मृत्युसँग पौँठेजोरी खेल्दै बिते जेल जीवनका १७ वर्ष !

मोहनचन्द्र अधिकारी
पहिलोपटक २०१५ सालमा भद्र अवज्ञा आन्दोलन गर्दा जेल पर्नुभएका मोहनचन्द्र अधिकारी नेपालको इतिहासमा सबैभन्दा लामो समय जेलमा राखिएका राजनीतिक नेताका रूपमा सुपरिचित हुनुहुन्छ । उहाँलाई कम्युनिष्ट पार्टीमा लागेर राज्यद्रोह गरेको आरोपमा लामो समय जेल राखिएकाले नेपाली नेल्सन मण्डेला पनि भन्ने गरिन्छ । २०११ सालमा नै कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएका अधिकारीलाई आइए पहिलो वर्षमा पढ्दै गर्दा भद्र अवज्ञा आन्दोलनमा लागेका कारण २०१५ सालमा प्रहरीले गिरफ्तार गरी नख्खु जेल चलान गर्यो । प्रजातान्त्रिकरणका लागि भद्र अवज्ञा आन्दोलनमा लागेका बेला अधिकारी, भुपी शेरचन, पिवि मल्ललगायतलाई नख्खु जेल लगिएको थियो । त्यहाँ १५ दिन जति राखेर निशर्त छाडिदिएको अधिकारीले बताउनु भयो । गिरप्mतार गर्ने क्रममा र प्रहरी नियन्त्रणमा जति यातना दिन्थ्यो दिन्थ्यो । जेल पुर्याएपछि भने यातना दिएको थिएन । यो २०१५ सालको कुरा हो । उतिबेलाको कुराले अधिकारीलाई उही समयमा पुर्यायो । टाउको छाम्नुभयो र भन्नु भयो–‘मलाई यहाँ लाठी प्रहार गरी रगतपच्छे भएको थियो । मेरो मफलर रगतले पुरै भिजेको थियो । यो मेरो जिन्दगीको पहिलो जेल यात्रा हो । जेल बसाई हो ।’
२०२८ सालमा झापा आन्दोलन सुरू भयो । त्यसलगत्तै २०३० साल असोज २३ गते मङ्गलबार अधिकारी र केपी ओली रौतहटबाट गिरफ्तार हुनु भयो । पार्टी कामको सिलसिलामा मोहनचन्द्र अधिकारी विराटनगरको रानी हुँदै रौतहट जानुभएको थियो । मोहनचन्द्रले ती दिन सम्झिँदै भन्नु भयो‘‘इनवारीमा शिवमङ्गल तलवार नाम भएका प्रधानपञ्चको घरमा ओलीजी बस्नुहुने रहेछ । उहाँ मभन्दा अघि नै रौतहट जानु भएको थियो । त्यहाँको चाँजोपाँजो माधव नेपालले मिलाउनु भएको थियो । म एउटा भूमिहीन किसानकोमा बसेको थिएँ । म बसेको ठाउँमा ओलीजी आउनुभयो ।’ ओलीजीले तुलसीलाल अमात्यको कुन बाटो र पुष्पलाल श्रेष्ठको मूलबाटो किताब बोकौँ भन्नुभएको थियो तर अधिकारीले अहिले नबोकौँ भन्नुभयो । ‘यो कुरा ओलीले मान्नु भएन ।’–अधिकारीले भन्नु भयो । त्यतिबेला टिएल र पिएलका पुस्तक प्रतिबन्धित थिए । पछि तिनै किताबसहित हामीलाई प्रहरीले गिरफ्तार गर्यो ।
‘गिरफ्तारीमा परेपछि ५७ दिन थुनामा राख्यो । मलाई र केपी ओलीलाई वीरगंज ल्याउने क्रममा तत्कालिन सिडिओ चन्द्रिकानन्द खरेलले गोली हान्न आदेश समेत दिएका थिए । त्यहाँका सव–इन्स्पेक्टर मोहनप्रसाद अधिकारीले १३ दिने दाजुभाइलाई म गोली ठोक्दिन भनेपछि त्यो काल त्यतै टर्यो ।’–अधिकारीले भन्नु भयो । मोहनचन्द्र र केपी ओलीलाई विभिन्न जेल सरुवा गर्दै साढे २ वर्ष केन्द्रीय कारगारको गोलघरमा समेत राखे । उहाँलाई काठमाडौँ ल्याएपछि सेन्टर जेलभित्रको गोलघरमा राख्यो । त्यो गोलघरमा बाहिरबाट मारी दिउँ भनेर तर्साउने गर्थे । गोलघरमा मानसिक यातना व्यापक हुन्थ्यो । प्रहरीले मानसिक यातना दिन्थे भने कारागारभित्रका चौकीदार, नाइके, भाइनाइकेले भनेको नमानेको भन्दै कुटपिट गर्थे । राजनीतिक मुद्दामा जेल परेका मोहनचन्द्रलाई ज्यानमारा मुद्दामा २० वर्ष र केपी ओलीलाई ज्यानमार्ने उद्योगमा मुद्दा चगाएर १० वर्ष जेल चलान गरिएको थियो ।
पहिलो दिन रौतहटको कोपुवा थानामा राख्यो । त्यहाँ सोधपुछ गर्यो । कुटपिट सुरु भयो । दोस्रो दिन रौतहटको सदरमुकाम गौर ल्यायो । गौरमा पहिला सिडिओलाई बुझायो । चन्द्रिकानन्द खरेल भन्ने सिडिओ थिए । त्यो समयको सबैभन्दा बर्बर प्रशासक । तानाशाही व्यवस्थाका तानाशाही प्रशासक । उनले ७० दिनसम्म जिल्ला प्रहरी कार्यालय मै राखे । सोधपुछ केरकार आँफै गर्थे । बेहिसाब कुटपिट गर्थे । उनले नकुटेको मेरो शरीरको कुनै अङ्ग छैन ।
रौतहटबाट वीरगंज लग्यो । प्रहरीले हतकडी लगाइदिएका थिए । पहिलो दिन साधारण कैदीसँग राख्यो । दोस्रो दिनदेखि राजनीतिक बन्दीसँग राख्यो । वीरगञ्जमा पनि धेरै दिन राखेन । काठमाडौं ल्यायो । सुरुमा मलाई सेन्टर जेल राख्यो । ओलीलाई भद्रगोल जेल राख्यो । यसै समयमा झापाका कम्युनिष्टहरूलाई पनि समातेर काठमाडौँका जेलमा ल्याउने क्रम चल्यो । झापाबाट गिरफ्तार गरेर ल्याएका साथीहरू नरेश खरेल, दुर्गाप्रसाद अधिकारी (ठूलो) दुर्गाप्रसाद अधिकारी (सानो), घनेन्द्र बस्नेत, नारद वाग्ले, छवि राजवंशी, मङ्गल सतार थिए । दोस्रो दिनदेखि जेलभित्रको गोलघरमा राख्यो । म खासै कसैसँग बोल्दैन थिएँ । जेल सरुवा गरिरहन्थ्यो । मलाई तराई पहाडका धेरै जिल्ला पुर्यायो । पाल्पाको तानसेनदेखि तराईको सिराहसम्म जेल सरुवा भए । २०३३ सालमा नख्खु जेलबाट साथीहरू भागेपछि हामीलाई हत्कडी र नेल लगाइदियो । यस्तैमा हाम्रो लामो समय बित्यो । म १७ वर्ष जेलमा परेँ । बहुदल आउनु भन्दा पहिला नै मलाई छाडिदिए । २०४६ साल पुस १४ गते राजा वीरेन्द्रको जन्मोत्सवमा छाड्ने भने । तर, मैले मानिनँ । मैले नमानेकाले मलाई पुस १९ गते छाडिदिए । १७ वर्ष जेल बसेका हुँ । म भन्दा पहिला ओली, राधाकृष्ण मैनाली र मोदनाथ प्रश्रित छुटेका हुन् ।
मोहनचन्द्रले १६ वर्ष ९ महिना तराईका पाँच र पहाडका पाँच ओटा जेलमा बिताउनु भयो । उहाँको जीवनका उर्जामय समय कालकोठरीमा नै बिताउनु पर्यो । युवा अवस्थाले खुल्ला आकाशमुनीको वातावरण नै देख्न, बुझ्न र हेर्न पाएन । केवल पायो त कालकोठरीको अनुभव गर्न । कालकोठरी व्यहोेर्न र दैनिक आएको मृत्युसँग पौँठेजोरी खेल्न तथा काललाई लखेट्न । (कुराकानीमा आधारित)
(प्राचीको १०६-१०७ अङ्कबाट)
प्राचीको अङ्क १०६-१०७ पढ्न यहाँ क्लीक गर्नुहोला
सम्बन्धित अन्तरवार्ताहरू
शान्ति प्रक्रियाका कामलाई राजनीतिक दाउपेच र लापरबाहीको शिकारबाट मुक्त गर्नु आवश्यक छ
नेकपा एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, नेपालमा चलेको दश वर्ष लामो सशस्त्र द्वन्द्व, विस्तृत शान्ति सम्झौता तथा सङ्क्रमणकालीन न्यायिक प्रकृयालाई नजिकबाट नियाल्ने नेताका रूपमा परिचित हुनुहुन्छ। विस्तृत…
हाम्रा राजनीतिक दल र जनप्रतिनिधिहरू जनअपेक्षा पूरा गर्ने दायित्वमा इमान्दार उत्रन सक्नुपर्छ
पूर्वसभामुख दमननाथ ढुङ्गाना नेपालको मानव अधिकार लोकतन्त्र तथा नागरिक स्वतन्त्रता सुपरिचित वरिष्ठ व्यक्तित्व हुनुहुन्छ। दश वर्ष लामो सशस्त्र द्वन्द्वका क्रममा उहाँले स्व. पद्मरत्न तुलाधारको नेतृत्वमा सशस्त्र द्वन्द्वरत पक्षलाई शान्ति प्रकृयामा ल्याउन मध्यस्थकर्ताका…
भयरहित वातावरणमा मतदाताले मतदान गर्ने वातावरण निर्वाचन आयोगले बनाउनेछ
नेपाल सरकारसँगको परामर्शका आधारमा निर्वाचन आयोगले रिक्त रहेका स्थानीय तहका जनप्रतिनिधि छनौटका लागि ०८१ मङ्सिर १६ गते स्थानीय तह उपनिर्वाचन ०८१ सञ्चालन गर्दैछ । निर्वाचनका लागि आयोगले ०८१ असोज १०…
नागरिकको आधारभूत मानव अधिकारको संरक्षण गर्ने दायित्व राज्यको हो
लुम्बिनी प्रदेश सरकारले प्रदेशवासीहरूको मन छुने गरी के कस्ता नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । प्रदेशलाई समृद्ध बनाउन र मानव अधिकारमैत्री संस्कारको विकास गर्नका लागि के कसरी काम…
मानव अधिकार रक्षकसम्बन्धी कानुन आवश्यक छ
लुम्बिनी प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा ०८१ साउन ७ गते नियुक्त भएपछि चेतनारायण आचार्यले प्रदेश सरकारको औचित्य स्थापित गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । सरकारको नेतृत्व गरेको करिव दुई महिना पुग्नै…