उपभोक्ता अधिकार आधारभूत मानव अधिकार हो
अधिवक्ता ज्योति बानिया उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष हुनुहुन्छ । उपभोक्ताको हकहित संरक्षणमा सक्रिय इन्सेकका सदस्य बानियासँग इन्सेक अनलाइनका लागि सम्पादक रमेशप्रसाद तिमल्सिनाले कुराकानी गर्नु भएको छ । प्रस्तुत छ बानियासँग गरिएको कुराकानीको सम्पादित अंशः
उपभोक्ता अधिकार भनेको के हो ?
उपभोक्ताको अधिकार भनेको जनजीविकाको अधिकारलाई भनिन्छ । उपभोक्ता अधिकार अधिकारहरूको पनि मूल अधिकार हो । प्रत्येक वस्तु र सेवा किन्दा उपभोक्ताले कस्तो खाले अधिकार पाउँछन् भनी परिभाषित गरेको विषयलाई उपभोक्ता अधिकार भनिन्छ । उपभोक्ताको छनोटको अधिकार, उपभोक्ताको सुनुवाइको अधिकार, उपभोक्ताको सूचानसँग सम्बन्धित अधिकार, स्वच्छ सुनुवाइको अधिकार, क्षतिपूर्तिको अधिकार, शिक्षाको अधिकार, स्वच्छ वातावरणको अधिकार र आधारभूत वस्तु तथा सेवामा पहुँचको अधिकारलाई दुनियाभर उपभोक्ता अधिकारको रूपमा परिभाषित गरिएको अवस्था छ । यी अधिकारहरू तल्लो तहका जनताका लागि राखिएको अधिकार हो ।
चाडबाडको मुखमा सरकारी निकाय बजार अनुगमनमा बढी सक्रिय हुनुको कारण के होला ?
चार–पाँच ओटा कारणले गर्दा चाडबाडकेन्द्रित अनुगमन हुने गर्छ । यस्तो अनुगमनको यो पहिलो वर्ष होइन । प्रत्येक वर्ष यस्तै हुँदै आएको छ । वस्तु र सेवा सबैभन्दा बढी विक्री हुने बेला भनेको चाडबाडमा नै हो । भदौबाट मङ्सिरको पहिलो साता अत्यधिक चाडबाड पर्ने समय हो । दशैँ नमान्ने परिवारले पनि यही समयमा वस्तु र सेवाको धेरै उपभोग गर्ने गरेको पाइन्छ । यो बेलामा टनेलको तरकारीबाहेक अरू केही पनि उत्पादन हुँदैन । वर्षायाम लगत्तैका महिना भएकाले बाढी पहिरो लगायतका कारण आवतजावतमा पनि समस्या हुने हुँदा बजार असन्तुलित हुन्छ । तसर्थ यतिबेला बढी सक्रियता देखिन्छ । यतिबेला थप सक्रियताको खाँचो पनि हो । यसको तयारी हामी उपभोक्ता अधिकारकर्मीले त चैतबाट नै गर्ने गरेका छौँ । हाम्रो सक्रियताका कारण पनि सरकारी अधिकारीलाई दबाब बढ्छ । उनीहरूलाई दबाब बढेपछि कामको चाप बढ्नु त स्वभाविक नै हो । पहिला एउटा मात्रै सरकार थियो । अहिले त ७ सय ६१ ओटा सरकार छन् । ७ सय ५३ ओटा स्थानीय सरकारको स्थानीय बजार व्यवस्थापन संविधानले नै एकल अधिकारभित्र सुनिश्चित गरेको छ । घरेलु कार्यालय प्रदेश सरकार मातहत पर्छ । उद्योग वाणिज्य तथा उपभोक्त हित संरक्षण निर्देशनालय सात ओटै प्रदेशमा छन् । सङ्घको काम उपभोक्ता हित संरक्षण गर्ने पर्छ । सहायक प्रमुख जिल्ला अधिकारी यसको जिम्मेवार कर्मचारी हुन्छन् । अलिहलि त उनीहरूले ‘टार्गेट’ राखेको हुन्छ । सामान्यतया १ सयभन्दा मुनिको टार्गेट हुनेमा यो बेलामा ३ सयभन्दा बढीकै टार्गेट हुन्छ । जसका कारण अनुगमन बढी भएको देखिनु स्वभाविक नै हो । यो टार्गेट सबैलाई थाहा हुने कुरा पनि भएन । लक्ष्य हासिल नगर्नु भनेको व्यापारीसँग मिलेको अर्थ लाग्ने भएकाले पनि दशैँ तिहारका बेला अनुगमन बढी नै हुने गर्छ ।
उपभोक्ताको हक प्राप्तिका लागि नागरिक दायित्व पनि हुन्छ नि होइन र ? संविधानमा त मौलिक हकसँगै दायित्व पनि लेखिएको छ नि त !
हाम्रो संविधानको धारा ४४ मा उपभोक्ताको हकका बारेमा लेखिएको छ । मौलिक हकमा लेखिएको यो धारामा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा प्राप्त गर्ने हक हुनेछ भनिएको छ । त्यसैगरी गुणस्तरहीन वस्तु र सेवाबाट हानी पुगेमा क्षतिपूर्तिको हक हुनेछ भनिएको छ । संयुक्त राष्ट्रसङ्घले उपभोक्ता संरक्षणको लागि निर्देशिका जारी गरेको छ । यो निर्देशिका प्रत्येक सदस्य राष्ट्रले पालना गर्नुपर्ने दायित्व छ । सदस्य राष्ट्रले प्रत्येक वर्ष गरेको कामको प्रगतिसहितको समीक्षा पेश गर्नुपर्छ । त्यसले के भन्छ भने बजार स्वच्छ राख्ने र उपभोक्ताको संरक्षण गर्ने दायित्व सरकारको हुन्छ । हामीसँग अहिले ७ सय ६१ ओटा सरकार छन् । मौलिक हकको कार्यान्वयन गर्ने जिम्मा पनि सरकारकै हो । यसर्थ उपभोक्ताको हक प्राप्तिका लागि पहिलो दायित्व सरकारकै हो । संविधानको अनुसूचि ८ को क्रम सङ्ख्या १९ मा स्थानीय बजार व्यवस्थापन गर्ने, उपभोक्ता हित संरक्षण गर्ने र उपभोक्ता शिक्षा सञ्चालन गर्ने दायित्व स्थानीय सरकारको छ । अहिलेसम्म ३३ ओटा नगरपालिकाले यसको अभ्यास थालनी गरेका छन् । स्थानीय बजार व्यवस्थापन ऐनमार्फत आआफ्ना नगर क्षेत्रमा काम सुरू गरेको अवस्था विद्यमान छ । अनुसूचि ६ को क्रम सङ्ख्या ११ मा प्रादेशिक व्यापार तथा व्यवसायसँग सम्बन्धित कुरा भनिएको छ । ऐन भने बागमती प्रदेशले मात्रै बनाएको छ । बागमती प्रदेशसभाले प्रादेशिक व्यापार तथा व्यवसाय ऐन बनाएको छ । सङ्घले उपभोक्ता संरक्षण ऐन जारी गरेको छ । यसमा पनि धेरै राम्रा विषयवस्तु छन् । यसलाई क्रमश व्यवहारमा उतार्दै लैजाँदा उपभोक्ताका धेरै हक अधिकार सुनिश्चित हुन्छन् ।
यो विस्तारै प्राप्त गर्ने विषय भन्न खोज्नु भएको हो ?
होइन । उपभोक्ता अधिकार आधारभूत मानव अधिकार हो । योभन्दा ठूलो मानव अधिकार केही हुनै सक्दैन । उपभोक्ता अधिकार नागरिक तथा राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक सबै अधिकारसँग अन्तरसम्बन्धित विषय पर्छन् । त्यसैले यसलाई अलग्याएर हेर्नु हुँदैन । प्रतिनिधित्वको हक पनि उपभोक्ता अधिकार हो । हेर्दा राजनीतिक अधिकार जस्तो देखिए पनि संयुक्त राष्ट्रसङ्घले प्रतिनिधित्वको हकलाई उपभोक्ताको अधिकार भनी व्याख्या गरेको छ । यो त उदाहरण मात्रै हो । हेर्दा अन्य अधिकारजस्तो देखिने तर उपभोक्ताका आधारभूत अधिकारका रूपमा व्याख्या गरिएका यस्ता धेरै विषय छन् ।
अब के गर्नु पर्छ त ?
हम्रो देशमा उपभोक्ता सचेत छन् तर सक्रिय छैनन् । सबैभन्दा पहिला उजुरी गर्नुपर्छ । सक्रिय उपभोक्ताले मात्रै उजुरी गर्छन् । एकदुईपटक उजुरीको सुनुवाइका लागि धाउन थालेपछि वस्तु वा सेवा प्रवहा गर्ने पनि सचेत हुन्छन् । सबैभन्दा ठूलो कुरा त उपभोक्ता र उपभोगका लागि क्रियाशील व्यापारी वा सेवा प्रदायकको सचेतना नै हो । सञ्चार क्षेत्रसँग समन्वय र सहकार्यलाई बढावा दिँदा पनि सचेतनाको पाटोमा निकै फड्को मार्न सकिन्छ । सरकारले सञ्चारगृहसँग सम्झौता गरेर नै काम गर्नका लागि हामी कराइरहेका छौँ सरकारले सुनिरहेको छैन । ढिलो चाँडो सरकारले यो कुरालाई सुनेर व्यवहारमा उतार्नुपर्छ । सधैँ नसुन्ने भन्ने हुँदैन । विस्तारै परिवर्तन भइरहेको छ । कानुनी व्यवस्थापन भइरहेको छ । त्यसलाई लागु गर्ने सन्दर्भमा अझै बढी क्रियाशीलताको खाँचो छ ।
सम्बन्धित अन्तरवार्ताहरू
शान्ति प्रक्रियाका कामलाई राजनीतिक दाउपेच र लापरबाहीको शिकारबाट मुक्त गर्नु आवश्यक छ
नेकपा एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, दश वर्ष लामो नेपाल सशस्त्र द्वन्द्व, विस्तृत शान्ति सम्झौता तथा सङ्क्रमणकालीन न्यायिक प्रकृयालाई नजिकबाट नियाल्ने नेताका रूपमा परिचित हुनुहुन्छ। विस्तृत शान्ति…
हाम्रा राजनीतिक दल र जनप्रतिनिधिहरू जनअपेक्षा पूरा गर्ने दायित्वमा इमान्दार उत्रन सक्नुपर्छ
पूर्वसभामुख दमननाथ ढुङ्गाना नेपालको मानव अधिकार लोकतन्त्र तथा नागरिक स्वतन्त्रता सुपरिचित वरिष्ठ व्यक्तित्व हुनुहुन्छ। दश वर्ष लामो सशस्त्र द्वन्द्वका क्रममा उहाँले स्व. पद्मरत्न तुलाधारको नेतृत्वमा सशस्त्र द्वन्द्वरत पक्षलाई शान्ति प्रकृयामा ल्याउन मध्यस्थकर्ताका…
भयरहित वातावरणमा मतदाताले मतदान गर्ने वातावरण निर्वाचन आयोगले बनाउनेछ
नेपाल सरकारसँगको परामर्शका आधारमा निर्वाचन आयोगले रिक्त रहेका स्थानीय तहका जनप्रतिनिधि छनौटका लागि ०८१ मङ्सिर १६ गते स्थानीय तह उपनिर्वाचन ०८१ सञ्चालन गर्दैछ । निर्वाचनका लागि आयोगले ०८१ असोज १०…
नागरिकको आधारभूत मानव अधिकारको संरक्षण गर्ने दायित्व राज्यको हो
लुम्बिनी प्रदेश सरकारले प्रदेशवासीहरूको मन छुने गरी के कस्ता नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । प्रदेशलाई समृद्ध बनाउन र मानव अधिकारमैत्री संस्कारको विकास गर्नका लागि के कसरी काम…
मानव अधिकार रक्षकसम्बन्धी कानुन आवश्यक छ
लुम्बिनी प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा ०८१ साउन ७ गते नियुक्त भएपछि चेतनारायण आचार्यले प्रदेश सरकारको औचित्य स्थापित गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । सरकारको नेतृत्व गरेको करिव दुई महिना पुग्नै…