परिस्थितिलाई बुझे मानसिक स्वास्थ्य बिग्रँदैन

डाक्टर नरेन्द्र ठगुन्ना
मनोविद
द स्कुल अफ साइकोलोजी नेपालका अध्यक्ष मनोविद डाक्टर नरेन्द्र ठगुन्ना सकारात्मक सोचको विकासले मानसिक समस्या हुनबाट जोगिन सकिने बताउनुहुन्छ । प्राकृतिक विपद् र महामारीपछि हुनसक्ने मानसिक समस्यालाई कम गराउन के गर्न सकिन्छ त ? मनोविद् डाक्टर ठगुन्नासँग रमेशप्रसाद तिमल्सिनाले गर्नुभएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
प्राकृतिक विपद् वा महामारीपछि मानसिक स्वास्थ्यमा निकै असर पर्छ भनिन्छ । यसको जोखिमका बारेमा केही भन्न सकिन्छ ?
प्राकृतिक विपद्, महामारी वा अकल्पनीय घटनापछि मानसिक स्वास्थ्यमा असर पर्ने गर्छ । यो स्वभाविक पनि हो । यस्तो अवस्थामा मानसिक स्वास्थ्यको जोखिम बढी हुन्छ । कोरोना सङ्क्रमणको महामारीले हाम्रो दैनिकीलाई परिवर्तन गरिदिएको छ । त्यसै हुनाले यस्तो अवस्थामा मानसिक स्वास्थ्यको जोखिम निकै छ । यस्तो प्रक्ष्येपण मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाले पनि गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनले पनि यस्तो जोखिम बढ्न सक्ने बताइरहेको छ ।
कस्ताकस्ता प्रकारका मानसिक समस्या देखिन सक्छ ?
तनावको मात्रा बढ्ने, चिन्ता (एन्जाइटी)को समस्या, डिप्रेशनको समस्या, आत्महत्याको समस्या बढ्ने, आघातजन्य घटनापछिको तनावका समस्याहरू देखिने सम्भावना उच्च छ । निन्द्रामा आइपर्ने समस्यासम्बन्धी मानसिक समस्या बढ्न सक्छ । आत्महत्याको जोखिम निकै बढी हुन सक्छ । अमेरिकन साइकोलोजिकल एशोसिएशनले त लकडाउन खुलेपछि आत्म हत्याको जोखिम ह्वात्तै बढ्ने जनाएको छ । त्यसैले अबका दिनमा मानसिक स्वास्थ्यसँग सम्बन्धित विभिन्न अप्ठेरा र जोखिम आइपर्ने निश्चित प्रायः छ ।
यस्ता सम्भावित जोखिमबाट जोगिनका लागि आम नागरिकले के उपाय अपनाउन सक्छन ?
धेरै उपाय हुन सक्छन् । यस्तो बेलामा सन्तुलित आहारलाई निकै ध्यान दिनु पर्छ । अर्को महत्वपूर्ण उपाय भनेको मनमा नकारात्मक कुरा नखेलाउने नै हो । अप्ठेरा, सङ्घर्ष र नराम्रा कुराका बिचमा पनि राम्रा कुरा खोज्ने गर्नु पर्छ । लकडाउन आफैँमा राम्रो विषय होइन । तर, यसबिचमा पनि वातावरण राम्रो भएको, घरैमा रहँदा सम्भावित जोखिमबाट जोगिएको, परिवारका सदस्य सँगै बस्न पाउँदा परिवारबिच सम्बन्ध सुदृढ भएको, माया बढेको, आफ्नै र परिवारको हेरचाहमा बृद्धि भएको जस्ता विषयलाई लकडाउनले दिएको अवसरका रूपमा बुझ्नु पर्छ । सकारात्मकतालाई बढाउने र नकारात्मकतालाई घटाउने गर्दा मानसिक स्वास्थ्यमा आइपर्ने सम्भावित जोखिमबाट जोगिन सकिन्छ । आफ्नै हेरचाह गर्ने र समयलाई सिर्जनात्मक बनाउन केन्द्रीत गर्न सकिन्छ । सृजनशिलताले नकारात्मकतालाई हटाउँछ । आफूलाई मनपर्ने कामका लागि पनि समय छुट्याउने गर्दा सकारात्मक भावनाको विकास हुन्छ । सकारात्मकताले निराशालाई हटाउँछ । ‘यो मनको कुरा त्यो मनले बुझ्ने’ सँग कुराकानी गर्ने गर्नुपर्छ । मनमा आएका विचारलाई स्वीकार गर्दै सकारात्मकतामा ढाल्ने प्रयास गर्ने गर्यौँ भने मानसिक स्वास्थ्यका सम्भावित जोखिमबाट जोगिन सकिन्छ ।
फुर्सदको समयमा केही न केही गर्ने र सकारात्मक धारणाको विकासले मानसिक स्वास्थ्य राम्रो हुन्छ भन्न खोज्नु भएको हो ?
जति पनि मानसिक स्वास्थ्यका समस्याबाट पीडित छन् उनीहरूको नकारात्मक सोचको महत्वपूर्ण भुमिका भएको पाइन्छ । खासगरी आफूप्रति, अरुप्रति र परिस्थितिप्रति नकारात्मक हुने प्रवृत्ति भएका मान्छेहरूमा मानसिक समस्या देखिने गर्छ । त्यसैले सकारात्मक सोचको विकास गर्ने, आफूमा आएको सोचलाई स्वीकार गर्ने र महामारीसँग सम्बन्धित अनावश्यक समाचारबाट टाढा रहने गर्दा मानसिक स्वास्थ्य राम्रो हुन्छ । पटकपटक मानिस मरेका, समस्या भएका समाचार पढिरहँदा, सुनिरहँदा र हेरिरहँदा मानसिक स्वास्थ्यमा असर पर्न सक्ने भएकाले सूचना तथा समाचारका लागि निश्चित समय छुट्याएर सूचना लिने गर्नुपर्छ । सामाजिक सञ्जालमा निकै अभ्यस्त हुँदा पनि त्यस्ता खबर आइरहने हुँदा समस्या थपिन सक्छ । यस्ता क्रियाकलापबाट पनि जोगिनुपर्छ ।
अन्यत्रको तुलनामा नेपालमा मानसिक स्वास्थ्य पीडितको दर कम छ भनिन्छ । के यो सही हो ?
सामान्यतय, कुनै पनि घटनापछि घटनाबाट प्रभावित भएका व्यक्तिहरूमध्ये ८–१० प्रतिशत व्यक्तिहरूमा आघातजन्य घटनापछिको तनाव हुने गर्छ भनेर पश्चिमाहरूले गरेको अध्ययनमा भनिएको छ । तर, भूकम्पपछि हाम्रोमा गरिएका अध्ययनले आघातजन्य घटनापछिको तनाव ४–५ प्रतिशत मात्रै भएको पाइन्छ । यद्यपि निकै ठूलाठूला अध्ययन भने भएका छैनन् । हाम्रोमा सामाजिक र सांस्कृतिक संयन्त्रले काम गरेको हुन्छ । दुःख पर्दा अरुलाई सहयोग गर्ने हाम्रो सामाजिक मान्यताले मानसिक स्वास्थ्यको जटिल अवस्थामा जानबाट रोक्छ । धार्मिक आस्था अनुसारका पुजापाठ र भजनकिर्तनले पनि मानसिक स्वास्थ्यमा सहयोग गरिरहेको हुन्छ । यसले गर्दा नकारात्मक विचार बृद्धिमा कमी आउने हुनाले अन्यत्रको तुलनामा नेपालमा मानसिक स्वास्थ्यका पीडितको दर कम नै पाइन्छ ।
परिस्थितिलाई बुझ्ने मानिसमा मानसिक समस्या कम हुन्छ भन्न खोज्नु भएको हो ?
परिस्थितिपछि पूर्व अवस्था ग्रहण गर्न सक्ने क्षमता हुनेलाई मानसिक समस्या कम हुन्छ । महामारीकै सन्दर्भमा कुरा गर्दा मलाई मात्रै भएको होइन सबैलाई हो भनेर स्वीकार गर्न सक्नेलाई यस्तो समस्या कम हुन्छ । परिस्थितिलाई बुझ्ने भनेको यही हो । हाम्रो कनेक्टिभिटी सोसाईटी भएकाले गर्दा आफ्नो र समाजको दुःखसुख सँगसँगै साटासाट गर्ने भएका कारणले गर्दा अरु व्यक्तिसँगको सम्बन्ध, सामाजिक सम्बन्ध तुलनात्मक बलियो छ । आफ्नो समस्या अरुलाई पनि सुनाउँछौँ । यसले मन हल्का हुन्छ । मन शान्त हुन्छ । त्यसैले पनि परिस्थितिलाई बुझ्ने मानिसमा मानसिक समस्या कम हुने गर्छ ।
सम्बन्धित अन्तरवार्ताहरू
शान्ति प्रक्रिया जितजितको भावनाबाट टुङ्ग्याउनुपर्छ
हाम्रो देशमा थालिएको शान्ति प्रक्रियाको काम आफ्नै किसिमको छ । अलिकति विगतलाई सम्झौँ । एउटा सशस्त्र समूह छ त्यसलाई सरकारले आतङ्ककारी भनेको छ । त्यसलाई हामीले भन्यौँ कि–‘यिनीहरू आतङ्ककारी होइनन्…
प्रजातन्त्र पुनःस्थापनाका लागि मानव अधिकारकर्मीको योगदान
पञ्चायतकालमा मानव अधिकारकै विषयमा उल्लेख गरेर जनताको अधिकार कायम गर्नुपर्छ भनेर बोल्न सक्ने अवस्था थिएन। मानव अधिकारका विषयलाई अप्रत्यक्ष रूपबाट जनताका बिचमा पुर्याउनेमा थुप्रै व्यक्तिहरू देखा पर्छन्। खुला रूपबाट, राजनीतिक…
हाम्रा राजनीतिक दल र जनप्रतिनिधिहरू जनअपेक्षा पूरा गर्ने दायित्वमा इमान्दार उत्रन सक्नुपर्छ
पूर्वसभामुख दमननाथ ढुङ्गाना नेपालको मानव अधिकार लोकतन्त्र तथा नागरिक स्वतन्त्रता सुपरिचित वरिष्ठ व्यक्तित्व हुनुहुन्छ। दश वर्ष लामो सशस्त्र द्वन्द्वका क्रममा उहाँले स्व. पद्मरत्न तुलाधारको नेतृत्वमा सशस्त्र द्वन्द्वरत पक्षलाई शान्ति प्रकृयामा…
शान्ति सम्झौता कार्यान्वयन हुन नसक्दा दण्डहीनता बढ्यो
डा. कुन्दन अर्याल, इन्सेकका अध्यक्ष हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयको आमसञ्चार केन्द्रीय विभागका सहप्राध्यापक डा. अर्याल नेपालको मानव अधिकार, सामाजिक न्याय र आमसञ्चारका क्षेत्रमा विगत तीन दशकदेखि क्रियाशील हुनुहुन्छ । १०…
वातावरणलाई प्राथमितामा राखेर लगानी गर्नु आवश्यक छ
संविधानमा नै वातावरणको अधिकारलाई सुनिश्चित गरिएको छ । तर, हाम्रै क्रियाकलापले दिनप्रतिदिन वातावरण बिग्रँदो छ । वातावरण सुधारका लागि संविधान, ऐनकानुनमा मात्रै व्यवस्था गरेर पुग्दैन । हामीले वातावरणमैत्री व्यवहार गर्नु…