'म जहाँ छु प्रकाश त्यहीँ'

सुशील प्याकुरेल 

दुर्घटनामा परी प्रकाशको निधन भएको निकै लामो अवधि भयो । २०४९ साल साउन १६ गते हवाइ दुर्घटनामा परी प्रकाशको निधन भएको हो । मानिसको जीवन कसैको लामो हुन्छ कसैको छोटो हुन्छ । त्यो भनेको भौतिक रूपमा बाँच्ने कुरा हो । तरमानिसका योगदान चाँहि सधैँ बाँचेकै हुन्छन् । यतिका वर्ष बितेपनि इन्सेकले प्रकाशको निधन भएकै दिनमा प्रकाश मानव अधिकार पुरस्कार वितरण गर्ने गरेको छ । यसैबाट बुझिन्छ कि प्रकाशका योगदानहरू चीरस्थायी छन् । प्रकाशकै अगुवाईमा नेपालको पहिलो मानव अधिकार संस्था मानव अधिकार संरक्षण मञ्चको स्थापना भएको हो । त्यो पनि पञ्चायत कालमै ! त्यो गरेबापत प्रकाशम र अरू साथीहरूले धेरै दुःख पनि पायौँ । मानव अधिकार संस्था खोलेकै कारण जेल जानु पर्ने स्थितिसम्म आयो । आज नेपालमा धेरै मानव अधिकार संस्थाहरू छन् । प्रकाशको निधन भएको वर्षमा गन्दा लामै अवधि भएपनि मलाई साथै भएजस्तो लाग्छ । धेरै समय भएजस्तो लाग्दैन । प्रकाशले छाडेर गएका मानव अधिकारका कामहरू अझै चुनौतीपूर्ण बन्दै आएका छन् । 

प्रजातन्त्र पुनर्स्थापनापछि २०४८ सालमा संसदीय चुनाव भयो । त्यो बेलामा प्रकाशकै सोच अनुसार निर्वाचन पर्यवेक्षण समिति बनाएर काम गरियो । मानव अधिकार अभियानमा प्रकाशको नाम आउँदा मसँगै हुन्छु । प्रकाश मलगायत ५–७ जनाको एउटा समिति बनाएर निर्वाचन पर्यवेक्षणको अभियान चलायौँ । निर्वाचन पर्यवेक्षणको हाम्रो अनुभव लिएर अरू देशमा निर्वाचन पर्यवेक्षणको सिलसिला चलेको छ । त्यतिमात्रै होइन एशिया स्तरमा पर्यवेक्षण गर्न आन्फ्रिल (एशियन नेटवर्क फर फ्रि इलेक्शन) को स्थापना गरियो । त्यसको संस्थापक म हुँ । प्रकाश पनि हो । नेपालमा निर्वाचन पर्यवेक्षणको परिकल्पनासहित अभियान चलाएकाले प्रकाश हो । म किन हुँ भने मैले संस्था नै बनाएँ । मलगायतका केही साथीले त्यो गठन गरेका हौँ । म संस्थापक उपाध्यक्ष हुँ । Prakash Kafle

त्यस्तै प्रकाशको भनाई थियो–‘जब मानव अधिकार घरघरमा पुग्दैन तबसम्म आम नागरिकले मानव अधिकार उपभोग गर्न पाउँदैनन् । त्यसैले मानव अधिकारको चेतना भनेको घरघरमा हुनुपर्छ । यो सरकारले मात्रै गर्ने काम होइन । हरेक व्यक्ति मानव अधिकारप्रति सचेत हुनुपर्छ ।’ आज देशभर सयौँ मानव अधिकार संस्थाहरू मानव अधिकार सचेतनाका कार्यक्रम सञ्चालन गर्न क्रियाशील छन् । रनेपालमा सामान्य नागरिक पनि मानव अधिकारको विषयमा धेरै सचेत र चनाखो छन् । प्रकाशले समाजमा के योगदान गरेको छ भनेर केलाउनकै लागि हामी उसको देहान्त भएको दिन विविध कार्यक्रम गरी स्मरण गर्छौँ । मान्छे जन्मनु नै महान कुरा होइन । बाँचेको अवधिमा उसले गरेका योगदान चाँहि महान हो । आज हामी तिनै कामलाई स्मरण गरिरहेका छौँ । 

यो कुनै अतिशयोक्तिको कुरा गरिराखेको छैन मैले जहाँ मानव अधिकार त्यहाँ प्रकाश । नेपालको सन्दर्भमा यति भन्ने बाटो राखेर मात्रै प्रकाश विदा भएको हो । नेपालमा मानव अधिकारका कुरा गर्नेहरू अरु पनि हुनुहुन्थ्यो । प्रकाशले चाँहि हाम्रो मानव अधिकार बहालीका लागि हामी आफैँले नै काम गर्नुपर्छ । संस्था बनाउनु पर्छ भनेर दृढताका साथ काम गरेकै हो । त्यसमा अरु पनि सँगसँगै छौँ । 

२०४६ सालको जनआन्दोलनमाबाममोर्चाका तर्फबाट साहना प्रधानले र नेपाली कांग्रेसका कृष्णप्रसाद भट्टराईले संयुक्त आन्दोलन गर्न बनाइएको सहमतिमा मानव अधिकारको शब्दावली राख्नु भएको छ । त्यसका लागि प्रकाशको योगदान अतुलनीय छ । हामीले नेताहरूलाई कन्भिन्स गर्न निकै प्रयत्न गर्‍यौँ । त्यो पहिलो दस्तावेज हो जहाँ राजनीतिक पार्टीहरूले पनि मानव अधिकारको मागलाई लिएर आन्दोलनमा होमिए । त्यसैले नेपालको मानव अधिकार आन्दोलन भनेको राजनीतिक आन्दोलन पनि हो । प्रजातान्त्रिक आन्दोलन सँगसँगै हात्तेमालो गरेर हिँडेको आन्दोलन हो । 

प्रकाश हुँदैखेरि मानव अधिकार आयोग चाहिन्छ भनेर संसदको माथिल्लो सदन (राष्ट्रिय सभा) मा सुवाषचन्द्र नेम्वाङबाट पहिलो प्रस्ताव पेश गरिएको हो । त्यो काम प्रकाश काफ्लेले गरेरै भएको हो । आज मानव अधिकार आयोग संवैधानिक भइसकेको छ । त्यति मात्रै होइन विषयगत आयोग पनि बनाइसकेका छौँ । 

प्रकाशसँगका पल र उसका पहललाई एकैछिनमा भन्न सकिँदैन । यसरी हेर्दा प्रकाशलाई हरेक दिन भेट हुन्छ । त्यही भएर म जहाँ छु प्रकाश त्यहिँ छ । प्रकाश मानव अधिकारको क्षेत्रमा उज्यालो बनेर रहिरहेको छ । प्रकाश साँच्चै प्रकाश हो । उज्यालो प्रकाश ! 

(इन्सेक संस्थापक अध्यक्ष एवम् राष्ट्रपतिका राजनीतक तथा मानव अधिकार विज्ञ प्याकुरेलसँग रमेशप्रसाद तिमल्सिनाले गर्नुभएको कुराकानीमा आधारित)