नेपालको मानव अधिकार र प्रजातान्त्रिक आन्दोलनमा डा. मथुराप्रसाद श्रेष्ठको योगदान
कोमल भट्टराई
मथुराप्रसाद श्रेष्ठ एक चिकित्सक । तर उहाँ जनस्वास्थ्य विज्ञ, मानव अधिकारवादी, तथा एक सम्मानित शिक्षकका रूपमा प्रख्यात हुनु भयो। उहाँ विज्ञ त हुँदै हुनुहुन्थ्यो, साथसाथै अभियानकर्ता र आन्दोलनकारी हुनु हुन्थ्यो। उहाँ आफूलाईं वाम पक्षधर भन्ने गर्नु हुन्थ्यो तर पार्टी सदस्य बन्ने प्रस्तावलाई उहाँले कहिल्यै स्वीकार गर्नु भएन। उहाँका विद्यार्थीहरूले मात्र होइन, समाजका सबै क्षेत्रका अभियानकर्ताहरूले उहाँलाई मथुरा सर भन्ने गर्दथे।
१९९२ साल वैशाखमा जन्मिनु भएका मथुरा सरको ८६ वर्षको उमेरमा २०७९ फागुन ८ गते निधन भयो। निधन हुनु दुई हप्ता अघिसम्म मथुरा सर सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्थ्यो। म औपचारिक रूपमा मथुरा सरको विद्यार्थी थिइँन। तर, मथुरा सरको मातहतमा रहँदा मैले उहाँबाट जनस्वास्थ्य र जनअधिकारका चासो÷मुद्दाहरूलाई राष्ट्रिय तथा विश्वस्तरीय आयाम र दृष्टिबाट बुझ्नुपर्ने कुरा सिकेँ। खासगरी, उहाँबाट मैले अनुसन्धान– प्रकृया विधि र इपिडेमोलोजीबारे आधारभूत जानकारी पाउनुका साथै त्यसको अभ्यास गर्न सिकेँ। मैले करिब १२ वर्ष उहाँ अध्यक्ष रहेको प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रमा उहाँको अपरोक्ष र डा. शरद वन्तको परोक्ष मातहत भई काम गरें। उहाँ दुवैबाट मैले जनस्वास्थ्य र स्वास्थ्य सञ्चारबारे मैले प्रशिक्षण पाएँ। बुढ्यौलीमा प्रवेश गरिरहनु भएका मथुरा सरसँग मेरो ज्यादै घनिष्टता कायम रह्यो। आफ्ना ज्यादै नजिकका विद्यार्थीका नाम बिर्सने सरले मलाई नामबाट नै बोलाउनु गर्नु हुन्थ्यो।
उहाँ पटक पटक २००८/०९ सालको विद्यार्थी आन्दोलनमा आफू संलग्न भएको बताउनु हुन्थ्यो र सामाजिक सञ्जालमा पनि लेख्नु भएको पढेको हुँ। एक दुईपटक मसँग तत्कालीन अखिल नेपाल विद्यार्थी फेडरेशनको जिल्ला स्तरीय कार्यकर्ता भएको कुरा गर्न हुन्थ्यो। यसैबारे एकपटक अनेरास्ववियुका तत्कालीन अध्यक्ष ठाकुर गैरेले पद्म कन्या क्याम्पसमा आयोजना गर्नु एक अन्तरक्रिया कार्यक्रममा तत्कालको फेडरेशनले सङ्गठन र आन्दोलन गर्दा गर्ने चालबाजीबारे प्रकाश पार्नु भएको थियो। नेकपाका संस्थापक पुष्पलाल र निर्मल लामाले माक्र्सवादी दर्शन र लेनिन तथा माओ लिखित दस्तावेज साहित्यबारे प्रशिक्षण दिएको बताउनु भएको थियो। विद्यार्थी आन्दोलनप्रतिको उहाँको लगाव पछिसम्म कायम थियो। विद्यार्थी आन्दोलनपछि वाम पार्टीमा उहाँ कसरी सङ्गठित हुनु भएको थियो– सो बारे उहाँबाट मैले सुन्न पाइनँ। चिकित्सक भएर चितवन अस्पतालमा कार्यरत रहँदा भरतपुर क्याम्पसका तत्कालीन प्राध्यापक आनन्ददेव भट्टसँग उहाँले सहकार्य गरेको कुरा बुझेको थिएँ।
म चिकित्सा शास्त्र अध्ययन संस्थानमा अध्ययन गरेका बखत सर उच्च शिक्षाका लागि बेलायत जानु भएको रहेछ। त्यसकारण म उहाँको विद्यार्थी हुन पाइन। मेरो भेट उहाँसँग २०४० सालमा भएको थियो। जुनबेला हामीहरू एमनेस्टी इन्टरनेशनलको स्थानीय शाखाहरू निर्माण गरी तत्कालीन माले पार्टीबाट लखेटिएका कमरेडहरूलाई सङ्गठित गर्दै थियौँ। त्यसैबेला एमनेस्टी इन्टरनेशनल, लण्डनले क्यानडामा एक विचार गोष्ठी गर्दै थियो। सो विचार गोष्ठीमा मथुरा सरलाई पठाउनु पर्ने कुरा एमबीबीएस अध्ययनरत अर्जुन कार्की (हाल प्रख्यात फोक्सो रोग विशेषज्ञ) ले प्रस्ताव राख्नु भयो। सो बमोजिम क्यानडामा उहाँले ’दी अनाटोमी अफ टर्चर’ विषयकमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। त्यहाँबाट फर्केर आएपछि विचार गोष्ठीको उपलब्धिका बारेमा ल क्याम्पसमा प्रवचन दिनुभएको थियो। त्यसैबेला एक मानव अधिकारवादीका रूपमा उहाँलाई मैले चिन्ने मौका पाएँ।
मथुरा सर कुनै वाम पार्टीमा नभए पनि सबै वामहरूबीच स्वीकार्य हुनुहुन्थ्यो। मलाई के लाग्छ भने उहाँलाई तत्कालको मालेका स्वास्थ्यकर्मी र चिकित्सकहरूले घेरामा पारेका थिए। बुढ्यौलीसँगै बाल स्वभाव बन्दै गएका कारणले मथुरा सरलाई वशमा पार्न सजिलो थियो। त्यसैले कैयन् मित्रहरूबाट उहाँको स्वभावको भरपूर प्रयोग र दुरुपयोग भएको मैले महसुस गरेको छु। त्यसमाथि वाम आन्दोलनप्रति उहाँको निष्ठा र विश्वासका कारण आफूलाई के हुन्छ भन्ने ख्याल नराखी वाम समूहका हरेक गतिविधिहरूमा सलग्न भएको देख्दथेँ। ०४५/०४६ सालको जनआन्दोलनमा मात्र होइन, सशस्त्र द्वन्द्वमा संलग्न माओवादीलाई शान्तिवार्तामा ल्याउन पहल बौद्धिक व्यक्तिमात्र नभई वामपन्थी भएर नै गर्नु भएको थियो। उहाँ मधेसीहरूप्रति पहाडियाले गर्ने विभेदप्रति रुष्ट हुनुहुन्थ्यो तर उहाँले मधेस आन्दोलनका क्रममा भएको गौर हत्याकाण्डको खुलेर विरोध गर्नु भएको थियो।
उहाँ पञ्चायतकालदेखि नै मानव अधिकारको वकालत र संगठित गर्ने काममा संलग्न हुनुहुन्थ्यो। यो ३० को दशकको अन्त्य र ४० को दशकको शुरुवाती दिनहरूको कुरा हो जुनबेला वाम पार्टीहरू चारतिर फर्किएका थिए। यसबेला सबैजसो वाम पार्टीहरूलाई पञ्चायतीहरूले राष्ट्रियताका नाममा काङ्ग्रेसका विरुद्ध भड्काएका थिए भने काङ्ग्रेसीहरूमा कम्युनिष्ट फोविया थियो। त्यसैकारण ०३७ सालमा भएको जनमत सङ्ग्रहमा काङ्ग्रेसले वामपक्षसँग सहकार्य गरेन। केही वामहरूले ‘सुधारिएको पञ्चायत र बहुदलीय व्यवस्था’ समान काँटामा राख्दै बहिष्कार समेत गरे। त्यसबेला दुवै पञ्चायती विरोधी भए पनि एकले गरेको कार्य अर्कोले विरोध गर्ने गर्थे। ०३८ को पञ्चायती निर्वाचनमा काङ्ग्रेसले केही स्थानहरूमा उम्मेदवार उठायो भने वाम दलहरूले निर्वाचन बहिस्कार गरे। २०४२ को निर्वाचनमा सत्याग्रह र रामराजा प्रसादको बमकाण्डको नाममा काङ्ग्रेस र स्वतन्त्र राजनीतिक कार्यकर्ता गिरफ्तार गरिएका बेला वामहरूले जनपक्षीय उम्मेदवार उठाइ निर्वाचनमा भाग लिएका थिए।
४० को दशकमा नेकपा चौथो महाधिवेशनभित्र हतियार बन्द सङ्घर्ष गर्नेहरू हावी हुँदै गएका थिए भने मालेका जनमत सङ्ग्रहको बहिष्कार गर्नेहरू वैधानिक सङ्घर्ष र आन्दोलन चलाउन त्यस अनुसारका सङ्गठन बनाउन सकृय थिए। यसैबिच ०४१ सालमा माले पार्टीको आडमा सुशील प्याकुरेल र स्व. प्रकाशराज काफ्लेको सक्रियतामा मानव अधिकार संरक्षण मञ्च स्थापना गरियो। यसमा मथुरा सरको समेत संलग्नता थियो। उहाँ यसको अध्यक्ष पनि हुनुहुन्थ्यो। उहाँले मानव अधिकारवादी आन्दोलनमा आफूलाई यसबाटै समाहित हुनु भएको जस्तो लाग्छ। उहाँ आफूलाई मानवअधिकारवादी भन्न रुचाउनु हुन्थ्यो। उहाँले आफूलाई स्वास्थ्य मन्त्री र चिकित्सक भनेर देशभित्र र बाहिर चिनाएको मैले सुनिन।
२०४३ मा हुनसक्छ, मलाई वर्ष एकीन भएन, उहाँको नेतृत्वमा “सामाजिक उत्तरदायीका लागि स्वास्थ्यकर्मी, नेपाल“(Health Professional for Social Responsibilty, Nepal) को गठन भएको थियो। यो “इन्टरनेशनल फिजिशियन फर प्रिभेन्सन अफ न्युक्लियर वार“ नामक जर्मनीको एक संस्थाबाट प्रेरित भएर गठन गरिएको थियो। यसले दोस्रो विश्वयुद्धमा जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले आणविक बम खसालेको दिन अगस्ट ६ र अगस्ट ९ मा साम्राज्यवादका आततायी कार्यहरूको विरुद्ध र स्वास्थ्यकर्मीहरूका कर्तव्यबारे विचार गोष्ठीलगायत विविध प्रचार कार्य गर्ने गर्दथ्यो। हाल यो सङ्गठन “सामाजिक उत्तरदायीका लागि चिकित्सक, नेपाल“ (Physician for Social Responsibility, Nepal) छोटकरीमा पिएसआरएन का नामले प्रख्यात छ। मथुरा सरले यस सङ्गठनको धेरै वर्ष नेतृत्व गर्नु भयो। यसै फोरममार्फत् उहाँले वाम पक्षधर चिकित्सकहरूको अभिभावक भइरहनु भयो।
मथुरा सरले चिकित्सकीय पेशा भारतबाट शुरु गर्नु भएको थियो। भारत रहँदाका कुरा उहाँले गर्नु हुन्नथ्यो। तर वीर अस्पताल, चितवन अस्पताल रहँदाका केही प्रसङ्ग उठाउनु हुन्थ्यो। उहाँको शुरुवाती चाहना शल्यचिकित्सक बन्ने थियो रे तर चिकित्सा शास्त्र अध्ययन संस्थानमा प्रवेश गरेपछि जनस्वास्थ्यतर्फ मोडिएको थियो। त्यसैकारण उहाँ बेलायतमा कम्युनिटी हेल्थ अध्ययन गर्न जानु भयो। र यसै विषयको नेपालको दोस्रो प्रोफेसर बन्नु भएको थियो। यही शिक्षण पेशाका दौरान उहाँले नेपाल र नेपाली जनताको साक्षात्कार गर्नु भयो।
उहाँसँगका हरेक कुराकानीमा महाकाली देखि मेचीसम्मका नेपालबारे सुन्न पाइन्थ्यो। उहाँले चिकित्सक पेशामा रहँदा चितवनको सर्पदंशका घटना र केही उपचार गर्दाका सफलताबारे सुनेको थिएँ, अरु प्रसङ्ग मैले सुनेको छैन। तर, शिक्षण पेशामा रहँदाका बारे अनगिन्ति भोगाइ र देखाइबारे सुनेको थिएँ। मलाई लाग्छ– त्यही देखाइ र भोगाइका कारण उहाँलाई जनता र समुदायको स्वास्थ्यको पक्षका लागि अधिवक्ता बन्नु भयो होला। यही क्रममा उहाँबाट अनेकन अध्ययन अनुसन्धान कार्यहरू भएका छा्। दुखद् कुरा के भने उहाँको स्वभावजन्य कारण उहाँले गरेका अनुसन्धान रिपोर्टहरू संग्रह भएनन्। नेपाली जनताको स्वास्थ्यमा पहुँच, स्वास्थ्य उपचारमा प्रतिव्यक्ति आय खर्च आदिबारे उहाँ र उहाँको सहयोगीहरूले गरेका अनुसन्धान प्रतिवेदनहरू फेला परे हालको स्वास्थ्य पहुँचबारे तुलनात्मक अध्ययन गर्न सहज हुन्थ्यो।
२०४६ को आन्दोलनमा उहाँले नागरिक समाज र पूरै स्वास्थ्य क्षेत्रको अगुवाइ गर्नु भयो। यसबारे त्यस आन्दोलनबारेका अभिलेखमा उहाँका योगदानहरू प्रशस्त पाइन्छन्। ती अभिलेख अध्ययन गरेर उहाँको योगदानलाई वर्गीकरण गर्नु आवश्यक ठान्छु। परिवर्तनपछि उहाँ स्वास्थ्यमन्त्री बन्नु भयो। त्यो काल मुख्यतः संविधान निर्माणकाल भएकाले स्वास्थ्य संगठन तथा बनावटमा परिवर्तन ल्याउन सक्नु भएन। खासगरी एलोपैथिक उपचार प्रणालीको स्वास्थ्यलाई जीवविज्ञानीय दृष्टिबाट बुझ्ने कुरामा हस्तक्षेप गर्न नसकेको कुरा गर्नु हुन्थ्यो। तथापि उहाँले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् गठन गराउनु भएको थियो। उहाँ मन्त्रीबाट हटेपछि यसको अध्यक्ष बन्न राजी हुनु भएको कुराले यसप्रति उहाँको कस्तो लगाव थियो अनुमान गर्न सकिन्छ। यसमा आयुर्वेद र सामाजिक विज्ञानीय दृष्टिले स्वास्थ्यलाई बुझ्ने अनुसन्धानशास्त्रीहरू पनि संलग्न गरिएका थिए। तर पछि क्लिनिकल जमातले यसलाई परम्परा बनाउन चाहेन।
उहाँको सक्रियतामा मस्यौदा भएको राष्ट्रिय स्वास्थ्य नीति २०४८ मा ग्रामीण तहमा स्वास्थ्य सुविधाका सञ्जाल फैलाउन ध्यान दिइएको देखिन्छ। यसको कारण मथुरा सरमा सन् १९७८ को अल्माआटा– घोषणाप्रतिको कटिबद्धता हो। उहाँ मन्त्री हुनु अघि नै विश्व पूँजीवादी मुलुकहरूले रकफेलर फाउण्डेशनमार्फत् अल्माआटा घोषणामा उल्लेखित समग्र स्वास्थ्य सेवाको प्याकेजलाई सेलेक्टिभ स्वास्थ्य सेवाको प्याकेजमा बदली रहेका थिए। तर, २०४८ मा प्रसारित स्वास्थ्य नीतिमा सन् २००० सम्म सबैका लागि स्वास्थ्यको लक्ष किटानी हुनुलाई यसप्रति मथुरा सरको हस्तक्षेप भएको बुझिन्छ।
अल्माआटा सम्मेलनमा नेपाल पनि सहभागी थियो र अल्माआटा घोषणामा पनि हस्ताक्षार गरेको थियो। विडम्बना अल्माआटा घोषणापत्र नेपाली भाषामा रूपान्तरण समेत गरिएको थिएन। यस घोषणापत्रलाई नेपाली भाषामा उल्था गराउन उहाँले दामोदर उपाध्यायलाई अनुरोध गर्नु भएको थियो र यसको प्राविधिक शब्दहरूलाई सकेसम्म सरल बनाउन मथुरा सरले ४–५ दिन खर्चनु भएको सम्झन्छु। पछि यो प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रको भलाकुसारी अङ्क ५० मा प्रकाशन गरिएको थियो।
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र मथुरा सर, डा. अर्जुन कार्की र अन्य मित्रहरूको सक्रियतामा स्थापना गरिएको एक संस्था हो। उहाँको स्वास्थ्य सक्रिय रहन्जेल उहाँ यसको अध्यक्ष रहनु भयो। यसैबेला उहाँको मातहतमा निरन्तर स्वास्थ्य शैक्षिक सामग्रीका रुपमा प्रकासित हुने भलाकुसारीको सम्पादकका रूपमा मैले कार्य गरेँ। यसैबेला नै मैले उहाँबाट जनता–उन्मुख स्वास्थ्यबारे बुझ्न पाएँ।
मथुरा सरले पछिल्लोकालमा मानव अधिकारको समग्रपक्षबाट स्वास्थ्य अधिकारबारे बढी केन्द्रिकृत गर्दै हुनुहुन्थ्यो जस्तो लाग्छ। उहाँमा अल्माआटा घोषणापत्रलाई कार्यान्वयन गर्ने हुटहुटी थियो। बीसौं शताब्दीको अन्तिम वर्षहरूमा विश्वका जनता उन्मुख चिकित्सकहरू, नागरिक समाज र व्यक्तिहरू अल्माआटा घोषणालाई पुनर्जीवित गर्ने आन्दोलन सङ्गठित गर्दै थिए। त्यसमा मथुरा सर पनि सामेल हुनुहुन्थ्यो। यसै सिलसिलामा उहाँ नेपालमा विश्व स्वास्थ्य भेला २००० तयारी समितिको संयोजक बन्नु भएको थियो। यस समितिमा नेपाली समाजका विभिन्न क्षेत्रका अभियन्ताहरू संलग्न थिए। र ४–८ डिसेम्बर २००० मा बङ्गलादेश ढाकामा ९० भन्दा बढी देशहरू र करिब २५ सय प्रतिनिधिहरू सहभागी विश्व जनस्वास्थ्य भेला भएको थियो। जसमा नेपालका ८४ जनाको प्रतिनिधि मण्डलको अगुवाइ सरले गर्नु भएको थियो। यो भेलामा मथुरा सरले विश्व बैङ्कले हाम्राजस्ता कम विकसित मुलुकको स्वास्थ्य नीतिमा गरेको हस्तक्षेपबारे एक कार्यपत्र पेश गर्नु भएको थियो। यसलाई विश्व बैंकबाट आएका प्रतिनिधिहरूले विरोध गरेका थिए।
यो भेला अल्माआटा १९७८ को घोषणालाई पुनर्ताजगी गर्न सफल भयो। यसले एक “जनताको स्वास्थ्य बडापत्र –२०००” जारी गरेको थियो। समता, पर्यावरणीय, दिगो विकास र शान्ति, समुन्नत विश्व निर्माण पूर्वसोचको आस्थाको आधारमा तयार गरिएको सो बडापत्रमा स्वास्थ्यलाई सामाजिक आर्थिक र राजनीतिक बिवषयवस्तु मात्र नभई मूलत मानवको मौलिक अधिकारका रूपमा व्याख्या गरिएको थियो। यस्तो व्याख्यामा मथुरा सर बहुत् स्पष्ट र अडान लिनु हुन्थ्यो। यसकारण आफू मानसिकरुपमा सक्रिय रहन्जेल ‘सबैका लागि स्वास्थ्य’ साकार पार्न शक्ति सम्पन्न राष्ट्र र वर्गका स्वार्थहरूलाई चुनौती दिइरहनु पर्छ भन्ने र लेख्ने गर्नुहुन्थ्यो। विश्वलाई एक गाउँ भन्दै साम्राज्यवादी नङ्ग्राहरू हाम्रा जस्ता गरीब मुलुकका जाति र वर्ग चुस्ने तथा भाड्ने विश्वव्यापीकरणको विरोध गर्न हुन्थ्यो। त्यसैले उहाँ विद्यमान राजनीतिक र आर्थिक प्राथमिकताहरूमा आमूल परिवर्तन चाहनु हुन्थ्यो।
मथुरा सरलाई मैले पटकपटक आफ्ना अनुसन्धान लेखहरू र जनस्वास्थ्यसम्बन्धी सिकाइहरूबारे अभिलेख गर्न भनिरहेँ। तर, उहाँले त्यो गर्नु भएन। उहाँले खस साम्राज्यको ऐतिहासिक मिथकबारे एक उपन्यास लेखिरहनु भएको थियो तर कम्प्युटर बिग्रिँदा सो पनि नष्ट भयो। उहाँको जीवनलाई पछ्याउन मेडिकल आन्थ्रोपोलोजिका प्राध्यापक डा. मधुसुदन सुवेदीले मलाई साथ लिन एकदुई पटक कोसिस गर्नु भए पनि त्यस काममा हामी लाग्न सकेनौँ। मैले थाहा पाए अनुसार अरुबाट भएको जस्तो लाग्दैन। त्यसैले मथुरा सरबाट नेपाल, नेपाली समाज र जनताका लागि भएगरेका योगदानबारेको अभिलेख गरिनु पर्छ भन्ने लाग्छ। उहाँका मानवअधिकारसम्बन्धी नेपाली र अङ्ग्रेजी भाषामा लेखिएका र प्रवचन गरिएका कैयन् बौद्धिक दस्तावेज, लेख र अन्तरवार्ताहरू छन्। तिनीहरूको सङ्कलन गरी प्रकाशित गरिनु पर्छ। यसले उहाँको योगदानबारे आउने पुस्ताले थाहा पाउन मद्दत पुग्छ। (प्राचीको अङ्क १०५ बाट)
सम्बन्धित विचार मञ्चहरू
नेपालमा सङ्घीयताको अभ्यास र मानव अधिकारका सवाल
नेपालजस्तो लोकतान्त्रिक मुलुकहरूले मानव अधिकारको संरक्षण र सम्वर्धनका विषयलाई संविधान तथा कानुनमा उल्लेख गरी त्यसको परिपालनालाई महत्व दिएका हुन्छन्। मानव अधिकार उल्लङ्घन तथा ज्यादतीबाट कोही पनि पीडित नहोेस् भनी उनीहरूको…
सङ्घीयतापछिको नेपाल : आशाको सञ्चार, समृद्धिको यात्रा !
सङ्घीयता भनेको दुई वा दुईभन्दा बढी तहको सरकार हो। जनताबाट निश्चित भएको सार्वभौम सत्ता तहगत सरकारबाट, तहगत व्यवस्थापिकाबाट प्रयोग हुने व्यवस्था हो। मेरो अध्ययनमा अहिले विश्वका ३० ओटा मुलुकमा सङ्घीय…
लुम्बिनी प्रदेश, सङ्घीयता चुनौती र सम्भावना
ऋषि आजाद लुम्बिनी प्रदेशको पहिचान लुम्बिनी प्रदेश नेपालको संविधान २०७२ असौज ३ मा भएको राज्य विभाजनपछि बनेका सात प्रदेशहरु मध्ये एक हो । यो नेपालको चौथो ठूलो जनसंख्या भएको प्रदेश…
जेलः सजाय, सुधार प्रणाली कि शक्ति प्रयोगको माध्यम ?
केशव सिग्देल यो सङ्क्षिप्त लेखमा जेलको विकास र यसले व्यक्ति र समाजलाई पारेका प्रभावका बारेमा केही समाज वैज्ञानिक छलफल गरिएको छ। यस लेखको उद्देश्य नेपाल वा विश्वमा हाल जेलको अवस्था…
निर्वाचन व्यवस्थापनसम्बन्धी कानुन र सुधारका पक्षहरू
१. पृष्ठभूमि लोकतन्त्रको महत्त्वपूर्ण खम्बा आवधिक निर्वाचन र बालिग मताधिकार हो। निर्वाचन स्वतन्त्र स्वच्छ र विश्वसनीय हुनुपर्दछ। निर्वाचन प्रणाली र निर्वाचन व्यवस्थापन एवम् प्रक्रियासम्बन्धी व्यवस्था संविधान र निर्वाचनसम्बन्धी कानुनहरूमा गरिएको…