वातावरणलाई प्राथमितामा राखेर लगानी गर्नु आवश्यक छ

संविधानमा नै वातावरणको अधिकारलाई सुनिश्चित गरिएको छ । तर, हाम्रै क्रियाकलापले दिनप्रतिदिन वातावरण बिग्रँदो छ । वातावरण सुधारका लागि संविधान, ऐनकानुनमा मात्रै व्यवस्था गरेर पुग्दैन । हामीले वातावरणमैत्री व्यवहार गर्नु आवश्यक छ । वातवरणको संरक्षणका लागि तीनै तहका सरकारले नीति ल्याउने र त्यसको कार्यान्वयनमा नागरिकलेसमेत सघाउने हो भने वातावरणी दुष्चक्रबाट हामी मुक्त हुन सक्छौँ । वातावरणविद् भुषण तुलाधरसँग इन्सेक अनलाइनका सम्पादक रमेशप्रसाद तिमल्सिनाले कुराकानी गर्नुभएको छ । प्रस्तुत छ तुलाधरसँग गरिएको कुराकानीको सम्पादित अंशः

संविधानमा स्वच्छ वातावरणको हकको सुनिश्चितता गरिएको छ । सरकारका कार्ययोजनाले यो हक सुनिश्चित हुने दिशामा छ ?

स्वच्छ मात्रै भएर भएन स्वस्थ वातावरणको आवश्यकता छ । वातावरणको अधिकार जनस्वास्थ्यसँग अन्तरसम्बन्धित छ । सरकारका योजनै छैन त म भन्न सक्दिनँ । स्वच्छ र स्वस्थ वातावरण बनाउने जिम्मेवारी सरकारको हो भने नागरिकको उक्त अधिकार प्रचलनमा ल्याउन पाउने अधिकार छ । सरकारको जिम्मेवारीलाई नागरिकले पनि साथ र सहयोग गर्नुपर्छ । काठमाडौँ उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६ मन्त्रीपरिषदले पारित गरेको योजना हो । मन्त्रीपरिषदले पारित गरेको कार्ययोजना लागु त गर्नु पर्‍यो नि ! यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन । वातावरण नीति, जलवायु परिवर्तनसम्बन्धी नीति छन् । त्यसैगरी यातायात नीति, स्वच्छ उर्जा प्रवर्धन नीति छन् । अन्तर्राष्ट्रिय प्रतिबद्धता पनि हामीले जाहेर गरेका छौँ । हामीसँग नीति छन् । तर, नीति कार्यान्वयन गर्ने नियतमा भने समस्या छ । वातावरणलाई प्राथमितामा राखेर लगानी गर्ने र काम गर्ने अवस्थाको सिर्जना गर्नु अहिलेको महत्वपूर्ण आवश्यकता हो । वातावरणको विषय सबैको हो । स्वास्थ्य मन्त्रालय, कृषि मन्त्रालय, यातायात मन्त्रालय सबैको हो । समग्रमा भन्नु पर्दा यो विषय सबै मन्त्रालयसँग अन्तरसम्बन्धित छ । वातावरणको हकको सुरक्षाका लागि नेपाल सरकारले सरकारी, गैरसरकारी तथा नीजि क्षेत्रसँग समन्वयकारी भूमिका निर्वाह गर्नुपर्छ । जुन काम अहिले हुन सकिरहेको छैन ।

वातावरणको अधिकार उपभोगका लागि सरकारले र नागरिकले गर्नुपर्ने मुलभूत काम के के हुन् ?

सरकार आफैँले बनाएका नीति नियमहरू अलि राम्रोसँग हेर्नुपर्‍यो । नीति बनाउँदै बिर्सँदै जाने वातावरणको अन्त्य हुनु पर्‍यो । २३ हजार सामुदायिक वन उपभोक्ता समूहलाई मात्रै शसक्तिकरण गर्न सके पनि डढेलो नियन्त्रणमा केही हदसम्म सफलता हात पार्न सकिन्छ । सरकारले नेतृत्व लिनु पर्‍यो र यो विषयलाई प्राथमिकतामा पारेर लगानी गर्नुपर्‍यो । नागरिकले गर्ने काममा पहिला त बुझ्नुपर्‍यो । यो विषयमा चासो दिनु पर्‍यो । वातावरणको विषय भनेको मेरो, बालबालबालिकाको र मेरो परिवारको विषय हो भनेर अपनत्व लिनु पर्‍यो । वातावरण प्रदुषण सामान्यतया मानवीय क्रियाकलापबाट नै हुने भएकाले आफूले गर्ने क्रियाकलापबाट सकेसम्म कम प्रदुषण गरौँ भनेर काम गर्नु पर्‍यो । वातावरण प्रदुषित छ भने कसरी बच्ने भन्ने कुरा हरेक व्यक्तिले जान्नु पर्‍यो । विषय विज्ञले भनेका कुरा मान्नु पर्‍यो । र, नागरिकले गर्नुपर्ने महत्वपूर्ण काम भनेको आवाज उठाउने हो । आफूले जहाँ सकिन्छ त्यो ठाउँमा आवाज उठाउनु असल नागरिकको कर्तव्य हो । वातावरण संरक्षणका पक्षमा एकीकृत आवाज र अभियानले वातावरणमा देखिएको प्रदुषण स्वतः कम भएर जान्छ ।

हिमालमा हिउँ नै छैन भनिन्छ । यो अवस्था कहिलेसम्म ?

तापक्रम वृद्धिका कारणले हिमालमा हिउँ पग्लिएको हो । यो हामी मानव जातिको क्रियाकलापबाट नै भएको हो । यसलाई न्यूनीकरण गर्न सकिन्छ । रोक्न नै त सकिन्न । हाम्रो दैनिकीमा ल्याउने परिवर्तनले यसको न्यूनीकरण गर्न सकिन्छ र गर्नै पर्छ ।

के हामीले दैनिकीमा ल्याउने सकारात्मक परिवर्तनले न्यूनीकरण सम्भव छ ?

सकिन्छ । हामीले नै न्यूनीकरण गर्ने हो । आजैबाट सुरूवात गर्नुपर्छ । हाम्रो देशको अवस्था त्यति सारै निराशजनक पनि छैन । अहिले नै नगर्ने हो भने हामी पछि अप्ठेरोमा पर्छौँ । हामी अहिले विकास निर्माणको चरणमा छौँ । यहिबेला नै हामीले दुरदर्शी योजना ल्याउनु पर्छ जसले गर्दा वातावरणीय दुस्प्रभाव रोकियोस् । न्यूनीकरण होस् । यो काममा आजैबाट हामी सबैले एकैपटक थालनी गर्नु पर्छ । अब ढिला नगरौँ । वातावरण जोगाऔँ । हामी पनि जोगिऔँ ।