नागरिक र सरकारको सहकार्यले मात्रै वातावरणको अधिकार सुनिश्चित
मानव अधिकार अभिभाज्य, अन्तरसम्बन्धित र विश्वव्यापी हुन्छन् । तसर्थ मानव अधिकारका सबै विषयको सुनिश्चितता गर्ने काम सरकारको हुन आउँछ । मुलुकको नीति निर्माण गर्ने र कार्यान्वयन गर्ने अधिकार सरकारमा नै नीहित हुन्छ । संविधानमा नै वातावरणको अधिकारलाई सुनिश्चित गरिएको छ । संविधानमा यो अधिकार देखाउनका लागि नभएर कार्यान्वयन गर्न तथा नागरिकलाई प्रत्याभूति दिलाउनका लागि लेखिएको हो । मौलिक हकका रूपमा संविधानमा व्यवस्था गरिएको वातावरणको अधिकारको प्रचलनमा भने बाधा व्यवधान छ । हाम्रै क्रियाकलापले दिनप्रतिदिन वातावरण बिग्रँदो छ । हाम्रा क्रियाकलाप सपार्ने नेतृत्व लिने काम पनि सरकारकै हो ।
वातावरण सुधारका लागि संविधान, ऐन कानुनमा मात्रै व्यवस्था गरेर पुग्दैन । हामीले वातावरणमैत्री व्यवहार गर्नु आवश्यक छ । वातवरणको संरक्षणका लागि तीनै तहका सरकारले मिहिन ढङ्गले काम गर्नु आवश्यक छ । नीति ल्याउने र त्यसको कार्यान्वयनमा नागरिकलेसमेत सघाउने हो भने वातावरणीय दुष्चक्रबाट हामी मुक्त हुन सक्छौँ । प्रस्तुत छ–वातावरण र मानव अधिकारका सन्दर्भमा मानव अधिकार पोडकाष्टका लागि रमेशप्रसाद तिमल्सिनाले वातावरणविद् नाष्टका प्राज्ञ तथा त्रिभुवन विश्व विद्यालयमा वातावरण र जलवायु परिवर्तनका विषयमा प्राध्यापन गर्नु हुने डा. दिनेशराज भुजुसँग गर्नुभएको कुराकानीको सम्पादित अंशः
वातावरण भन्ने शब्दको दायरा कति फराकिलो हुन्छ ?
वातावरण आफैँमा एउटा बृहद् शब्दावली हो । यसलाई पर्यावरण भन्ने पनि चलन छ । हाम्रो बोलीचालीको भाषामा आफ्नो सेरोफेरोलाई वातावरण भनेर भन्न सक्छौँ । तपाइँ हाम्रो सेरोफेरोमा जैविक र अजैविक पदार्थहरु जेजति छन् ति सबै वातावरणका अङ्गप्रत्यङ्गहरु हुन् । त्यसकारण वातावरणमा जैविक भन्नाले जीवहरु र अजैविक भन्नाले जीवबाहेकका वस्तुहरु हावा, पानी, ढुङ्गा माटो, खनिज यावत विषयहरु पर्दछन् । र, समग्रता हामी यसलाई वातावरण मेरो सेरोफेरो भन्छौँ ।
वातावरण र मानव अधिकारको सम्बन्धका बारेमा कसरी विश्लेषण गर्नुहुन्छ ?
मानव अधिकार र वातावरणका बिचमा के सम्बन्ध छ र यिनीहरु कहाँनेर जोडिए भन्ने बुझ्नका लागि मानव अधिकारको प्रसङ्ग कहाँबाट आयो भन्ने थाहा पाउनु पर्छ । मुख्यतः मानव अधिकारको विश्वव्यापी घोषणापत्रबाट निर्दिष्ट ३० ओटा धारा मानव अधिकारको मुल स्रोत हो । यिनीहरु आधारभूत मानव अधिकार हुन् । यसको पहिलो धारामा मानव स्वतन्त्र र समान भएर जन्मेका हुन्छौँ भन्ने व्यवस्था छ । घोषणापत्र कसरी जारी भयो भन्ने बुझ्नु प्रासाङ्गिक र आवश्यक हुन्छ ।
भर्खरै दोस्रो विश्वयुद्ध सकिएको थियो । जुन युद्धमा कम्तीमा पनि ७ करोड ५० लाख मानिसको ज्यान गएको थियो । कैयौँको घर उजाड भएको थियो । कैयौँको परिवार सखाप भएको थियो । र, सहर तथा देश नै ध्वस्त भएका थिए । त्यति मात्रै होइन त्यो युद्धको बेलामा कैयौँ निर्दोष नागरिकले सजाय पाएका थिए । उनीहरुमाथि अत्याचार भएको थियो । र, उनीहरुमाथि निकै प्रकारका यातना दिइएको थियो । यो पृष्ठभूमिमा आइन्दा यस्तो प्रकारको दुःख, कष्ट, यातना र मानवीय क्षति नहुन् भन्नाका खातिर आधारभूत मानव अधिकारको प्रसङ्ग उठेको हो । त्यसैले ३० ओटा धारासहितका मानव अधिकारको उठान गरियो । यस्ता धारा समेटिएको दस्तावेज मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ हो । जुन अहिले पनि उत्तिकै सान्दर्भिक र उपयोगी छ । वातावरण कहाँनेर जोडियो त ? भनने सन्दर्भमा एकैछिन चर्चा गरौँ ।
मानव अधिकारको विश्वव्यापी घोषणापत्रको धारा १ मा मानव स्वतन्त्र र समान भएर जन्मेका छौँ भनेर लेखिएको छ । तर, पृथ्वीमा जन्मने त मानिस मात्र होइन । हाम्रो वातावरणमा अन्य जीवहरु पनि छन् । के ति असमान भएर जन्मेका हुन् त ? के ति समान छैनन् त ? के तिनको सुरक्षण हुनु पर्दैन ? तिनीहरुको अधिकार नै छैन त ? भन्ने प्रसङ्गपनि विस्तारै मौलाउन थाल्यो । १९६०–१९७० को दशकमा आर्थिक समृद्धिको यात्रा तय हुन थालेपछि वातावरणको संरक्षणको विषयले प्राथमिकता पाउन थाल्यो । द्रुत गतिले आर्थिक विकास हुन थाल्यो । आर्थिक विकासको पछाडि वातावरणीइ क्षति र दोहन पनि बढ्यो । जसले गर्दा खनिज पदार्थ मात्र नोक्सान होइन जिवित प्राणीको पनि धेरै हताहती हुन थाल्यो । उनीहरुको बासस्थानहरु लुटिए । अन्तत्वगत्वा प्रभाव मानिसमा पर्यो । मानिस प्रभावित हुँदा उनीहरुको अधिकार पनि सुरक्षित हुन सकेन । यसकारण वातावरणको अधिकार मानव अधिकारको रुपमा विकास भयो ।
विश्वव्यापी घोषणापत्रका कुन कुन धाराले वातावरणको विषयसँग सम्बन्ध राख्छन् त ?
धारा १ कै प्रसङ्गमा कुरा गरौँ । जसरी मानिस स्वतन्त्र जन्मिएको हुन्छ र समान हुन्छ । त्यसैगरी अरु प्राणी पनि स्वतन्त्र र समान भएरै जन्मिएका हुन्छन् । तेस्रो धारामा जीवनको अधिकारबारे लेखिएको छ । मानिसको जीवन मानवबाट मात्रै पूर्ति त हुँदैन । के मान्छेलाई मान्छे मात्रै भएर पुग्छ ? मानवलाई केके चाहिन्छ ? वातावरण चाहिँदैन । मान्छेलाई मान्छे मात्रै पुग्ने कुरा त असम्भव छ । भनेपछि जीवनको अधिकारभित्र वातावरणको अधिकार पनि पर्न आयो । उदाहरणका लागि मानिस बाँच्नका लागि स्वच्छ हावा चाहिन्छ । अक्सिजन चाहिन्छ । यो त नभइ हुँदैन । धारा १७ मा सम्पतिको अधिकार छ । त्यसैगरी ३० ओटामध्ये १० ओटा धारा वातावरणसँग प्रत्यक्ष सरोकार राख्ने खालका छन् । यसलाई अर्को अर्थमा भन्दा मानव अधिकार अन्तरसम्बन्धित छन् । एउटा अधिकारको कुरा गर्दा अर्को अधिकारलाई छुट्याउन र बिर्सन मिल्दैन ।
वातावरण अभियान र वातावरण अधिकार भनेको उस्तै हो कि फरक छ ?
सुरुमा वातावरण अभियान नै सुरु भएका थिए । क्रमश त्यस्ता अभियानहरु अधिकारको रुपमा स्थापित हुँदै आएको हो । अभियान हुँदा कुनै एउटा राजनीतिक आन्दोलन जस्तो भयो । नीतिगत आन्दोलन जस्तो भयो । त्यसले कुनै एउटा समुदाय, समाजको कुनै एउटा वर्गलाई समेटेको थियो । त्यसले क्रमश सम्पूर्ण वर्गलाई समात्यो र यसले अधिकारको आकार लियो । सबै मानवलाई समेटेको हुनाले वातावरणको अभियान वातावरणको अधिकारका रुपमा स्थापित भयो ।
वातावरणीय अधिकारका लागि तीन तहका सरकारको केकस्तो भूमिका रहन्छ ?
तीन तहका सरकारहरुको दायित्व संविधानमा नै स्पष्ट पारेको छ । त्यसमा वातावरणसँग सम्बन्धित विषय पनि हुने नै भयो । राष्ट्रिय वन र निकुञ्जहरु सङ्घीय सरकारको क्षेत्राधिकारभित्र हुने उल्लेख छ । स्थानीय स्रोतहरुको परिचालनको केही जिम्मेवारी स्थानीय सरकारमा छ । प्रदेशस्तरका विषयको सम्बोधन प्रदेश तहले गर्नुपर्ने उल्लेख छ । पहिलो दायित्व त यो हुन आउँछ कि तत् तत् सरकारहरुले संविधानले प्रदत्त गरेको अधिकार र जिम्मेवारीको निर्वाह तत् तत् सरकारले गर्नै पर्छ । त्यस्तो जिम्मेवारी नीति निर्माण गरेर, कानुन बनाएर मात्रै पूरा हुँदैन । कानुन आफूले पनि पालना गर्नुपर्यो र नागरिकलाई पालना गराउनु पर्यो । नागरिक सँगसँगै सरकार हुनु पर्यो । त्यसपछि सरकार सँगसँगै नागरिक पनि हुन्छन् । नागरिक र सरकारको सहकार्यले मात्रै वातावरणको अधिकार सुनिश्चित हुन्छ ।
सम्बन्धित अन्तरवार्ताहरू
सङ्घीयताले खर्च बढाएको भन्ने तर्कमा तथ्याङ्कीय आधार छैन
बालानन्द पौडेल, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष हुनुहुन्छ। नेपालको संविधान जारी भएपछि सरकारद्वारा गठित स्थानीय तह पुर्नसंरचना आयोगको अध्यक्षको जिम्मेवारीमा हुनहुन्थ्यो। उहाँको नेतृत्वको आयोगले नेपालको स्थानीय तहको संरचना…
नागरिकको आवश्यकताको आधारमा कानुन निर्माण गछौँ
मानव अधिकार अभिभाज्य, अन्तरसम्बन्धित र विश्वव्यापी हुन्छन् । तसर्थ मानव अधिकारका सबै विषयको सुनिश्चितता गर्ने काम सरकारको हुन आउँछ । मुलुकको नीति निर्माण गर्ने र कार्यान्वयन गर्ने अधिकार सरकारमा नै…
मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने खालको कानुन निर्माणमा संवेदनशील छौँ
प्रदेशसभाको प्रमुख कार्य सरकार निर्माण गर्नु, प्रादेशिक कानुन बनाउनु, प्रदेश सरकारको काम कारबाहीको निगरानी गर्नु र प्रादेशिक जनसरोकारका विषयमा प्रदेशसभामा छलफल गर्नु हो । नेपालको संविधानको भाग १३ मा प्रदेश…
राजनीतिक दलको सुशासन र आन्तरिक लोकतन्त्र बलियो भएन भने मतदान बढ्दैन
दिनेश थपलिया, निर्वाचन आयोगको प्रमुख आयुक्त हुनुहुन्छ । थपलियाकै नेतृत्वमा २०७९ वैशाखमा स्थानीय तहको र २०७९ मङ्सिरमा प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचन सम्पन्न भयो । २०८० वैशाखमा र २०८१ वैशाखमा सम्पन्न भएका…
उपनिर्वाचन भयरहित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न हुन्छ
राष्ट्रिय निर्वाचन आयोगले ०८० फागुन १३ गते इलाम निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदका लागि निर्वाचन तय गरेपछि जिल्लामा अहिले उपनिर्वाचनको चुनावी सरगर्मी बढेको छ । आगामी वैशाख…