अभ्यस्त रहने गर्दा मानसिक स्वास्थ्य राम्रो हुन्छ

कृपा सिग्देलमनोविज्ञ हुनुहुन्छ । सिग्देल पद्मकन्या क्याम्पसको मनोविज्ञान सङ्कायमा अध्यापन गर्नुहुन्छ भने साइकविज्ञान नेटवर्क नेपाल (पीएनएन)को कार्यकारी निर्देशक हुनुहुन्छ । प्रस्तुत छ उहाँसँग इन्सेक अनलाइनका लागि सम्पादक रमेशप्रसाद तिमल्सिनाले कोभिड सङ्क्रमणको यो अवस्थामा मानसिक स्वास्थ्यको हेरविचारका सन्दर्भमा गर्नु भएको कुराकानी :

अहिले हामी कोभिड–१९ को दोस्रो लहरको चपेटामा छौँ । यस्तो बेलामा के गर्‍यौँ भने मानसिक स्वास्थ्यलाई स्थिर राख्न सकिन्छ 

पक्कैपनि अहिले धेरै समस्याहरू छन् । जस्तै डराउनेअनिश्चितता महसुस गर्नेएक्लै भएको महसुस् गर्ने । यस्ता समस्या हामीले देखिरहेका छौँ । कोरोनाको त्रास छ । कतिले आफ्नो रोजगारी गुमाउनु परेको पीडा छ । आफैँ  सङ्क्रमित भएकोआफ्नो परिवार सङ्क्रमित भएको वा साथीभाइ तथा परिवारकै सदस्य पनि गुमाउनु परेको अवस्था छ । यस्ता घटनाले नकारात्मक असर पर्छ । यस्तो अवस्थामा आत्तिएर मात्रै हुँदैन । हामीले पहिलाको जस्तै दिनचर्या अहिले छैन । त्यसले झनै अप्ठेरो हुने हुँदा केही न केही काममा व्यस्त भइरहनु पर्छ । धेरै सोच्ने गर्नु हुँदैन । सकेसम्म पहिलाको जस्तै दिनचर्या अपनाउनु पर्छ । बाहिर हिँडडुल गर्न नमिलेपनि घरभित्रको काममा धेरैभन्दा धेरै समय बिताउनु राम्रो हुन्छ । केही नयाँ कुरा सिक्नपढ्न वा करेसाबारीको काम गर्न सकिन्छ । यो समयमा कौसी खेति पनि उपर्युक्त हुन्छ ।

हामी शारीरिक स्वास्थ्यमा बढी जोड दिनु पर्छ भनिरहेका छौँ । त्योभन्दा बढी महत्वपूर्ण मानसिक स्वास्थ्य हो भन्ने बुझ्न र बुझाउन जरूरी छ । शारीरिक स्वास्थ्य राम्रो भएन भने मानसिक स्वास्थ्य पनि राम्रो हुँदैन । त्यसैले योगा/व्यायम गर्नुपर्छ । के गर्न सकिन्छ गर्नुहोस् । यति गर्न सकेपनि अनिश्चितता वा त्रास चाहिँ कम हुन्छ । 

तपाइँलाई गार्‍हो भइरहेको छ भने त्यसलाई स्वीकार गर्नुपर्छ । यो सबैले भोगेको कुरा हो । मैले मात्र होइन । अरु पनि निको भएका छन् । मपनि निको हुन्छु भनेर स्वीकार गर्नु नै पर्छ । नकारात्मक समाचारको बाढी नै छ । त्यसले पनि त्रास बढाउने काम गरेको छ । त्यस्ता समाचार सकेसम्म नहेर्नु राम्रो हुन्छ । आफू सुरक्षित बस्नु भएको छ भने त्रासदीपूर्ण समाचार सुन्दैमा आत्तिनु हुँदैन । 

भौतिक दुरी कायम गर्नु भन्नुको साटो सामाजिक दुरी भन्ने गरिएको छ । हामीले सामाजिक दुरी त भर्चुअल माध्यमबाट निकट गराउने हो । कुराकानी र अन्तरक्रियालाई बढाउने हो । त्यसबाट पनि हामी सहज महसुस गर्न सक्छौँ । भेटघाटलाई बन्द गर्नुपर्छ । परिवारका सदस्यसँग पनि आवश्यक मापदण्ड अपनाएर मात्रै भेटघाट गर्नु पर्छ । 

नकारात्मक सोचले नै मानोसामाजिक समस्या आउने हो ?  

धेरै कारण हुन्छन् । त्यसमध्ये एउटा महत्वपूर्ण कारण चाहिँ नकारात्मक सोच हो । वंशाणुगत कारण पनि हुन सक्छ । नकारात्मक सोच हटाउन सक्दा मानसिक समस्या नहुने वा कम हुने हुन्छ । केही गलत भइरहेको छ वा केही छैन भन्ने भावना जागृत भयो भने हामीलाई त्यसले तान्छ । साइकोलोजीमा ‘नेगेटिभिटी बायोस’ भन्छौँ । नराम्रो घटना छ भन्ने समाचार आयो भने हामी पन्छाउँदैनौँ कि खोलेर हेर्छौँ । नकारात्मकताले हामीलाई आकर्षित गर्छ । सकेसम्म यसबाट अलग रहने कोशिश गर्नुपर्छ । त्यसो भन्दैमा सूचना र जानकारी हासिल नगर्नु भन्न मिल्दैन । सूचना छानेर लिने बानीको विकास गर्नुपर्छ । त्यो बानीको विकास यहि बेलामा गर्न सक्यौँ भने निकै राम्रो हुन्छ ।

उपचार गर्न नसक्ने अवस्था आयो भनेर अस्पतालले हात ठड्याउन थालेको र सरकार स्वयम्ले उपचार गर्न नसक्ने भन्दै आएको छ । यस्तो बेलामा सकारात्मक हुन त कठिन छ नि ! 

कठिन छ । यस्तो बेलामा परिवारको ठूलो भुमिका हुन्छ । आवश्यक भौतिक दुरीसहित नियमित रूपमा पारिवारिक जमघट हुने र छलफल गर्ने गर्नुपर्छ । एक्लाएक्लै बस्नुभन्दा परिवारका सदस्य एकै ठाउँमा बसेर कुराकानी गरेमा नकारात्मकतालाई कम गर्न सकिन्छ । त्यतिबेला राम्रो पक्ष र नराम्रो पक्षका बारेमा छलफल गरेर निश्कर्ष निकाल्न सकिन्छ । यसले मानसिक स्वास्थ्य बलियो बनाउन निकै ठूलो भुमिका खेल्छ । सरकारले उपचार गर्न नसक्ने भन्न मिल्दैन । अवस्था भयावह हुन लागेको सन्दर्भमा सुरक्षित रहन आग्रह गर्ने हो । हाम्रो मुलुकमा धेरै सङ्क्रमित एकैपटक भएमा उपचार गर्न कठिन हुन्छ भन्नुत स्वभाविक नै हो तर उपचार गर्न नसक्ने भनी हात ठड्याउन मिल्दैन । 

यस्तो बेलामा बालबालिकाका पक्षमा के गर्नुपर्छ 

बालबालिकाको स्वभाव नै बाहिरतिर जाने खेल्ने हुन्छ । उनीहरूका लागि परिवारले दिने समय निकै महत्वपूर्ण हुन्छ । परिवारका सदस्य तथा अभिभावकले बालबालिकालाई अभ्यस्त राख्नु पर्छ । जसका कारण बालबालिकाको मानसिकतामा नकारात्मकता प्रवेश गर्न पाउँदैन । विद्यालयको पढाइ मात्रै पढाइ हैन । उनीहरूको आनीबानीबारेको सिकाइ पनि निकै महत्वपूर्ण हुन्छ । पकाउनलुगा धुनभाँडा माझ्नकरेसाबारीमा काम गर्न सिकाएर पनि अभ्यस्त राख्न सकिन्छ । चित्र बनाउन लगाउन तथा उनीहरूको रूची अनुसारका काम गराउनसकिन्छ । जसका कारण बालबालिका थप सिर्जनात्मक हुन सक्छन् । अभिभावकले बालबालिकासँग धेरैभन्दा धेरै समय बिताउनु पर्छ । बालबालिकाले बुझ्दैनन् भनेर उत्तर नदिने चलनको अन्त्य गर्नुपर्छ । जस्तै हामीले बालबालिकालाई बाहिर जान हुँदैन मात्रै भन्छौँ । तरकिन जानु हुँदैन बाबा/ममी भनेर बालबालिकाले सोधेमा मैले जान हुँदैन भनेपछि जान हुँदैन भन्छौँ । बाहिर जाँदा कोभिडका सङ्क्रमण भएका व्यक्तिसँग भेट हुन सक्छ । त्यहिँबाट हामीले सङ्क्रमण ल्याउन सक्छौँ । हामी सबै त्यही भएर घरै बसेको हो भनेर बुझाउन प्रयत्न गर्‍यौँ भने उनीहरूले बुझ्छन् । बालबालिकालाई सुन्ने र उनीहरूलाई भन्ने गर्नुपर्छ ।

कोभिडको सङ्क्रमण नहुञ्जेल जोगिने र लागिसकेपछि आत्मबल दरो बनाएर जित्न प्रयत्न गर्ने भन्दा अरु विकल्प के छ ?  

पक्कै पनि ! कोरोना लागिसकेपछि आत्मबल दरो बनाउनुको विकल्प छैन । प्रतिरोधात्मक क्षमता भनेर हामी शारीरिक स्वास्थ्यलाई जोड दिन्छौँ । मानसिक स्वास्थ्यलाई जोड दिनु पनि उत्तिकै जरूरी छ । हाम्रो सोचाइले पनि असर गर्ने हुँदा सकारात्मक मानसिकताको आवश्यकता पर्छ । धेरै जना निको भएका छन् म पनि त्यसैमा पर्छु भन्ने सोच राख्दा पनि आत्मबल बढ्छ । अलिक समस्या बढ्यो भने डाक्टरले दिएका औषधिको प्रयोग गर्ने र डाक्टरको सल्लाह मानेर सोही अनुरूपका गतिविधि गर्नुपर्छ । कोरोना जित्न आत्मबलले निकै सहयोग गर्छ ।