मानव अधिकार उल्लङ्घनकर्ताको सूचीमा समावेश भएकाहरूलाई सरकारले कारवाही गरोस्

गोविन्द शर्मा पौड्याल

राष्ट्रिय मानव अधिकार आयोगका निवर्तमान सदस्य

राष्ट्रिय मानव अधिकार आयोगले २०७७ असोज २९ गते एक कार्यक्रमको आयोजना गरी मानव अधिकार उल्लङ्घनकताको नाम सार्वजनिक गर्‍यो । ‘आयोगका २० वर्षः आयोगका सिफारिसहरू र कार्यान्वयन अवस्था’ प्रतिवेदनमार्फत अयेगले मानव अधिकार उल्लङ्घनकर्ताको सूची सार्वजनिक गरेको हो । यो प्रतिवेदन सार्वजनिक गरेसँगै कात्तिक २ गतेबाट आयोग पदाधिकारीविहीन भएको छ । कानुनका प्राध्यापक गोविन्द शर्मा पौड्याल आयोगका निवर्तमान सदस्य हुनुहुन्छ । उहाँसँग मानव अधिकार उल्लङ्घनकर्ताको सूची प्रकाशनको सेरोफेरोमा रहेर रमेशप्रसाद तिमल्सिनाले कुराकानी गर्नुभएको छ । प्रस्तुत छ पौड्यालसँग गरिएको कुराकानीको सम्पादिन अंशः

कार्यकाल सकिनै लाग्दा मात्रै मानव अधिकार उल्लङ्घनकर्ताको नाम सार्वजनिक गर्नुभयो । यसले के अर्थ राख्छ र ?

संविधान र राष्ट्रिय मानव अधिकार आयोग ऐनमा भएको व्यवस्था अनुरुप हामीले मानव अधिकार उल्लङ्घनकर्ताको नाम सार्वजनिक गरेका हौँ । हामीभन्दा अघि आयोगमा रहेका पदाधिकारहरूले यस्तो सूची प्रकाशन नगर्दा मानव अधिकार उल्लङ्घनको अनुपात बढ्न गयो । मानव अधिकार आयोगले सरकारलाई गरेको सिफारिस कार्यान्वयन गर्न पनि सरकारले उदासिनता देखायो । सरकारले देखाएको उदासिनता त ‘राष्ट्रिय मानव अधिकार आयोगका २० वर्षः आयोगका सिफारिस र कार्यान्वयनको अवस्था’ भन्ने हामीले हालै प्रकाशन गरेको प्रतिवेदनबाट प्रष्टै हुन्छ । आयोगले स्थापनाकालदेखि २०७६/०७७ सम्म १ हजार ९ सय ९४ ओटा उजुरीमा नेपाल सरकारलाई सिफारिस गरेको छ । तिमध्ये १ सय ६२ ओटा (१३.५६ प्रतिशत) पूर्ण कार्यान्वयन, ४ सय ४४ ओटा (३७.१५ प्रतिशत) आंशिक कार्यान्वयन र ५ सय ८९ ओटा (४९.२९ प्रतिशत) कार्यान्वयन नै भएन । यो तथ्याङ्कले झण्डै आधा सिफारिस कार्यान्वयन नभएको देखिन्छ । राष्ट्रिय मानव अधिकार आयोग ऐनले नै आयोगले गरेका सिफारिस कार्यान्वयन गर्नुपर्नेछ भनेको छ । सर्वोच्च अदालतले पनि आयोगले गरेका सिफारिस जसरी पनि कार्यान्वयन गर्नुपर्छ भनिसकेको छ । संवैधानिक व्यवस्था, कानुनी व्यवस्था र सर्वोच्च अदालतको आदेशलाई समेत नेपाल सरकारले परिपालना गरेको देखिएन । आयोगका सिफारिस पालना नभएपछि आयोगमाथि पनि प्रश्न आउन थाले । ‘यो सेतो हात्ति हो । यसलाई राखिराख्नुको कुनै औचित्य छैन ।’ भनी नागरिक समाज र सञ्चार जगतबाट आयोगको औचित्यमाथि नै प्रश्न उठ्न थाले ।

सूची प्रकाशनको आधार के हो ?

आयोगले कुनै पनि मानव अधिकार उल्लङ्घन भएको अवस्थामा अनुसन्धान गरी प्राप्त तथ्यको आधारमा मानव अधिकार उल्लङ्घनकर्ताको पहिचान गरी पिडकलाई दण्ड र पीडितको न्याय सुनिश्चित गर्न सरकारलाई सिफारिस गर्ने हो । तर, २० वर्षको अवधिमा सरकारले पीडितको न्याय सुनिश्चित गर्न सकेन । जसका कारण दण्डहीनता रहिरह्यो । दण्डहीनताको अन्त्य हुन सकेन । हामीले यो सूची प्रकाशन गरेपछि सोको कार्यान्वयन गर्ने दायित्व सरकारको हुन्छ । संविधान र कानुनमा मानव अधिकार उल्लङ्घनकर्ताको सूची प्रकाशन गर्नुपर्ने कुरा उल्लेख छ । आयोगले आफ्नो दायित्व पूरा गरेको छ । आयोगले मानव अधिकार उल्लङ्घनकर्ताका रूपमा पहिचान गरेका व्यक्ति र संस्थाको सूची सार्वजनिक गरेका छौँ । यसलाई अन्तर्राष्ट्रिय समुदाय र नागरिक समाजले हेर्नेछ । हाम्रो अपेक्षा भनेको अब नेपाल सरकार महान्याधिवक्ताको कार्यालयले मुद्दा चलाउनेछ । मुद्दा चलाउनु पर्छ ।

सरकारले आयोगका सिफारिस कार्यान्वयन गरेन भन्ने तपाइँहरूकोमा आएका उजुरी पनि आधाभन्दा बढी त बाँकी नै छन् । समयमा नै किन निर्णय गर्नुभएन ?

आयोगका स्थापनाकालदेखिका उजुरी अझै बाँकी छन् । पहिला राष्ट्रिय मानव अधिकार आयोगमा पर्याप्त मात्रामा जनशक्ति थिएन । स्रोत र साधन थिएन । भएका कर्मचारी पनि पर्याप्त तालिम प्राप्त थिएनन् । यि परिस्थितिले गर्दा यसअघि समयमा नै काम हुन नसकेको हो । ‘ढिला न्याय पनि अन्याय हो ।’ भन्ने जान्दाजान्दै आयोगले समयमा काम गर्न नसकेकै हो । ऐनमा नै स्पष्ट छ कि उजुरी परेको तीन महिना भित्र सोको निक्र्योल गरी उजुरकर्तालाई जानकारी दिनुपर्छ । त्यसको परिपालना हुन नसकेको हो । अब आयोगबाट ढिलासुस्ती हुँदैन । हुनुहुँदैन ।

संवैधानिक दायित्व पूरा गर्न पनि निकै समय लगाउनु भयो नि !

हो । यसअघि नै गर्नु पर्ने काम हे ये । र, यो नियमित प्रक्रिया पनि हो । यसअघि नभएको काम भएकाले यसके प्रशंसा पनि भएको छ । हामीले प्रशंसा बटुल्नका लागि नभएर संवैधानिक र कानुनी दायित्व पूरा गर्न मानव अधिकार उल्लङ्घनकर्ताको सूची सार्वजनिक गरेका हौँ । यो नियमित प्रक्रिया हो । तर, यसअघि नभएको काम हामीले सुरू गर्‍यौँ । त्यही भएर केही प्रशंसा भएको हुनसक्छ । आयोगले गरेका सिफारिस धेरैजसो द्वन्द्वकालकै छन् । पहिले नै यसरी कालोसूची सार्वजनिक गरेको भए मानव अधिकार उल्लङ्घनको अनुपात घट्ने थियो कि ! आयोगले यसअघि पनि बेलाबेलामा यसरी सूची सार्वजनिक गरेको भए कोको मानव अधिकार उल्लङ्घनकर्ता रहेछन् भनेर आम नागरिकले पनि पहिल्यै थाहा पाउने थिए । सरकार पनि बढी जबाफदेही हुने थियो । सरकारले आयोगका सिफारिस धेरै कार्यान्वयन गरेका छौँ भन्दै आएको छ । त्यो भनेर मात्रै भएन सरकारले पनि आयोगले गरेका सिफारिसलाई गरेको कार्यान्वयनको प्रतिवेदन जारी गरोस् । अरु जेजे भनेपनि अब मानव अधिकार उल्लङ्घनकर्ताको सूचीमा समावेश भएकाहरूलाई सरकारले कारवाही गरोस् । आयोगले यो मितिमा गरेको सिफारिसमा यो कारवाही गर्‍यौँ भन्ने फेहरिस्त सरकारले पनि देखाउनु पर्छ । हाम्रो त कार्यकाल सकियो । अब आउने पदाधिकारीले सार्वजनिक सूची र कारवाही प्रक्रियाको नियमित अनुगमन गर्नु आवश्यक छ । यति लामो सूची प्रकाशन गर्नुपर्ने दायित्व सायद नपर्ला । विगतका सिफारिसको कार्यान्वयनका लागि भने आयोगको काँधमा जिम्मेवारी रहिरहन्छ । मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा सरकारलाई जबाफदेही बनाउन आयोगले भूमिका खेल्नु पर्छ ।

२० वर्षको अवधिमा २ सय ८८ मात्रै मानवअधिकार उल्लङ्घनकर्ता हुन् त ?

आयोगमा दर्ता भएका मुद्दामध्ये निर्णय भएका मुद्दाको आधारमा यो सूची प्रकाशन गरिएको हो । झण्डै ७–८ हजार उजुरीको त सुनुवाइ हुनै बाँकी छ । २ सय ८८ नै अन्तिम होइन । आयोगले निर्णय गर्दै जाँदा सूची पनि थपिँदै जान्छ । आयोगले निर्णय गर्दै जाँदा यसमा थप हुन्छ योभन्दा घट्ने चाहिँ हुँदैन । २०७७ साल असारसम्म आयोगले गरेका निर्णयका आधारमा प्रकाशन गरिएको सूची हो यो ।

राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लङ्घनकर्ताको सूची निकालेपछि ‘ठूला माछा’ लाई उन्मुक्ति दियो भन्ने आरोप छ नि !

२ सय ८८ जनाको सूची हेर्नुपर्ने हुन्छ । आरोप लगाउनुअघि त्यसलाई पढ्नुपर्ने हुन्छ । यो सूची हेर्दा ‘ठूलाठूला माछा’ छुटेको अनुभूति कसैलाई पनि हुँदैन । उल्लङ्घनकर्ताको सूची लहडमा सार्वजनिक गर्ने कुरा होइन । कसैलाई मनमा लाग्दैमा सूचीमा समेटिँदैन । आयोगमा परेका उजुरी र प्राप्त तथ्यका आधारमा समेट्ने हो । सेनाको प्रमुख, प्रहरीको प्रमुख, निर्वाचन आयोगमा प्रमुख भएका व्यक्तिसम्मको नाम सूचीमा छ । योभन्दा ‘ठूला माछा’ को होलान् ? कसैलाई त्यस्तो लागेको छ भने उजुरीको छिनोफानो हुन नै बाँकी छ कि भन्ने बुझ्नु पर्छ । कतिपय उजुरी आयोगमा मात्रै छैनन् अदालतमा मुद्दाका रूपमा पनि परेका छन् । अदालतमा परेका मुद्दाका बारेमा आयोगले कुनै निर्णय गर्न मिल्दैन ।  अदालतले अनुमति दिएको खण्डमा मात्रै हामीले अनुसन्धान गर्न मिल्छ । ‘ठुला माछा’ अदालतभित्रका विचाराधीन मुद्दामा अड्केका पनि हुन सक्छन् । तर, आयोगले जारी गरेको सूची कसैलाई उन्मुक्ति दिनका लागि होइन । यसमा सबैजना प्रष्ट हुनु पर्छ ।