनुहुन्छ । २०४३ सालदेखि कानुनी क्षेत्रका माध्यमबाट मानव अधिकारको रक्षाका लागि लागिपर्नुभएका दुवाडीसँग प्राचीका लागि इन्सेक अनलाइनका सम्पादक रमेशप्रसाद तिमल्सिनाले गर्नुभएको कुराकानी इन्सेक अनलाइनमा प्रकाशन…
सामन्ती चिन्तनले मानव अधिकारको संरक्षण, सम्बर्द्धन र प्रवर्धनलाई बाधा पुर्याउँछ
सुबोधराज प्याकुरेल इन्सेकका निवर्तमान अध्यक्ष हुनुहुन्छ । उहाँसँग मानव अधिकारको क्षेत्रमा काम गरेको लामो अनुभव छ । उहाँ लोकतन्त्र र सङ्घीयताका पक्षमा विगत लामोसमयदेखि वकालत गर्ने सीमित अभियन्तामा पर्नुहुन्छ ।…
उपभोक्ता अधिकार आधारभूत मानव अधिकार हो
अधिवक्ता ज्योति बानिया उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष हुनुहुन्छ । उपभोक्ताको हकहित संरक्षणमा सक्रिय इन्सेकका सदस्य बानियासँग इन्सेक अनलाइनका लागि सम्पादक रमेशप्रसाद तिमल्सिनाले कुराकानी गर्नु भएको छ । प्रस्तुत छ…
सङ्क्रमणकालीन न्याय निरूपणका लागि राजनीतिक इच्छाशक्ति चाहिन्छ
सत्य निरूपण तथा मेलमिलाप आयोगकै विज्ञका रूपमा काम गरिसक्नु भएकी मन दाहाल हाल आयोगको सदस्य एवम् प्रवक्ता हुनुहुन्छ । प्रस्तुत छ–मानव अधिकार र लैङ्गिक न्याय विषयमा एलएलएम गर्नुभएकी अधिवक्ता दाहालसँग…