प्रदेश सरकारप्रति आशा गरौँ

डा. चन्द्रकान्त ज्ञवाली
संविधानविद्, बरिष्ठ अधिवक्ता
नेपालको संवैधानिक प्रावधान अनुसार स्थानीय, प्रदेश र सङ्घीय सरकार क्रियाशील छन् । प्रदेश सरकार गठन भएको एक वर्ष नाघेको छ । यसै परिवेशमा यसका उपलब्धि र कमी कमजोरीका सन्दर्भमा संवैधानिक कानुनका ज्ञाता वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीसँग कुराकानी गरिएको छ । प्रस्तुत छ, पोखरेलसँग प्राचीका लागि रमेशप्रसाद तिमल्सिनाले गर्नुभएको कुराकानी।
संवैधानिक रूपमा शासकीय संरचनामा परिवर्तन गरिएको छ । प्रदेश सरकार गठन गरिएको एक वर्षभन्दा बढी भइसकेको छ । एक वर्षमा प्रादेशिक सरकारका गतिविधि कस्ता रहे ?
नेपालको संविधानले सङ्घीय, प्रादेशिक र स्थानीय गरी तीन तहको शासकीय स्वरूपको परिकल्पना गरेको छ । सङ्घीय लोकतन्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा संविधान जारी गरेर अहिले लागु भएको छ । तीन तहका सरकारहरूको निर्वाचन भयो । त्यति बेला निर्वाचन नै हुँदैन कि भन्ने आशङ्का पनि थिए । स्थानीय निर्वाचन पहिलो प्राथमिकता हुन्छ । त्यसपछि मात्रै निर्वाचक मण्डल बन्छ भनी हामीले पनि निकै घच्घच्यायौँँ । सर्वोच्चमा रिटसमेत दायर गर्यौँ । पछि त्यही बाटोबाट देश अगाडि बढ्यो । प्रदेश तथा सङ्घीय निर्वाचनमा पनि त्यस्तै अन्योलता आएको थियो । विस्तारै त्यो पनि मेटियो । २०७४ माघ ८ गतेभित्रै सबै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाटो अनुसार नै देश अगाडि बढ्यो । यो निकै सकारात्मक पाटो हो । २०७४ मङ्सिर २१ मा सबै तहका निर्वाचन सम्पन्न गरियो । त्यसपछि राजनीतिले नयाँ कोर्ष लियो । अहिले मुलुकमा ७ सय ६१ ओटा सरकार छन् । ७ सय ५३ ओटा स्थानीय सरकार, सात ओटा प्रादेशिक सरकार र एउटा सङ्घीय सरकार क्रियाशील छन् । तीनै तहमा विधायिकी अधिकार छ । स्थानीय तहमा गाउँ तथा नगरसभा छन् । प्रदेश सभा छन् । प्रतिनिधि र राष्ट्रिय सभा छन् । यि सबैका आआफ्ना अधिकार क्षेत्र संविधानमा नै तय गरिएको छ । एकल र संयुक्त अधिकार संविधानको अनुसूचीमा नै उल्लेख गरिएको छ ।
२०७४ मङ्सिर २१ गते निर्वाचन सकिएपनि सरकार गठन फागुनमा मात्रै भएकाले सरकार गठन भएको १३ महिना भयो । स्थानीय सरकार त अलि अघि नै हो । स्थानीय तहको निर्वाचन तीन चरणमा गरिएको थियो । तीनै तहका सरकारलाई जनताको सार्वभौमसत्ता र राजकीय सत्ताको बाँडफाँड गरिएको छ । यो अवधिमा तीनै तहका सरकारले जनताको अपेक्षालाई पूर्ति गर्न सकेको पाइएन । यसमा कानुनी अड्चनका विषय, नयाँ तहमा मुलुक अघि बढेकाले त्यसलाई आत्मसात गरी कामकाज गर्ने विषय, संरचना अभावलगायतकका विषय देखिएका छन् । बरु स्थानीय तहका लागि संरचना थियो । पहिला गाविस र नगरपालिकाका आआफ्नै संरचना भएकाले अहिलेका स्थानीय तहलाई संरचना अभाव झेल्नुपरेन । तर, प्रदेश सरकार त विल्कुल नयाँ भएकाले यस्ता समस्या पनि झेल्नु परेको पाइयो । विश्वका अधिकांश सङ्घीयता भएका मुलुकमा दुई तहका सरकार हुन्छन् । केन्द्रीय सरकार र स्थानीय सरकार । खास सङ्घीयताको अभिप्राय त्यही नै हो । तर, हामी कहाँ तीन तहका सरकार भएकाले अधिकार बाँडफाँड, कानुन निर्माण, शक्तिको अभ्यासजस्ता विषयका कारणले एक वर्षको अवधिमा जनअपेक्षाका काम हुन नसकेको हो । अझै पनि समय छ । यस्ता विषयमा संवेदनशील बनेर काम गर्न सकेमा जनअपेक्षा पूरा गर्न सकिन्छ ।
प्रदेश सरकारहरूले एक वर्षमा के के गरे ? के के गर्नुपथ्र्यो ?
७ सय ६१ ओटै सरकारसँग कार्यकारी अधिकार छ । संविधानले नै सबै सरकारलाई कार्यकारी अधिकार अभिव्यक्त गरेको छ । त्यसबाहेक मिलेर गर्ने कामको बारेमा पनि संविधानमा उल्लेख गरिएको छ । त्यो बाहेक कुनै विवाद आए अदालती प्रक्रियाबाट निप्टारा लगाउन सकिने व्यवस्था पनि छ । सङ्घीय सरकारका तर्फबाट प्रदेश र स्थानीय तहका एकल अधिकारमा समेत हस्तक्षेप हुने गरी कानुन बनाएको अवस्था छ । पुराना कानुन संशोधन गर्दैगर्दा पनि यो खालका समस्या देखिएका छन् । एकल अधिकार प्रमुख हुन्छन् । साझा अधिकार भनेको थप अधिकार हुन् भन्ने बुझ्नु जरुरी हुन्छ । साझा अधिकारलाई टेकेर अहिलेसम्म एउटा पनि कानुन बन्न सकेन । विद्यमान कानुन ३ सय ३९ ओटा रहेछन् । ती कानुन कहाँ कहाँ बाझिएका छन् ? स्थानीय तहका एकल अधिकार २२ ओटा छन्, प्रदेशका एकल अधिकार र सङ्घीय सरकारका एकल अधिकार छन् । कहाँकहाँ बाझिएको छ त ? ५५–६० ओटा कानुन तीन ओटै तहका सरकारका एकल अधिकार र साझा अधिकारका दृष्टिले संविधानतः ती खारेजीमा पर्ने अवस्था रहेछ । झण्डै १ सय ७२ ओटा कानुन संशोधन गर्नुपर्ने अवस्थाका रहेछन् । सङ्घीय सरकारले एकैपटक १ सय ५ ओटा कानुन संशोधन पनि गर्यो । त्यसमा पनि केही समस्या छ । कानुन बाझिएमा संवैधानिक इजलासबाट निरूपण गर्न सकिन्छ । सङ्घीय सरकारले मौलिक अधिकारसम्बन्धी १७ ओटा कानुन बनाएको छ । तर, ती प्रदेश र स्थानीय तहको अधिकारसँग बाझिएको देखिन्छ । प्रदेश र स्थानीय सरकारले पनि मौलिक हक कार्यान्वयन गर्छ भन्ने सङ्घीय सरकारले बिर्सिएको देखिन्छ । जहाँ मौलिक अधिकार हुँदैन त्यसलाई सरकारको मान्यता हुँदैन । एकल, संयुक्त जे जे अधिकार भनेपनि मौलिक अधिकारको कार्यान्वयन गर्ने जिम्मा सबै सरकारको हुन्छ । योबीचमा अरु लडाँइ भए पनि मौलिक अधिकार कार्यान्वयन गर्ने हाम्रो पनि दायित्व हो भनेर प्रादेशिक र स्थानीय सरकारले आत्मसात गरेको पाइएन । द्रुत गतिमा काम नहुनुमा कानुनी संरचना महत्वपूर्ण पाटो हुने हुनाले मैले यो कुरालाई राखेको हुँ ।
यो त बढी जसो सङ्घीय सरकारकै कुरा भयो । प्रदेश सरकार आफैँले गर्नुपर्ने काम कत्तिको गरेको छ त ?
उसका २१ ओटा एकल अधिकार छन् । यी अधिकारलाई टेकेर काम गर्न खोजेको पाइन्छ । प्रदेश सरकार भन्ने कुरा नेपालमा शून्य बाट सुरू गरिएको हो । स्थानीय तहका लागि आधारभूत भौतिक संरचना त थिए । प्रादेशिक तहमा त्यस्तो केही थिएन । कर्मचारी पनि सङ्घबाटै खटाउनुपर्ने भयो । यो अवधिमा आधारभूत भौतिक संरचना र कानुनी संरचना तयार गर्नैमा व्यस्त रहे । कर्मचारी समायोजन गर्न पनि समय लाग्यो । त्यस कारणले गर्दा आम जनताले प्रादेशिक सरकार त आवश्यक नै छैन भन्ने बुझ्न थाले । हिजो यस्तो संरचना नै थिएन । नयाँ संरचना भएकाले केही समय त लागि हाल्छ नि भनेर सन्देश प्रवाह गर्न सकेको अवस्था छैन । यस्तो सन्देश प्रदेश सरकार आफैँले पनि प्रवाह गर्न सक्नुपर्छ । प्रादेशिक सरकारको आवश्यकताका बारेमा, कामका बारेमा, सहजताका बारेमा प्रदेश सरकारको प्रचार हुनु जरुरी छ । यस्तो काममा सङ्घीय सरकारको ठुलो मद्दत चाहिन्छ । तर, सङ्घीय सरकारले त्यसरी हेरेको छैन । प्रदेश नै पिच्छे केही घटीबढी कानुन बनाइरहेको हुनाले अब आशा गर्ने ठाउँ छ । अब प्रादेशिक सरकारबाट आशा गर्न सकिने प्रशस्त आधार छन् । कानुनी र भौतिक संरचना तथा कर्मचारीको व्यवस्थापन, नीतिहरूमा उनीहरूले आफूहरूलाई सक्षम अवस्थामा ल्याइसकेका छन् । आगामी दिनमा कानुनी संरचनासँगै जनमुखी कामका लागि आफूलाई उभ्याउन सक्दा प्रदेश सरकारको अपरिहार्यतालाई नागरिकले स्वीकार्न समस्या हुँदैन ।
प्रदेश सरकारका एक वर्षका गतिविधिलाई लिएर निराशा हुनुहुन्न भन्न खोज्नुभएको हो ?
अवश्य पनि । एक वर्षको समय कति नै हुन्छ र ? निराशा हुनुपर्ने ठाउँ देखिँदैन । एउटा बालक जन्मेको एक वर्षमा टुकुटुकु हिँड्न पनि सक्दैन । लड्दै उठ्दै गर्छ । उभिन सिक्न खोज्छ । प्रदेश सरकारको पनि त्यही हो । संस्थागत विकासमा भएको हुनाले निराशाको गीत गाएर हिँड्नु पर्दैन । मैले अन्यत्रको सङ्घीय व्यवस्थाको अध्ययन गरेर किताब लेख्या छु । अन्यत्र दुई तहका सरकार छन् हाम्रोमा तीन तहका सरकार छन् । अन्यत्र प्रादेशिक सरकारको मातहतमा स्थानीय सरकार छन् । हाम्रोमा त ७ सय ६१ ओटै सरकार स्वायत्त छन् । स्वतन्त्र छन् । कसैको मातहतमा कोही छैनन् । समन्वय गर्ने कुरा अर्कै भो मातहतमा त होइन नि ! एकल अधिकारको प्रयोग सुरू भइसकेको छ । अब साझा अधिकारको प्रयोगको पनि सुरूवात गर्नु आवश्यक छ । त्यसपछि प्रदेश सरकारको आवश्यकता र महत्वका बारेमा स्पष्ट हुन्छ । अनि आम नागरिकमा आशाको सञ्चार हुन्छ ।
आम नागरिकले चाँहि सङ्घीयतालाई संस्थागत र दिगो बनाउन के गर्नुपर्छ ?
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका तीनै तहका सरकार हाम्रै अधिकार रक्षाका लागि हुन् । यि सरकार हामीप्रति जबाफदेही छन् र हुनुपर्छ भन्ने भावना सबैमा हुनु आवश्यक छ । हाम्रै शान्ति सुरक्षा, सेवा सुविधाका लागि हामीले नै चुनेर गठन गरिएको सरकार हुनाले सङ्घीय शासन सञ्चालन पद्धतिमा भर्खर पाइला राखेको हुँदा आलोचनात्मक रूपमा सल्लाह र सुझाव दिएर दिगो बनाउनु हाम्रै कर्तव्य हो भन्ने बुझ्नु आवश्यक छ । हामी चनाखो भएनौँ भने का मगर्न सरकार असमर्थ हुन्छन् भन्ने मानसिकता आम नागरिकमा हुनु आवश्यक छ । यस्तो कामका लागि स्थानीय सरकारको जिम्मेवारी बढी हुन्छ । किनभने उ आम नागरिकको घरदैलोको सरकार हो । सङ्घीयता भनेको विधिको साशन हो । जनताले लगाम लगाउँदा मात्रै सरकारमा बसेकाहरू विधिको यात्रामा हिँड्छन् । यस्तो काममा सञ्चार माध्यामको मुख्य भूमिका हुन्छ । सङ्घीयतालाई बलियो बनाउने कर्तव्य सरकारको मात्रै नभएर प्रत्येक व्यक्तिको पनि हो । तसर्थ सबै सचेत र जागरूक हुनु आवश्यक छ ।
सम्बन्धित अन्तरवार्ताहरू
वातावरणलाई प्राथमितामा राखेर लगानी गर्नु आवश्यक छ
संविधानमा नै वातावरणको अधिकारलाई सुनिश्चित गरिएको छ । तर, हाम्रै क्रियाकलापले दिनप्रतिदिन वातावरण बिग्रँदो छ । वातावरण सुधारका लागि संविधान, ऐनकानुनमा मात्रै व्यवस्था गरेर पुग्दैन । हामीले वातावरणमैत्री व्यवहार गर्नु…
अहिले प्राप्त मत परिणामले युवा नेपालको चिन्तनलाई उजागर गरेको छ
सुबोधराज प्याकुरेल, इन्सेकका निवर्तमान अध्यक्षका साथै प्रदेश १ योजना आयोगका पूर्व उपाध्यक्ष हुनुहुन्छ । नेपालको मानव अधिकार तथा सामाजिक न्यायको अभियानमा पाँच दशक खर्चिनु भएका प्याकुरेल सामाजिक न्याय, दण्डहीनताको अन्त्यजस्ता…
आम नेपालीले जति अधिकार प्रयोग गर्छन् त्यति नै अधिकार मानव अधिकारकर्मीले प्रयोग गर्ने हो
मनोज दुवाडी राष्ट्रिय मानव अधिकार आयोगको सदस्य हुनुहुन्छ । २०४३ सालदेखि कानुनी क्षेत्रका माध्यमबाट मानव अधिकारको रक्षाका लागि लागिपर्नुभएका दुवाडीसँग प्राचीका लागि इन्सेक अनलाइनका सम्पादक रमेशप्रसाद तिमल्सिनाले गर्नुभएको कुराकानी इन्सेक अनलाइनमा प्रकाशन…
सामन्ती चिन्तनले मानव अधिकारको संरक्षण, सम्बर्द्धन र प्रवर्धनलाई बाधा पुर्याउँछ
सुबोधराज प्याकुरेल इन्सेकका निवर्तमान अध्यक्ष हुनुहुन्छ । उहाँसँग मानव अधिकारको क्षेत्रमा काम गरेको लामो अनुभव छ । उहाँ लोकतन्त्र र सङ्घीयताका पक्षमा विगत लामोसमयदेखि वकालत गर्ने सीमित अभियन्तामा पर्नुहुन्छ ।…
उपभोक्ता अधिकार आधारभूत मानव अधिकार हो
अधिवक्ता ज्योति बानिया उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष हुनुहुन्छ । उपभोक्ताको हकहित संरक्षणमा सक्रिय इन्सेकका सदस्य बानियासँग इन्सेक अनलाइनका लागि सम्पादक रमेशप्रसाद तिमल्सिनाले कुराकानी गर्नु भएको छ । प्रस्तुत छ…