प्राची मानव अधिकारको लेखन मञ्च बनोस्

सुशील प्याकुरेल

Highlight Prachee

उबेलामा एसएलसी उतीर्ण भइसकेपछि केही गर्नुपर्छ भन्ने थियो । विद्यालय छाडेर बाहिर आउने भनेको अहिलेको स्नातक गरेसरहकै दृष्टिले हेरिन्थ्यो । एसएलसी पास हुनेले पनि त्यस्तै अनुभव गरिन्थ्यो । ठूलो भएको महसुस हुन्थ्यो । म र प्रकाश (प्रकाश काफ्ले) महोत्तरीको गौशालामा त्रिभूभव अङ्ग्रेजी विद्यालयमा कक्षा ६ देखि सँगै पढेका हौँ । त्यहाँ प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप गरिन्थ्यो । कसैले विद्यालयकै करेसाबारीमा ‘क्यारी’ गर्थे । क्यारी भनेको चाहिँ करेसाबारीमा केही लगाउने, उब्जाउने, गोडमेल गर्ने हो । हामी चाहिँ वादविवाद प्रतियोगितामा भाग लिन्थ्यौँ । त्यतिबेला भित्ते पत्रिका त थिएन । तर, हामी केहीकेही लेख्ने गरिरहेका हुन्थ्यौँ । यो २०२०–२०२१ साल तिरको कुरा हो । कक्षा ८ सम्म हामी जनकपुरमा पढ्यौ । त्यसपछि म धरान गए प्रकाश काठमाडौँ ।  एसएलसी पास भएपछि  हामी दुवै जनाको काठमाडौँमा भेट भयो  । २०२८ सालदेखि म व्यापार प्रवर्धन केन्द्रमा काम गर्न थालेँ । त्यतिबेला हामी दुवै जना नक्सालमा एउटै कोठामा बस्थ्यौँ । २०२६ साल ताका झापा विद्रोह सुरु भएको थियो । झापा विद्रोहकै ताका काठमाडौँमा पनि प्रगतिशील साहित्यिक गतिविधि केही जुर्मुराएको थियो । शक्ति लम्साल, रामचन्द्र भट्टराईलगायतका व्यक्तिहरूसँग हाम्रो भेट भइरहन्थ्यो । त्यतिबेला नै हामीलाई केही न केही गर्नुपर्छ भन्ने हुटहुटीले सताइरहेको थियो । पत्रकारितामा प्रकाशको ज्यादा चासो थियो । व्यापार प्रवर्धन केन्द्रमा काम गरेकाले मेरो चिनजान व्यापारीहरूसँग बढ्यो । राजारानीको जन्मोत्सव, संविधान दिवस, प्रजातन्त्र दिवसजस्ता अवसरमा मात्रै विज्ञापन पाइन्थ्यो । यो आफ्नो ठाउँमा छ ।

खासमा प्रगतिशील साहित्यमा लाग्नु पर्छ भनेर नै हामीले पत्रिका चलाउने निधो गर्‍यौँ । २०२७ सालमा हामीले प्राचीको पहिलो अङ्क निकाल्यौँ । त्यो बेलामा म प्रकाशक र प्रकाश काफ्ले सम्पादक भएर प्राची निकालेका हौँ । पहिलो अङ्कमा मेरो नाम सुशील बन्धु लेखिएको थियो । भूपि शेरचनका कविता, केही प्रगतिशील साहित्यिक रचना र केही गतिविधिसमेत हामीले पहिलो अङ्कमा समेटेका थियौँ । झापा आन्दोलनलाई आधार बनाएर साहित्यिक लेख रचनामार्फत बाम विचारधाराको प्रचार गर्ने हाम्रो मूल उद्देश्य थियो । त्यतिबेला हाम्रो सम्पर्क कसैसित पनि थिएन । तर, आकर्षण भने झापा विद्रोहले तानेको थियो । प्रगतिशील विचारमार्फत सामाजिक न्याय स्थापनाको मूल उद्देश्यका साथ हामीले प्राची सुरु गरेका हौँ । हामीले जति सक्छौँ त्यति योगदान पुर्‍याउने भनेर नै यसको सुरुवात गरेका हौँ । पञ्चायती व्यवस्थाको विरोध गर्न पाइँदैन थियो । तरपनि हामी सामन्तवाद र साम्राज्यवादको विरोध गर्थ्यौँ । त्यतिखेर रुस र चिनको बिचमा सामाजिक साम्राज्यवाद र समाजवाद के हो भन्ने विषयमा निकै ठूलो विवाद थियो । हामी स्वतः चिनबाट बढी प्रभावित थियौँ । ‘लेफ्ट मुभमेन्ट’ त्यतिखेर विभाजित अवस्थामा थियो । बुझेपनि नबुझेपनि हामी पनि त्यस्ता अभियान र छलफलमा सहभागी हुन्थ्यौँ ।

Prachee_cover_2078_Saun

हाम्रो सामाजिक क्रियाकलापलाई अगाडि बढाउने माध्यमका रूपमा हामीले प्राचीको थालनी गरेका हौँ । प्राचीले हामीलाई काठमाडौँ वरपरका बौद्धिक जमातसँग नजिकिने अवसर प्रदान गर्‍यो । प्रकारान्तरले हामीलाई पत्रकारिताको बाटोमा तान्यो । सुबोध (सुबोधराज प्याकुरेल) पनि त्यतिबेला साहित्यमा कलम चलाउने गर्नुहुन्थ्यो । उहाँका केही कविताहरू प्राचीमा त्यतिबेलै छापिएका थिए । मभन्दा अलि बढी उहाँको कलम साहित्यतिर थियो । लेखनीमा उहाँको बढी लगाव थियो । प्रकाश, सुबोध र म एउटै कोठामा बस्थ्यौँ र कामका बारेमा छलफल गर्ने तथा कामलाई परिणाममुखी बनाउन योजना बनाउँथ्यौँ । प्रकाश र सुबोधको कलम राम्रै चल्ने, परिवर्तनका कुरा गर्न म पनि नगल्ने भएपछि हाम्रो लक्ष्य प्राप्तिको यात्रामा बाधा थिएन ।

हामी थोरै छाप्थ्यौँ । खर्च पनि धेर लाग्दैनथ्यो । पहिला प्रेसमा दिन्थ्यौँ । अलिकति ल्याउँथ्यौँ । अञ्चलाधीशकोमा गएर स्वीकृति लिनु पथ्र्यो । अञ्चलाधीशले स्वीकृति दिएपछि मात्रै बाँड्न पाइन्थ्यो । अञ्चलाधीशले ‘सेन्सर’ गर्थे । त्यहाँ हामीलाई अलि गार्‍हो हुन्थ्यो । प्राची जस्ता पत्रिका दर्ता गर्न निकै गार्‍हो थियो । दर्ता सम्भव पनि थिएन । काठमाडौँमा भर्खर आएका हाम्रो ल्याकत पनि थिएन । सामूहिक सङ्कलन भनेर निकाल्न पाइन्थ्यो । हामीले प्राची सामूहिक सङ्कलनबाटै निकालेका थियौँ । छपाई खर्च आफ्नो नपरोस् भनेर विज्ञापन त लिइन्थ्यो । तर, उठाउन नजानेर हो वा नसकेर खर्च आफ्नै हुन्थ्यो । प्राचीको कुनै एउटा अङ्कमा मोदनाथ प्रश्रितको एउटा कविता छापिएको थियो । त्यो अङ्क अञ्चलाधीशले स्वीकृत नगरी अड्काइदिए । प्रश्रितसँग चिनजान थिएन । त्यो कविता सायद रामचन्द्र भट्टराईले उपलब्ध गराएको होला । कविता राम्रो लाग्यो छाप्यौँ । २०३१–२०३२ सालतिरको कुरा होला यो । मोदनाथको नाम देख्ने बित्तिकै रोकिदियो । निकै छलफल गरेपछि बल्लतल्ल पास भयो । सहायक अञ्चलाधीशलाई साहित्यिक हो भनेर निकै ‘कन्भिन्स’ गरेपछि मात्रै पास भयो र त्यो अङ्क बाँड्न पाइयो । केही समय प्रकाशन गरेपछि हामीले प्रकाशन गर्न नसक्ने अवस्थामा पुग्यौँ । २०३३ सालको विद्यार्थी आन्दोलनपछि पञ्चायतको अलि कडा नजर लाग्यो । त्यतिबेला प्राध्यापकहरू हिरण्यलाल श्रेष्ठ, साहाना प्रधान, अर्जुन नरसिंह केसीलगायतलाई निकालिएको थियो । राजनीतिक चेतना र आन्दोलन बढ्दै जाँदा दमन पनि बढ्यो । त्यस कारणले गर्दा हामीले प्राची प्रकाशन बन्द गर्‍यौँ । हामीले यसबिचमा सगरमाथा प्रेस पनि खोल्यौँ । त्यसले हामीलाई झनै दुःख दियो । छापिएका सामग्रीको पैसा उठाउन नसकेका कारण नाफाको कुरा त परै जाओस् टिक्न र टिकाउन पनि सकेनौँ । विज्ञापन पनि नपाइने, हामीमाथि पनि निगरानी बढाउने क्रियाकलापका कारण प्राचीलाई हामीले निरन्तरता दिन सकेनौँ । २०३६ सालपछि यो बन्द नै भयो । यस बिचमा हामीले केही अङ्क प्रकाशन गर्‍यौँ । (अभिलेखमा नभएकाले ठ्याक्कै अङ्क भन्न सकिएन ।) अहिलेजस्तो अभिलेखका बारेमा बुझेका थियौँ भने सबै अङ्क अहिले सग्लै पाइन्थे ।

प्राचीलाई निरन्तरता दिनका लागि कठिनाइ आएपनि हामीले पत्रकारिताको बाटोलाई भने पहिल्यायौँ । त्यसपछि हामीले समाज दैनिकमा लेख्न थाल्यौँ ।  हामीले ‘सुप्र’ भनेर लेख्थ्यौँ । कहिले ‘सुशील–प्रकाश’ भनेर लेख्थ्यौँ । त्यसकै तर्फबाट हामी भारतमा समेत गयौँ । जनता पार्टीको सरकार बनेपछि हामी त्यहाँ गएका थियौँ । त्यतिबेला इन्दिरा गान्धीले हारेकी थिइन् । प्राचीले हामीलाई फराकिलो बाटो बनाइदियो । जहाँ हामी हुइँकिन सक्थ्यौँ ।

यसबिचमा म राजनीतितिर होमिएँ । शिक्षक आन्दोलन, राजनीतिक आन्दोलन हुँदै प्रजातन्त्रको पुनस्र्थापना गरियो । इन्सेक पहिला रिसर्च सेन्टरका नाममा सञ्चालित थियो । २०४६ सालको परिवर्तनपछि हामीले इन्सेक बनायौँ । इन्सेकलाई सङ्गठित गरेर अगाडि बढाउने निधो गरिसकेपछि प्राचीको निरन्तरताको कुरा आयो । यसमा मानव अधिकारका विषय मात्रै होइन साहित्य पनि हुनुपर्छ भन्ने हाम्रो मान्यता थियो । २०४९ सालमा इन्सेकले प्राचीको निरन्तरता दिएका अङ्कहरूमा साहित्य पनि पाउनुहुन्छ । २०४९ सालमा यसमा कुन्दन (कुन्दन अर्याल) पनि जोडिनु भएको छ । त्यतिबेला खोजपूर्ण पत्रकारिताका रूपमा पनि हामीले प्राचीलाई अगाडि बढाएका थियौँ । प्राचीले माओवादी हिंसात्मक आन्दोलन अघि नै अब मुलुक हिंसात्मक आन्दोलनतिर फस्छ भन्ने खालका खोजमुलक सामग्री प्रकाशन गरेको थियो । रोल्पामा गरिएको प्रहरी ज्यादती र मानिसका प्रतिक्रियाले मुलुक द्वन्द्वतिर जाँदैछ भनेर कुन्दनले नै गरेको स्थलगत रिपोर्टिङ् प्रकाशित छ । मानव अधिकारसँग जोडिएका साहित्य, खोजमुलक सामग्री र विश्लेषण प्राचीले समेट्ने मुलभूत विषय हुन् । सामाजिक परिवर्तन र सामाजिक न्यायका विषयलाई मानव अधिकारका आँखाले हेर्ने र मानव अधिकारकै कलमले लेख्ने पत्रिकाका रूपमा हामीले प्राचीलाई विकास गर्‍यौँ ।

पछिल्ला अङ्कहरूमा प्राचीले मानव अधिकार मात्रै बोल्न थालेको अनुभूति छ । उद्देश्यबाट प्राचीको यात्रा खासै डगमगाएको छैन । त्यसको साहित्यिक ‘फ्लेभर’ केही कम हुँदै आएको महसुस गरेको छु । यसको निरन्तरतामा बेलाबेलामा रोकिएको पाएको छु । मैले खोजेको चाहिँ नेपालमा मानव अधिकारका नवोदित अभियन्ताहरूको फोरम बनोस् भन्ने हो । प्राची र इन्फर्मल दुवैलाई मानव अधिकार लेखन मञ्चका रूपमा विकास गर्नुपर्ने आवश्यकता मैले महसुस गरेको छु । प्राचीलाई अनुसन्धानमा आधारित विषयवस्तुलाई समेटेर मानव अधिकार जर्नलका रूपमा विकास गर्नु पर्छ । अब इन्सेकले बौद्धिक कामहरू गर्नुपर्छ । मानव अधिकार आन्दोलन कहाँ छ ? आन्दोलन परियोजनामूखी भयो भन्छौँ । यदि हो भने किन यस्तो भयो ? अब के गर्ने ? कसरी गर्ने लगायतका खोजमुलक सामग्रीसहितका विषयवस्तु प्राचीले उठाउनु पर्छ । सोधकार्यसहितका सामग्रीले प्राथमिकता पाउने बनाउनु आवश्यक छ । गहिराइमा पुगेर लेखिएका र ‘मुद्दा’लाई उजागर गर्ने लेखाइलाई प्राथमिकतामा राख्नु पर्छ ।

नेपालमा कृषि मजदुरको न्यूनतम ज्याला थिएन । इन्सेकले नै ज्याला तोक्ने अवस्था बनाएको हो । कृषि मजदुर, कमैयाका विषयमा प्राचीले विशेषाङ्कका रूपमा किन इतिहासलाई वर्तमान पुस्तासम्म सञ्चार नगर्ने ? यस्ता विषयको महत्व अहिले पनि उत्तिकै छ । प्राचीले मानव अधिकार र सामाजिक न्यायका अभियानका इतिहास र वर्तमानलाई केलाउनु पर्छ । समीक्षा गर्नुपर्छ । सिंहावलोकन गर्नु पर्छ । इन्सेक मानव अधिकारको आन्दोलन हो । अभियान हो । प्राची त्यसको दस्तावेज हो । वहाक हो । यसको अपरिहार्यता अहिले पनि उत्तिकै छ । मानव अधिकारको क्षेत्रबाट निस्कने एउटै पत्रिका भएकाले मानव अधिकार आन्दोलनमा प्राचीको महत्वपूर्ण योगदान रही आएको छ । इतिहासमा पुर्‍याएको योगदानको निरन्तरता आजको आवश्यकता हो । इतिहासको दस्तावेजीकरण गर्ने माध्यमका रूपमा प्राचीलाई अगाडि बढाउन सकौँ । शतक अङ्कको धेरैधेरै शुभकामना !

(प्राचीका संस्थापक प्याकुरेलसँग इन्सेक अनलाइनका सम्पादक रमेशप्रसाद तिमल्सिनाले गर्नु भएको कुराकानीमा आधारित । यो लेख प्राचीको सतक अङ्कमा प्रकाशित छ ।)