भयरहित वातावरणमा मतदाताले मतदान गर्ने वातावरण निर्वाचन आयोगले बनाउनेछ

नेपाल सरकारसँगको परामर्शका आधारमा निर्वाचन आयोगले रिक्त रहेका स्थानीय तहका जनप्रतिनिधि छनौटका लागि ०८१ मङ्सिर १६ गते स्थानीय तह उपनिर्वाचन ०८१ सञ्चालन गर्दैछ । निर्वाचनका लागि आयोगले ०८१ असोज १० गते उपनिर्वाचन कार्य तालिकासमेत सार्वजनिक गरिसकेको छ । मन्त्रिपरिषद्को ०८१ भदौ ३० गतेको बैठकले ०८१ मङ्सिर १६ गते रिक्त रहेका स्थानीय तहमा उपनिर्वाचन गर्ने निर्णय बमोजिम कोशी प्रदेशका पाँच जिल्लाका ६ ओटा स्थानीय तहमा उपनिर्वाचन हुनेछ ।

कोशी प्रदेशका मोरङको ग्रामथान गाउँपालिकामा गाउँपालिका अध्यक्ष पदका लागि, झापाको कन्काई नगरपालिका–६ मा वडाध्यक्ष पदका लागि, तेहृथुमको लालीगुराँस नगरपालिका–८ मा वडाध्यक्ष पदका लागि, सुनसरीको गढी गाउँपालिका–६ मा वडाध्यक्ष पदका लागि, ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि र उदयपुरको त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका–८ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । ओखलढुङ्गामा जिल्ला समन्वय समिति संयोजकको निर्वाचन हुँदैछ । आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनको तयारीका विषयमा प्रदेश निर्वाचन कार्यालय, विराटनगरका निमित्त निर्वाचन अधिकृत चोलाराज दङ्गालसँग इन्सेक, मोरङ प्रतिनिधि विनोद सुवेदीले गरेको कुराकानीको सम्पादित अंशलाई यहाँ प्रस्तुत गरिएको छ ।

आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनको तयारी कसरी गर्दै हुनुहुन्छ ?

आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनको मिति घोषणासँगै निर्वाचन आयोगले निर्वाचनको तयारी थालिसकेको छ । निर्वाचनका लागि मतदाता नामावली सङ्कलनको काम निर्वाचनको मिति घोषणा भएको भोलिपल्टदेखि नै बन्द भइसकेको छ । अहिले मतदाता नामावली अद्यावधिकको काम धमाधम भइरहेको छ । मतदाता नामावली अद्यावधिकको काम अन्तिम चरणमा पुगिसकेका कारण कात्तिक २६ गते अन्तिम नामावली प्रकाशन हुँदैछ । निर्वाचन अघि मतदान स्थलको निर्वाचन कार्यालयबाट अनुगमन गर्ने काम पनि सम्पन्न भइसकेको छ ।

मतदान अधिकृतको कार्यालय कहिले स्थापना हुन्छ ?

कोशी प्रदेशमा एक गाउँपालिका अध्यक्ष, ६ ओटा वडाध्यक्ष र एक जिल्ला समन्वय समितिको संयोजकको निर्वाचन हुँदैछ । जसका लागि वडा अध्यक्षको निर्वाचनका लागि सोही वडामा मतदान अधिकृतको कार्यालय स्थापना हुन्छ । गाउँपालिकाको अध्यक्षको निर्वाचनका लागि गाउँपालिकाको केन्द्रमा मतदान अधिकृतको कार्यालय स्थापना हुन्छ । यस्तै जिल्ला समन्वय समितिको संयोजकको निर्वाचनका लागि सम्बन्धित जिल्लाको सदरमुकाममा नै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदैछ । कोशी प्रदेशका उपनिर्वाचन हुने पदहरूको निर्वाचन गर्न निर्वाचन अधिकृतसमेत तोकिसकिएको छ ।

निर्वाचनको कार्यतालिका कस्तो छ ?
निर्वाचन अधिकृतहरू आयोगले तोकिसकेका कारण कात्तिक २६ गते सम्बन्धित वडा र गाउँपालिकाको केन्द्रमा कार्यालय स्थापना हुनेछ । निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि मङ्सिर २ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ । निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । जस अनुसार उम्मेदवारको मनोनयन दर्तापछि मङ्सिरको ३ गते दावी विरोधको उजुरी दिने र मङ्सिर ४ गते टुङ्गो लाग्नेछ । मङ्सिर ४ गते अन्तिम नामावली प्रकाशन हुने र ५ गते नाम फिर्ता लिने समय निर्धारण गरिएको छ । मङ्सिर ५ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ । त्यसपछि मङ्सिर ६ देखि ८ दिनसम्म प्रचारप्रसारको समय दिइने छ । मङ्सिर १३ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ । त्यसपछि मङ्सिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

शान्ति सुरक्षा, कर्मचारी व्यवस्थापन लगायतका काम कसरी हुँदैछ ?
शान्ति सुरक्षाको काम जिल्ला सुरक्षा समितिले गर्ने व्यवस्था रहेको छ । कर्मचारी खटन–पटनका लागि निर्वाचन कार्यालयहरूले निर्वाचन अधिकृतको कार्यालयलाई कर्मचारीको सूची पठाउने र निर्वाचन अधिकृतको कार्यालयले आवश्यक कर्मचारी त्यही सूचीबाट छनोट गरी निर्वाचन प्रयोजनका लागि खटाउने छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतको अभिमुखीकरण जिल्ला निर्वाचन कार्यालयले संयुक्त रूपमा गर्ने तयारी छ । भयरहित वातावरणमा मतदाताले आफ्नो अमूल्य मत दिने वातावरण निर्वाचन आयोगले बनाउनेछ ।