प्रजातान्त्रिक जीवनशैली

प्रकाश ज्ञवाली

हामीकहाँ जीवनशैलीका बेग्लाबेग्लै पाटाहरू विभिन्न कालखण्डमा चर्चाको शिखरमा पुग्ने गरेका छन्। जीवनशैलीका आ-आफ्नै परिभाषा, व्याख्या र तर्कहरू बेग्लाबेग्लै समय र परिस्थितिमा उजागर हुने गरेका छन्। मानिसका प्रवृत्तिको आधारमा पनि यस्ता परिभाषाहरूको आकार बन्ने गरेको पाइन्छ।

जीवनशैलीलाई कसैले पहिरनमा पुष्टि गर्न खोज्छन् त कसैले आधुनिक प्रविधिसँग जोड्ने प्रयास गर्छन्। तिनका अर्थ र क्षेत्र कुनै स्थानको भू-राजनीतिक अवस्थितिका आधारमा पनि निर्धारण भएको पाइन्छ। अमेरिकाको जीवनशैली र नेपालको जीवनशैली, जापानको जीवनशैली र चीनको जीवनशैली। यस्ता भेग’ उदाहरणले कसैलाई प्रेरणा नदिन पनि सक्छन्।"मेटाफोर", "सिमिली" र "पन" का आ-आफ्नै भूमिका होलान्। खोज्दै जाँदा समुद्रको जीव लक्षित गरिएको पनि हुनसक्छ। गोताखोरहरूको जीवनशैली, कोइलाखानीभित्र काम गर्नेहरूको जीवनशैली र हवाइजहाज उडाउनेहरूको जीवनशैलीलाई कसरी एउटै तराजुमा राख्न सकिएला- तराजुले जोख्ने काम मात्र गर्दैन, यो त समानताको परिचायक हो, यसले गल्ती गर्दैन भन्ने गरिन्छ। तर पनि, दोष नभएका होइनन्। यसले दुई भिन्न वस्तुलाई जोखिदिन्छ। गुणका आधारमा नभई, मात्रालाई जोखेर न्याय दिन्छ।

जीवनशैलीलाई तराजुमा राख्दा, बेग्लाबेग्लै जीवनशैलीका मात्रा समान हुनसक्छन्। त्यस्तो अवस्थामा न्याय भएको मान्न सकिएला- जीवनशैलीको भाषा पनि व्यक्ति र ठाउँअनुसार फरक हुन्छ। त्यस्तो भाषा तराजुले बुझ्ला- त्यस्तो अवस्थामा यसले देखाएको समानतालाई कसरी अनुभूत गर्ने- शासकको जीवनशैली र शाषितको जीवनशैली मानवीय विकास सूचकांकले पनि औंल्याउन नसक्ला। औसतले पनि तिनको प्रतिनिधित्व गर्न नसक्ला। जीवनशैलीको समुद्रमा माछा पनि भेटिनसक्छ, भ्यागुता हात लाग्ने अवस्था पनि आउँछ। त्यही समुद्रमा गोहीको मुखमा परिने डर पनि उत्तिकै नहोला भन्न सकिँदैन।

यस्तै डर छ, जीवनशैली अर्थ्याउने परिपाटीमा। प्रतिव्यक्ति आयले आर्थिक जीवनशैली निर्धारण गर्ला। शिक्षाको मानक यसको प्रकार र गुणस्तरमा आधारित होला। सामाजिक-साँस्कृतिक सद्भावको आफ्नै भूमिका होला,जीवनशैली निर्धारण गर्ने। "आईटी", "फेसन" र नक्कल आजका उर्बर जीवनशैली होलान्। सँगसँगै बन्दुक, बम र बारुदबीचको जीवन व्यतित गर्नेहरूको पंक्ति पनि छ। यस्ता परिवेशहरू छन्, जसले जीवनलाई स्वभाविक ढाँचामा परिणत गरिदिएका छन्। एकातिर कार, कम्प्युटर र कस्मेटिक्सको मूल्य ओरालो लाग्दैछ भने उकालै-उकालोले घेरिएका हुम्ला, डोल्पा र मुगुमा नुन, तेल र चामलको मूल्यले अग्ला डाँडाहरूसँग संगति मिलाएको छ। दरबारमार्गको चिप्लो सडकदेखि चुच्चे ढुंगामा पाइताला अड्याउन मिल्नेगरी बानी पारिएको "बाटो" को जीवनशैलीका पाटाहरू पक्कै भिन्न छन्। कसैले बोलेको संसारभरी सुनिएला तर एउटा घरमा मान्छे मर्दा अर्को घरको मलामी खोज्न घण्टौं हिड्नुपर्ने वाध्यता नभएको होइन। त्यसैले, जीवनशैलीमा सुधार ल्याउने तरिका र मापदण्डहरू पनि फरक छन्।

यस्तै विविधताबीच प्रजातान्त्रिक जीवनशैलीको चर्चा व्याप्त छ, अहिले। खासगरी काठमाडौंले गतिलो शब्द पाएको छ। प्रजातन्त्रसँगै जन्मनुपर्ने जीवनशैली, नजन्मदै बेहोस भएछ। अहिलेको अवस्थामा जाग्न थालेको छ। यस्तो जगाईको स्वरुपका बारेमा पनि आ-आफ्नै तर्क छन्। कुन बेला, कसरी प्रजातान्त्रिक जीवनशैलीको शुरुवात हुन्छ भन्ने विषय पनि विवादको घेराभित्र तानिएको छ, यतिबेला। काँच र तरंगमार्फत् आएका चित्र र ध्वनीहरू प्रजातान्त्रिक जीवनशैलीमा केन्द्रित छन्। फरक यत्ति हो, त्यसको अपेक्षित ठोस परिभाषा र किटानी सर्वसाधारणको भाषामा आउन सकेको छैन।

प्रजातन्त्र, मानवअधिकार, सुनीति, सुशासन र सत्चरित्र समग्र राष्ट्रिय विकासका आधारस्तम्भ हुन् भन्नेमा दुईमत नहोला। यीसँगै गाँसिएको जीवनशैली पक्कै स्तुत्य हो। हाम्रा भनाई र गराईबीच तादात्म्यता मिलाउन पनि जीवनशैलीको भूमिका प्रमुख छ। प्रजातान्त्रिक जीवनशैली मानवअधिकारयुक्त जीवनशैली हो भन्नेमा पनि द्विविधा नहोला। प्रजातन्त्र र मानवअधिकार एक-अर्काका परिपूरक भएकाले एउटाको अनुपस्थितिमा अर्कोको अस्तित्व पनि पक्कै संकटमा पर्नजान्छ। यस्तो अवस्थामा हामीले भन्ने गरेको मानवअधिकारयुक्त प्रजातान्त्रिक जीवनशैली र परिभाषाबेगरको जीवनशैलीबीचको भिन्नता केलाउन सकिन्छ।

हामीले घर देख्न सक्छौं। तर, त्यसको जग माटोभित्रै हुन्छ। प्रजातन्त्र माटो मुनिको जग हो, जसले प्रजातान्त्रिक जीवनशैलीलाई अडाएको हुन्छ। मुसाले जग खोल्यो भने घर धरमराउनसक्छ। वा, सानोतिनो "सुनामी" नै यसका लागि काफी हुनसक्छ। जहाँ जीवन हुन्छ, त्यहाँ जीवनशैलीको कुरा हुनसक्छ। त्यस्तै जहाँ प्रजाको शासन चल्छ,त्यहाँ प्रजातन्त्रको चर्चा हुनसक्छ। जहाँ प्रजातन्त्र हुन्छ त्यहाँ प्रजातान्त्रिक जीवनपद्धतिका सम्भावनाहरू हुन्छन्। सम्भावनाहरू नै प्रजातान्त्रिक जीवनशैलीका आधारस्तम्भ हुन्। प्रजातन्त्र र प्रजातान्त्रिक जीवनशैलीबीचको यस्तो सम्बन्धबाट नै मानवअधिकार संस्कृति फस्टाउने हो। यसको संरक्षण हुने हो। त्यस्तो संरक्षण अथक मानवअधिकार योद्धा स्वर्गीय प्रकाश काफ्लेले भन्नुभएझैं, जनताको सचेतन, जागरण र संगठित प्रयासबाट सम्भव छ।