नेपाली मानवअधिकार आन्दोलनका एक नक्षत्र पद्म दाइ !

तारक धिताल
बाल अधिकारकर्मी
नेपालको मानवअधिकार आन्दोलन पद्मरत्न तुलाधरको नाम उल्लेख नगरेसम्म अपूरो हुन्छ। छयालीस सालअघि मानवअधिकार संरक्षण मञ्च, बन्दी विमोचन समितिजस्ता संस्थागत पहलमा मात्र होइन, बहुदलीय कालमा भएको दस वर्ष लामो द्वन्द्वका क्रममा पनि उहाँको मानवअधिकार रक्षक व्यक्तित्व सशक्त थियो। उहाँको सम्झनामा आज यी अक्षरहरू कोरिरहँदा ती दिनहरूको झल्झली सम्झना आइरहेको छ, जतिखेर हामी मानव अधिकारको पर्यवेक्षण गर्ने क्रममा सडक सडकमा, आन्दोलनका बीच बीचमा, प्रहरी र प्रदर्शनकारीहरूको घेरामा बसेर आन्दोलनलाई हिंसात्मक हुन नदिन, भड्किन नदिनका निमित्त सहजीकरण गरिरहेका हुन्थ्यौँ, आन्दोलनकारीका आक्रोशलाई मत्थर पार्न पद्म दाइले सम्झाइरहनु भएको हुन्थ्यो र आफै मानव अधिकारका लागि आन्दोलनका विविध गतिविधिहरू गरिरहेका हुन्थ्यौँ।
आज म पद्म दाइको बौद्धिकता, राजनीतिक चेत र क्रियाशीलता, उहाँको शालीन र मध्यस्तकर्ता भुमिका निर्वाह गर्ने शैली तथा क्षमता, उहाँको साहित्यिक पक्ष, भाषा आन्दोलन लगायतका विषयमा कुनै चर्चा गर्ने छैन। म उहाँसँगको सङ्गतको क्रममा भएका केही अनुभूतिजन्य कुरालाई मात्र पस्कन्छु, जसबाट मलाई पनि थुप्रै प्रेरणा, हौसला मिलेको छ– सामाजिक परिवर्तनको लागि, मानव अधिकारको आन्दोलनको निरन्तरताका लागि। यथास्थितिको परिवर्तनको भोक कसरी जाग्दछ र त्यो परिवर्तनका निम्ति कसरी निरन्तर लागिरहनु पर्दछ भन्ने अनुभूतिका केही पाटाहरू केलाउने प्रयासमात्र हो यो सङ्क्षिप्त आलेख, पद्म दाइको सम्झनामा।
पद्मदाइसँगको चिनजान केही पुरानै, म स्कुले विद्यार्थी हुँदादेखिकै हो। मूलतः मानव अधिकारको सन्दर्भमा विशेषतः मानव अधिकार पर्यवेक्षणका सिलसिलामा होस् वा मानव अधिकार आन्दोलनका क्रममा सँगसँगै हिँडिएका धेरै सम्झना रहेका छन्। घरनजिकै हुनु, पारिवारिक चिनजान र केही सामान्य व्यवसायिक सम्बन्धले समेत उहाँसँगको सामिप्यता, उहाँसँगको खुला र मित्रवत् सम्बन्ध सधैँ स्मरणीय रहेको छ। पञ्चायतकालमा जनपक्षीय उम्मेदवारका रूपमा पद्म दाइको निर्वाचनमा दिनभरी टोलटोल घुमिसकेपछि साँझदेखि रातभर कालिमाटीमा जीवन मानन्धरको घरमा ‘दालमोठ च्युरा’ खाँदै चुनावका निम्ति झण्डाहरू बनाएको र बिहानीपख घर फर्किएको सम्झना पनि ताजै छ। परिवर्तनको चाहनामा चुर्लुम्मै डुबेको त्यसबेला शारीरिक उर्जा कहाँबाट आउँथ्यो, अहिले सम्झँदा रमाइलो लाग्दछ।
पञ्चायतकालमा धेरै गतिविधिहरू गर्न प्रतिबन्ध थियो, विद्यार्थी सङ्गठनको नाममा केही गतिविधिहरू हुन्थे। यसै प्रसङ्गमा तिहारमा हरेक वर्ष देउसी भैलो कार्यक्रमको आयोजना हुने गथ्र्याे र आयोजना गर्ने केही जिम्मेवारीहरू ममा पनि आइपथ्र्याे। रातभर देउसी खेलिन्थ्यो र बिहानपख नेपाल सम्वत् को ‘न्हुँदया भिन्तुना’को जुलुसमा हामी सोझै पुग्थ्यौँ। त्यो साँस्कृतिक जुलुस पञ्चायतकालमा एउटा विद्रोहको स्वरूपका रूपमा पनि रहेको थियो। त्यतिखेर रातभर देउसी खेलेर थकित भएका हामी गैर नेवारहरू पनि ‘न्हुँदया भिन्तुना’को स्वर गुञ्जाउँदै जुलुसमा हिँडिरहँदा हँसिलो अनुहारका पद्म दाइलाई भेट्दा नयाँ उर्जा मिल्थ्यो।
पञ्चायतको उत्तरार्धतिर, विद्यार्थीकालमा अझ भनौँ विद्यालय भर्खर सकेका क्याम्पसका प्रारम्भिक चरणमा हाम्रो एउटा समूहले हातेमालो त्रैमासिक पत्रिका प्रकाशनको थालनी गरेको थियो। त्यसबेलामा खासगरी युवाहरूलाई केन्द्रित गरेर पढ्ने सामग्रीहरूको अभाव थियो। अझ मूलतः भन्ने हो भने मावि तहका विद्यार्थीहरू देखि भर्खरै कलेज पुगी त्यतिखेरको प्रवीणता प्रमाणपत्र तहमा पढ्ने उमेरका व्यक्तिहरूलाई केन्द्रित गरेर पढ्ने सामग्रीको अभाव थियो। हामी खासगरी त्यतिखेरको पञ्चायती निरङ्कुशताका विरुद्धमा केही गर्नुपर्छ भन्ने भावनाले ओतप्रोत भएका व्यक्तिहरू, विद्यार्थी आन्दोलनमा केही सक्रिय भएर लागिरहेका व्यक्तिहरू तारक धिताल, कुन्दन अर्याल, मधुसुदन पन्त, अनिल मिश्र, आत्मराम शर्मा, रामकुमार गिरी मिलेर त्यो पत्रिकाको प्रकाशन शुरु गरेका थियौँ। हातेमालो युवा सहचर नामक त्यो पत्रिका पद्म दाइकै प्रेसमा छापिने भएकाले पत्रिका छाप्ने क्रममा बारम्बार हामी प्रेसमा पुगिरहन्थ्यौं। त्यतिखेर थुप्रैपटक पद्म दाइसँग गफिने अवसर मिली राख्थ्यो। गाईजात्राको अवसरमा विशेषाङ्क निकाल्थ्यौँ, जसमा पद्मदाइको व्यङ्ग्य पनि रुन्चे पद्म दाइ भनेर कार्टुन समेत बनाएर छापेका थियौँ। त्यसताका राष्ट्रिय पञ्चायतमा बोल्दा बोल्दै उहाँ रोएको प्रसङ्ग निकै चर्चित थियो। त्यो गाईजात्रे अङ्क प्रज्ञा प्रतिष्ठानबाट पुरस्कृत समेत पनि भएको थियो। उहाँले रङ्गीन कलेवरमा छापिएको हातेमालोको गाइजात्रे अङ्कका लागि राष्ट्रिय पञ्चायतमा नवरस शीर्षकमा जोडदार व्यङ्ग्य पनि लेख्नु भएको थियो।
हातेमालोको प्रकाशनताका अहिलेको जस्तो अफसेट प्रेसको चलन धेरै थिएन, त्यतिखेर लेटर प्रेस भन्ने गरिन्थ्यो। जहाँ हरेक अक्षर, इकार, उकार, आकार आदि हातले टिपेर कम्पोज गर्नु पथ्र्यो अर्थात लहर मिलाएर राख्नु पर्दथ्र्यो। धेरैपटक हामी त्यो पत्रिकाको छपाइको क्रममा चाहे सामग्री पुर्याउन होस् वा त्यसको प्रुफ हेर्नका निम्ति होस् बारम्बार प्रेसमा गइरहनु पथ्र्याे। प्रायः फुर्सद हुने बित्तिकै पद्म दाइ प्रेसमा झर्नु हुन्थ्यो। त्यहाँ तख्तैतख्ता भएको कम्पोज रुम थियो, जहाँ काठको तख्तामा भएका स–साना खोपी खोपीमा धातुले बनाएका अक्षरहरू राखिएको हुन्थ्यो। पद्म दाइलाई धेरैपटक त्यहाँ कम्पोज गरिरहेको देख्थ्यौँ। कतिपय अवस्थामा बाबु र छोरा सुजनसँगै नै बसेर कम्पोज गरिरहेको अथवा छोराले प्रेस चलाइरहेको भेटिन्थ्यो। कतिपय पटक भाउजुले ल्याइदिएको कालो चिया हामीले पनि खान पाउँथ्यौँ। पद्म दाइको पारिवारिक वातावरण कति सहज थियो भन्ने अनुमान मैले पहिलो पटक देखेको एउटा दृष्यबाट गर्न सकिन्छ। त्यतिखेर बाबु छोराको सम्बन्धको दृष्य मलाई निकै अनौठो पनि लागेको थियो। पद्म दाइले ‘चुरोट निकाल’ भनेपछि छोराले एउटा चुरोट पद्म दाइलाई दिएर अर्को आफ्नै मुखमा च्याप्थे। पद्म दाइले लाइटर बालेर छोराको चुरोट पहिले सल्काइ दिएपछि आफ्नो चुरोट सल्काउनु हुन्थ्यो। त्यो बाउ छोराको मैत्रीपूर्ण व्यवहार देख्दा मलाई बेग्लै अनुभूति हुन्थ्यो।
म समयक्रममा राजनीतिक गतिविधिभन्दा मानवअधिकार वा सामाजिक गतिविधिमा बढी रमाउन थालेँ। बहुदलीय व्यवस्थाको सुरुआतकालमा आन्दोलनहरू प्रशस्त भई राख्थे। हामी मानव अधिकारको पर्यवेक्षण गर्ने सन्दर्भमा पटक पटक स्थलगत रूपमा जहाँ आन्दोलन हुन्छ, त्यहाँ उपस्थित हुने गथ्र्याैँ। त्यतिबेला सवारी साधनको उपलब्धता धेरै थिएन। तत्कालीन अवस्थामा म कार्यरत रहेको सिविन संस्थामा पनि कुनै सवारीसाधनको व्यवस्था थिएन। त्यतिखेर सिविनमा जम्मा हामी दुई जनाको मोटरसाइकल थियो, एकजना साथी जो आर्थिक प्रशासनमा काम गर्नुहुन्थ्यो र मेरो। विभिन्न कार्यक्रममा गइरहनु पर्ने भएको हुँदा मेरो मोटरसाइकल नै अत्यधिक रूपमा कुद्ने गथ्र्याे, जसले पद्म दाइलाई पनि धेरै पटक बोकेको थियो। आन्दोलनका क्रममा मानवअधिकार पर्यवेक्षणका लागि पद्म दाइ र म प्रायः सँगसँगै हुने गथ्र्यौँ। मलाई सम्झना भएसम्म थापाथली माइतीघरमा एउटा अग्लो घरको माथिल्लो तलामा मानव अधिकार संरक्षण मञ्च अर्थात मासमको कार्यालय थियो र हामी प्रायः पर्यवेक्षणमा जानुभन्दा अगाडि पनि त्यहाँ भेला हुन्थ्यौँ। पर्यवेक्षणबाट फर्किसकेपछि त्यहाँ भेला भएर प्रतिवेदन तयार गथ्र्यौं। खासगरी मानवअधिकार पर्यवेक्षणको सन्दर्भमा पद्म दाइ र मेरो सामिप्यता धेरै बढ्थ्यो, मोटरसाइकलमा आउँदा जाँदा हुने वार्तालापले मानव अधिकारको क्षेत्रमा निरन्तर क्रियाशील हुन उत्साह थपिन्थ्यो।
एक पटक मानव अधिकार पर्यवेक्षणकै क्रममा कोटेश्वरतिर एकदमै तनावको स्थिति छ भन्ने खबर आएपछि पद्म दाइ र म दुई जनामात्रै कोटेश्वरमा पुगेका थियौँ। त्यो आन्दोलन नेविसङ्घले आयोजना गरेको थियो। हामी कोटेश्वर पुग्दा प्रहरीहरू अलिक वरै थिए, आन्दोलनकारीहरू रिङरोड तिरबाट आउँदै थिए, जो उग्र रूपमा थिए। हाम्रो त्यतिखेरको भूमिका भनेको प्रहरी र आन्दोलनकारीहरूबीच झडप नहोस् र त्यहाँ कुनै मानवीय क्षति नपुगोस् भन्ने नै हुन्थ्योे। कतिपय अवस्थामा प्रहरीलाई संयम रहन हामी अनुरोध गर्दथ्यौँ। त्यो सँगसँगै आन्दोलनकारीलाई पनि संयम रहन र आफ्ना विरोधलाई व्यवस्थित ढङ्गले जनाउनका निम्ति सहजीकरण गर्ने गर्दथ्यौँ। हामी मेरो मोटरसाइकलमा गएका थियौँ, मोटरसाइकलमा पनि मानव अधिकार अनुगमन भनेर लेखेर टाँसिएको थियो भने हामीले पनि मानव अधिकार पर्यवेक्षण लेखिएको कपडा भिरेका हुन्थ्यौँ। प्रहरीसँगको सम्भावित झडप हुन नदिन आन्दोलनकारी आएतिर हामी बढ्यौँ। नजिकै पुग्ने बित्तिकै केही आन्दोलनकारीहरूले दौडेर आई घेरेर “यो मोटरसाइकल जलाइदे, जलाइदे” भन्न थाले, उनीहरू अति उग्र भइरहेका थिए। पद्म दाइ मोटरसाईकलबाट ओर्लिनु भयो र “म पद्मरत्न तुलाधर बोल्दैछु, हामी तपाईँहरूकै मानव अधिकार उल्लङ्घन नहोस् भनेर पर्यवेक्षणमा आएका हौं” भन्दै हुनुहुन्थ्यो। पछाडि भीडबाट कसैले “यो बामेलाई ठोक्दे, मोटारसाइकल जलाइ दे..” भनेर चिच्याउँदै पनि थिए। त्यसबेला पद्मदाइको संयमता र बोल्ने शैलीले भीडलाई थप उत्तेजित हुनबाट रोकेको थियो। पद्मदाइले बोल्दै गरेको केही क्षणमा भीडको केही पछाडिबाट अलि ‘सिनीयर’ देखिने व्यक्ति ‘छोड छोड’ भन्दै भीड छिचोल्दै आए र मोटरसाइकल जलाउन भनेर वरिपरि बसेकालाई केही पर पन्छाए। त्यही व्यक्तिसँग केही समयको वार्तालापमा विरोध जारी राख्न सकिने तर अगाडि बढेमा झडप हुनसक्ने भएकाले शान्तिपूर्वक त्यही विरोध जारी राख्न अनुरोध गरियो। अत्यन्त तनावपूर्ण अवस्थामा वार्तालापपछि घेराबाट बाहिर निस्किन सम्भव भएको थियो। सायद त्यतिखेर त्यो आन्दोलनकारी भित्रको केही बुझ्ने मान्छे नभएको भए र त्यहाँ पद्मरत्न तुलाधर नभइदिएको भए जे पनि हुन सक्ने अवस्था रहेको थियो।
आन्दोलन चर्किरहेका बेला सडकमा मानवअधिकार पर्यवेक्षण गर्ने क्रममा मात्रै हैन मानव अधिकार बहालीका निम्ति आफै आन्दोलित हुनु परिरहेको अवस्थामा पनि पद्मदाइको क्रियाशीलता सदैव सक्रिय र शालीन रहन्थ्यो। मानवअधिकार आयोगको स्थापनाका लागि मानवअधिकारकर्मीहरूको तर्फबाट चरणबद्ध आन्दोलनहरू भएका थिए। त्यतिखेर विभिन्न स्वरूपका नारा जुलुससहित सडकमा हिँड्नेदेखि रिले अनशनसम्मका गतिविधिहरूमा पनि पद्मदाइसँगका थुप्रै अनुभवहरू रहेका छन्।
पञ्चायत कालमा होस् कि छयालीसको जनआन्दोलनका क्रममा र त्यसपछिको केही राजनीतिक परिवर्तन पछिका दिनहरूमा पनि मानवअधिकार आन्दोलनमा होस् अथवा सशस्त्र द्वन्द्वको सुरुवातदेखि शान्ति प्रक्रियासम्ममा होस्, या शान्ति प्रक्रियापछिको गणतन्त्र नेपालका सन्दर्भ होस् पद्मदाइको भूमिका सधै अत्यन्त महत्वपूर्ण रहँदै आयो, नेपालको राजनीतिक क्षेत्रमा र नेपालको मानवअधिकारको आन्दोलनमा। तर, उतारचढावहरू सबैले बेहोर्नु नै पर्दछ, जसबाट पद्म दाइ पनि अछुतो रहने कुरा भएन। पञ्चायतकालमा अत्यधिक मतले विजयी भएपश्चातको त्यो जनपक्षीय उम्मेदवारको विजय जुलुस त्यस भन्दा अगाडि कहिल्यै देखिएको थिएन र पछि पनि सायदै भएका होलान्।
समय बित्दै जाँदा धेरै परिवर्तन भए र एकपटक काठमाडौंमा नै पद्म दाइ निर्वाचनमा पराजित हुन पर्ने अवस्था पनि आयो। जसबाट सधैँभर मान्छेको एकै खालको स्थिति हुन्छ, सधैँभर एकै खाले ‘क्रेज’ रहिरहन्छ भन्ने भ्रम लिन नहुने महसुस भएको छ। नेपालमा सशस्त्र द्वन्द्वको शुरुवातपछि यसलाई शान्तिपूर्ण निकास ल्याउने क्रममा र सशस्त्र द्वन्द्वकै क्रममा पनि मानवअधिकारको दृष्टिकोणबाट कम भन्दा कम क्षति होस् भन्ने सन्दर्भमा सदैव पद्मदाइको भूमिका अहम् रहन गयो। सशस्त्र द्वन्द्वकै क्रममा प्रचण्ड भनेको पद्मरत्न हो भन्ने समेतको हल्ला पनि चल्यो। शान्ति प्रक्रियामा पद्मदाइको भूमिकादेखि त्यसपछिका क्षणहरूमा मानवअधिकारको निम्ति उहाँको सधै स्पष्ट र सहज सहजीकरणको भूमिका सरहानीय रह्यो।
विगतमा जातीय छुवाछुतको विरुद्ध एक सामाजिक अभियानका रूपमा सहभोज गर्ने कार्यक्रमहरू भई रहन्थ्ये। त्यस्ता सहभोजमा मानवअधिकारकर्मीहरूको उपस्थिति महत्वपूर्ण हुने गथ्र्यो। यसैक्रममा एक पटक पद्मदाइसँग सिन्धुपाल्चोकमा भएको सहभोजमा हामी सँगै पनि गएका थियौँ र जातीय विभेद विरुद्धको ऐक्यवद्धता प्रभावकारी बनेको थियो। अर्को एक स्मरणीय घटना, मानवअधिकार पर्यवेक्षण गरी हामी फर्कँदै थियौँ, भानुमावि नजिक पुग्नै लाग्दा रत्नपार्कबाट आन्दोलनकारीले रानीपोखरीको बारमा रहेका थोरै प्रहरीमाथि ढुङ्गामुढा गर्न थाले। ढुंगा वर्षिन थालेपछि केही प्रहरी घाइते पनि भए। पद्म दाइलाई भानुमाविकै गेटमा बसिरहन भनेँ र म चाहिँ हेलमेट लगाएकाले पारी गएर ढुङ्गा नहान नहान भन्दै चोट लागेको प्रहरीलाई तानेर गणेशस्थानको ओझेलमा सुरक्षित पुर्याए। पुनः सडकमा निस्केर हात उठाउँदै ढुङ्गा नहान्न अनुरोध गरे। त्यतिखेर मानवअधिकार पर्यवेक्षणको नीलो ज्याकेट लगाएको वा कपडा भिरेको परैबाट चिनिथ्यो र कतिपय आन्दोलनकारीले सोको सम्मान पनि गर्थे। केही समयपछि अवस्था सामान्य भयो। फर्किएर पद्म दाइलाई बोकेर घर आएँ। साँझ समाचार हेर्दा पो कान्तिपुर टीभीमा रत्नपार्क गणेशमन्दीर अगाडि ढुुंगा नहान नहान भनेको मेरो क्लीप र ढुंगाका वर्षा देख्दा झसङ्ग बनायो, धन्न मलाई कुनै ढुङ्गाले लागेनछ र त्यो भिडन्तमा हेल्मेट छैन तपाई नजानुस् भनेर पद्म दाइलाई भानुमाविको गेटमा नै छोडेकोमा आफैलाई धन्यवाद भन्न पनि मन लाग्यो।
अब आन्दोलनका कुरा हैन, केही व्यक्तिगत अनुभूतिका कुरा। पद्मदाइको जङ्कुको सन्दर्भमा विभिन्न कार्यक्रमको आयोजना भयो। त्यतिबेलासम्म शारीरिक रूपमा विभिन्न समस्याहरू देखिँदै आएका थिए तर उहाँ सधै मानसिक रूपमा दह्रो देखिनुहुन्थ्यो, स्पष्ट देखिनु हुन्थ्यो। जङ्कुको सन्दर्भमा आयोजना गरिएको भोजमा अत्यन्त प्रसन्न मुद्रामा बसिरहनु भएको थियो। फोटो खिच्नेहरूको भीडभाड निकै थियो। म र मित्र कुन्दन सपरिवार गएका थियौँ, मलाई देखेपछि ‘ए तारक यता आऊ, यता आऊ’ भन्नु भयो र नजिक पुगेपछि तानेर ‘हेर न मलाई त कानमा गहना लगाई दिए’ भनेर अत्यन्त प्रसन्नताका साथ र बालसुलभ ढङ्गले देखाउनु भएको थियो। मलाई उहाँको त्यतिखेरका मनै भित्रबाट निस्किएका शब्द, र प्रफुल्लित अनुहार अहिले पनि झल्झली सम्झना आउँछ। मैलै ‘पद्मदाइलाई एकदम सुहाएको छ नि १ कस्तो राम्रो देखिएको छ १’ भने र सँगै बसेर फोटो पनि खिच्यौं। पद्मदाइसँग निरन्तर भेटेर पुराना केही गतिविधिहरूको अभिलेख राख्ने मेरो चाहना थियो र पद्मदाइसँग यसबारे सामान्य कुरा पनि भएको थियो, जङ्कु सकेपछि गफ गरौँला नि भन्ने कुरा पनि भएको थियो। त्यसपछिको अवधिमा तत्कालै भेटघाटलाई निरन्तरता दिन सकिएन, जाउँला नि जाउँला नि भन्दा भन्दै दिनहरू घर्किए। केही समयपछि बिरामी हुनु भयो र हामीबाट अलग्गिनु भयो। मात्र अब हामीसँग उहाँको हँसिलो अनुहार, सरल व्यवहार र उहाँले देश र जनताका निम्ति पुर्याउनुभएको योगदान, मानवअधिकार र शान्ति प्रक्रियामा उहाँको अह्म भूमिका, उहाँसँगका व्यक्तिगत घटनाका रमाइला क्षणहरू सम्झनामा छन्। अजम्बरी त को छ र ?, बाँचिरहने त केबल उसका सत्कर्महरू मात्रै न हुन्। (२०८० साउन १६ को प्राचीबाट)
सम्बन्धित विचार मञ्चहरू
नेपालको सङ्क्रमणकालीन न्याय: आगामी कार्यभार
१८ वर्षअघि विस्तृत शान्ति सम्झौतामार्फत अन्त्य भएको दश वर्ष लामो सशस्त्र द्वन्द्वका महत्वपूर्ण कार्यहरूमध्ये सबैभन्दा गिजोलिएको चाहिँ सङ्क्रमणकालीन न्याय नै हो। विस्तृत शान्ति सम्झौता अनुरूप तत्कालै बन्नुपर्ने आयोगहरू बन्न नौ…
सशस्त्र द्वन्द्व, नेपाल प्रहरी र सङ्क्रमणकालीन न्यायिक प्रक्रियाको अवतरण
दश वर्ष लामो सशस्त्र द्वन्द्व र त्यसपछिको शान्ति प्रकृया द्वन्द्व पक्षरत अर्को पक्षको प्रशासनिक अवस्थालाई आत्मसात गर्दै सो यथार्थका आधारमा दिगो शान्तिको पुर्नस्थापना गर्नु र राष्ट्रको विकास एवम् समृद्धिको लक्ष्य…
सङ्क्रमणकालीन न्यायः पीडितलाई न्याय र आरोपितको अभिलेख
सङ्क्रमणकालीन न्यायको विषय अठाह्र वर्षदेखि पेचिलो र अन्यमनस्क भएर रहेको विषय हो। जुन, भर्खर पारित कानुन पश्चात चर्चाको शिखरमा छ। सङ्क्रमणकालीन न्यायका लागि गठित आयोगहरूले पीडित पीडक र समाजबीच विश्वासपूर्वक…
नेपालको सङ्घीयताः अन्तरसरकारी वित्तीय हस्तान्तरण सुधारका सवाल
भूमिका वित्तीय सङ्घीयता वित्तीय स्रोत र साधन (काम सहित) को न्यायोचित बाँडफाँट लगायतसँग सम्बन्धित छ । कामलाई दामले पछ्याउनु पर्दछ भन्ने सामान्य सिद्धान्त छ । चाहे एकात्मक व्यवस्था होस चाहे…
नेपालमा सङ्घीयताको अभ्यास र मानव अधिकारका सवाल
नेपालजस्तो लोकतान्त्रिक मुलुकहरूले मानव अधिकारको संरक्षण र सम्वर्धनका विषयलाई संविधान तथा कानुनमा उल्लेख गरी त्यसको परिपालनालाई महत्व दिएका हुन्छन्। मानव अधिकार उल्लङ्घन तथा ज्यादतीबाट कोही पनि पीडित नहोेस् भनी उनीहरूको…