लोकतन्त्रबाट लोककै जय !
रमेशप्रसाद तिमल्सिना
२०६२ सालको मङ्सिर महिनामा सात राजनीतिक दल तथा तत्कालिन बिद्रोही नेकपा माओवादीबिच १२ बुँदे सहमति भयो । पटकपटक हरण भएको लोकतन्त्र फर्काउने महत्वपूर्ण सहमति बन्यो १२ बुँदे समझदारी । २००७ सालमा स्थापित लोकतन्त्र २०१७ सालमा नै राजा महेन्द्रद्वारा निमोठ्ने काम भयो । ठूलो सङघर्ष र बलिदानीपछि २०४६ सालमा पुनर्स्थापना गरिएको लोकतन्त्र फेरि राजा ज्ञानेन्द्रबाट लुटियो । राजा ज्ञानेन्द्रबाट २०५९ असोज १८ गते र २०६१ माघ १९ गते प्रजातन्त्रलाई निमोठ्ने काम भयो । तत्पश्चात राजतन्त्ररहितको लोकतन्त्रको परिकल्पना गर्दै अर्को आन्दोलन गरियो । २०६२/०६३ सालमा १९ दिनसम्म नागरिकहरू आन्दोलनमा होमिए । २०६३ साल वैशाख ११ गते फेरि देशमा लोकतन्त्र स्थापना भएको घोषणा गरियो । लोकतन्त्रको पछिल्लो प्राप्ति भएको समय पनि १८ वर्ष गुज्रिसकेको छ । यो अवधिमा धेरै सकारात्मक काम भएका छन् । तर, केही गर्नै नसकिएका कामले गर्दा लोकतन्त्रमाथि नै प्रश्नहरू आउन थालेका छन् । यस्ता प्रश्न शासकप्रशासकलाई दिग्दारीका विषय भएपनि नागरिक तहबाट आएका स्वभाविक प्रतिक्रिया हुन् ।
प्रजातन्त्र वा लोकतन्त्र शब्दको जालमा अल्झाएर राजसँस्थाबाट पटकपटक जनताका अधिकारहरू हरण गरेका कारण २०६२/०६३ सालमा जनताको बलमा राजतन्त्रको जरोमूलो उखेलिएको हो । सर्वसाधारण जुनसुकै बेलामा सडकमा ओर्लँदैनन् । उनीहरूको विवेकले सडकमा आएर निरङ्कुशता फाल्नुपर्ने जब देख्छन् तब मात्रै ज्यानको बाजी लगाएर सडकमा ओर्लन्छन् । त्यसैको पछिल्लो सृङ्खलाका रुपमा आम नागरिक सडकमा ओर्लेका हुन् । आम नागरिकको बलिदानीबाट प्राप्त लोकतान्त्रिक संरचनाको संस्थागत विकास र लोकतान्त्रिक संस्कारका लागि दलहरूका तर्फबाट कामको अगुवाई गर्नुपर्छ । त्यसको अनुशरण आम नागरिकले पक्कै गर्नेछन् ।
२००७ सालमा आम नागरिक सडकमा ओर्लंदा निरङ्कुश जहाँनियाँ राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाको नारा लिएका थिए । आम नागरिकले आन्दोलन त सफलतामा पुर्याए तर प्राप्त उपलब्धिको रक्षा गर्दैगर्दा अर्को निरङ्कुशताको जन्म भयो । २०१७ सालसम्म पनि प्राप्त उपलब्धिको रक्षा गर्न नसक्दा तत्कालीन राजा महेन्द्रबाट लोकतन्त्रमाथि राजनीतिक ‘कू’ भयो । जुन नेपाली लोकतान्त्रिक इतिहासमा कालो धब्बाका रुपमा रहिरहेको छ । प्रजातान्त्रिक शक्तिले २०१७ साल पुस १ गतेको त्यो दिनदेखि यता पुस १ गतेलाई कालो दिनका रूपमा स्मरण गर्ने गरेका छन् । निरङ्कुशताको अन्त्यका लागि नेपालीले अर्को ३० वर्षसम्म क्रान्तिको आन्तरिक र बाह्य तयारी गरेपश्चात हरण भएको लोकतन्त्र २०४६ सालको अन्त्यमा फित्र्याइयो । यतिबेलासम्म नेपाली समाज निकै सचेत र जागरुक भैसकेको थियो । जागरण र जनताको बलका अगाडि निरङ्कुशता टिक्न सकेन । तर, २०४६ सालको उपलब्धिलाई शुरुदेखि सङ्घर्षशील र त्यसयता उदयीमान भएका राजनीतिक दलहरूले रक्षा गर्न सकेनन् । जनताको चाहनाअनुसारका काम गर्न राजनीतिक दल चुके । बहुमतका सरकारसमेत अस्थिरताका शिकार बने । दलहरूबीच असमझदारी बढ्यो । यसैको दाउमा रहेका ज्ञानेन्द्रबाट २०५९ र २०६१ मा पिताकै पथको अनुशरण गर्दे राजनीतिक ‘कू’ भयो । त्यसपछि मात्रै राजनीतिक दलहरूलाई एकता र विश्वासको चेत आयो ।
लोकतन्त्रले दुष्ट र भ्रष्टाचारी निरङ्कुश शासकहरूको सरकार बन्ने कुरामा रोक लगाउन मद्दत गर्छ । आफ्ना नागरिकहरूलाई विभिन्न किसिमका मौलिक अधिकारहरूको प्रत्याभूति दिन्छ जुन कुरा अप्रजातान्त्रिक (निरङ्कुश) प्रणालीले प्रदान गर्दैन । र, गर्न पनि सक्दैन । नागरिकहरूको व्यक्तिगत स्वतन्त्रता लोकतन्त्रले मात्र सुनिश्चित गर्छ । त्यसैगरी लोकतन्त्रले आम जनतालाई उनीहरूको आफ्नै मौलिक हीतहरूको संरक्षण गर्न मद्दत गर्छ । लोकतान्त्रिक सरकारले मात्रै सबै व्यक्तिलाई आत्मनिर्णयको स्वतन्त्रता प्रयोग गर्ने अत्यधिक अवसर उपलब्ध गराउन सक्छ । जुन अरु कुनै पनि किसिमका सरकारले गर्न सक्दैन । त्यसैले अधिकारकर्मीहरू लोकतान्त्रिक व्यवस्थाको खुलेर समर्थन गर्ने र लोकतान्त्रिक व्यवस्थाको स्थापनार्थ आन्दोलित हुने गरेका हुन् ।
लोकतन्त्रको विकल्प भनेको उन्नत लोकतन्त्र मात्रै हो । राम्रो गर्नेलाई पुरस्कार । नराम्रो गर्नेलाई तिरस्कार र लोकतन्त्रको लोकतान्त्रिक विकल्प नखोज्नेलाई बहिष्कार । यिनै हुन् लोकतन्त्रको सुन्दरता । तर, हाम्रो बुझाइ र गराइ हेर्दा लोकतन्त्र प्राप्तिका १८ वर्षमा राजनीतिक नेतृत्व र नागरिकले यही काम चाहिँ बाँकी राखेका छन् । लोकतन्त्रलाई लिकमा हिँडाउन निर्वाचन गरिन्छ । निर्वाचनमा अभिव्यक्त जनमत लोकतन्त्रको प्राण हो । निर्वाचनलाई शक्ति परीक्षणको रुपमा मात्रै लिनु हुँदैन । जनमत लोकतन्त्रलाई बलियो र सुदृढ बनाउनका निमित्त प्रकट गरिएको अभिव्यक्तिका रुपमा बुझ्नु पर्दछ । लोकतन्त्रमा मात्रै नागरिकले आफ्नो वास्तविक चाहना प्रकट गर्न पाउँछ । यसले लोकतन्त्रलाई उन्नत र समृद्ध बनाउन बल पुगेको अर्थमा लिइनु पर्छ । त्यही अभ्यासभित्रको एउटा पाटो मात्र हो परिणाम । २०७२ सालमा संविधान बनेयता निर्वाचनका मात्ध्यमबाट प्रतिनिधिसभाका दुई ओटा, प्रदेशसभाका दुई ओटा र स्थानीय तहका दुई ओटा निर्वाचन सम्पन्न भई त्यसबाट निर्वाचित जनप्रतिनिधिले शासनसत्ता सञ्चालन गरिरहेका छन् । यही हो लोकतान्त्रिक यात्रा ! राम्रो गर्ने पार्टी र व्यक्तिले अर्कोपटक पनि चुनाव जित्छ । जसले जनताके मन जितेको छ अर्को चुनाव पनि उसैले जित्छ । राम्रो नगर्नेले वा राम्रो गर्न नसक्नेले अर्कोपटक जित्दैन । यति फैसला गर्न चाहिँ नागरिक सक्षम हुनै पर्छ । नागरिकलाई सक्षम बनाउन राज्यका सबै अङ्ग र संयन्त्र परिचालन हुनु आवश्यक छ ।
लोकतन्त्र र मानव अधिकार एक अर्काका परिपूरक हुन् भनिन्छ । तर, पछिल्लो समय २०६२/०६३ सालको परिवर्तनपछि लोकतन्त्रको स्थापना त भयो । मानव अधिकारका मुद्दामा त्यसयता सोचे अनुरुपका काम हुन सकेनन् । हिंसात्मक द्वन्द्वबाट शान्तिको बाटोमा लम्केको राजनीतिक अवस्थामा सङ्क्रमणकालका नाममा मानव अधिकारमैत्री कामहरू हुन नसक्दा द्वन्द्वपीडित तथा आम मानव अधिकार समुदाय अझै पनि मानव अधिकार बहालीका लागी सङ्घर्षरत छन् । द्वन्द्वकालका मानव अधिकार उल्लङ्घनकर्ताहरूलाई कारवाही र पीडितको मागलाई सङ्क्रमणकालका नाममा उन्मुक्ति दिन हुँदैन । मानव अधिकारको सम्मान गरे मात्र लोकतन्त्र रहने कुरामा दुईमत छैन ।
सत्तालिप्सा छाडेर सहकार्य, स्वार्थ छाडेर सपना र समृद्धि, विवाद छाडेर संवाद कायम गर्न सकेमा लोकतन्त्रमा अवश्य पनि लोकको जय हुन्छ । लोकतन्त्रले सबैलाई प्यारो लाग्ने परिणामहरू पनि उत्पन्न गराउँछ । दमनकारी शासनको अन्त्य, आधारभूत अधिकारहरूको बहाली, आम स्वतन्त्रता, आत्म निर्णयको अवसर, नैतिक स्वायत्तता, मानवीय विकास, अत्यावसेक नीजि हीतहरूको संरक्षण, राजनीतिक समानता, शान्तिको स्थापना र सम्बृद्धि प्राप्तिका विषयमा राजनीतिक संवेदनशीलता बढ्न गएमा लोकतन्त्रको जोगावट हुने कुरामा दुईमत छैन ।
प्रजातन्त्र अर्थात लोकतन्त्रले प्रभावकारी सहभागिता, मतदानको समानता, सुशिक्षित समझदारीको विकास, कार्यसूचि उपर अन्तिम नियन्त्रणको अभ्यास, सम्पूर्ण वयस्कहरूको संलग्नतालाई सुनिश्चित गर्नुपर्छ । जुन विगतमा गर्न सकिएन वा गर्ने मनसाय राखिएन । जनतालाई बाहिर राखेर कुनै पनि काम नगर्नु लोकतन्त्रको सुन्दर पक्ष हो । यहि पक्षलाई दलका नेताहरूले भुलेनन् भने आगामी दिनमा लोकतन्त्रको सँस्थागत विकास सुनिश्चित छ ।
सम्बन्धित विचार मञ्चहरू
नेपालको सङ्घीयताः अन्तरसरकारी वित्तीय हस्तान्तरण सुधारका सवाल
भूमिका वित्तीय सङ्घीयता वित्तीय स्रोत र साधन (काम सहित) को न्यायोचित बाँडफाँट लगायतसँग सम्बन्धित छ । कामलाई दामले पछ्याउनु पर्दछ भन्ने सामान्य सिद्धान्त छ । चाहे एकात्मक व्यवस्था होस चाहे…
नेपालमा सङ्घीयताको अभ्यास र मानव अधिकारका सवाल
नेपालजस्तो लोकतान्त्रिक मुलुकहरूले मानव अधिकारको संरक्षण र सम्वर्धनका विषयलाई संविधान तथा कानुनमा उल्लेख गरी त्यसको परिपालनालाई महत्व दिएका हुन्छन्। मानव अधिकार उल्लङ्घन तथा ज्यादतीबाट कोही पनि पीडित नहोेस् भनी उनीहरूको…
सङ्घीयतापछिको नेपाल : आशाको सञ्चार, समृद्धिको यात्रा !
सङ्घीयता भनेको दुई वा दुईभन्दा बढी तहको सरकार हो। जनताबाट निश्चित भएको सार्वभौम सत्ता तहगत सरकारबाट, तहगत व्यवस्थापिकाबाट प्रयोग हुने व्यवस्था हो। मेरो अध्ययनमा अहिले विश्वका ३० ओटा मुलुकमा सङ्घीय…
लुम्बिनी प्रदेश, सङ्घीयता चुनौती र सम्भावना
ऋषि आजाद लुम्बिनी प्रदेशको पहिचान लुम्बिनी प्रदेश नेपालको संविधान २०७२ असौज ३ मा भएको राज्य विभाजनपछि बनेका सात प्रदेशहरु मध्ये एक हो । यो नेपालको चौथो ठूलो जनसंख्या भएको प्रदेश…
जेलः सजाय, सुधार प्रणाली कि शक्ति प्रयोगको माध्यम ?
केशव सिग्देल यो सङ्क्षिप्त लेखमा जेलको विकास र यसले व्यक्ति र समाजलाई पारेका प्रभावका बारेमा केही समाज वैज्ञानिक छलफल गरिएको छ। यस लेखको उद्देश्य नेपाल वा विश्वमा हाल जेलको अवस्था…