जेलः सजाय, सुधार प्रणाली कि शक्ति प्रयोगको माध्यम ?

केशव सिग्देल

यो सङ्क्षिप्त लेखमा जेलको विकास र यसले व्यक्ति र समाजलाई पारेका प्रभावका बारेमा केही समाज वैज्ञानिक छलफल गरिएको छ। यस लेखको उद्देश्य नेपाल वा विश्वमा हाल जेलको अवस्था के छ भन्ने वस्तुगत अध्ययन गर्ने नभई आफैंमा जेल प्रणालीको विकास किन र कसरी भयो र शक्तिमा रहेकाले यसको कसरी प्रयोग गरेका छन् भन्ने विषयमा मिशेल फुको र अन्य चिन्तकहरूले उठाएका विषयमाथि विमर्श गर्ने प्रयत्न मात्र गरिएको छ। जेल प्रणालीको प्रयोगबाट संसारमा अपराधको सङ्ख्या घटेको प्रमाणिक अध्ययन छैन। न त जेल सजाय सकेर मुक्त भएका व्यक्तिहरू अपवाद बाहेक जेलप्रणालीको आवश्यकताको पैरवी गर्नेहरूले दावी गरेको जस्तो सुध्र्रिएर सामाजिक जीवनमा समाहित भएका छन्। यस्तो होइन भने जेल कि अझै सुदृढ र व्यापक रूपमा प्रयोगमा आइरहेको छ भन्ने विषयको उत्तर पनि यो आलेखमा दिने प्रयास गरिएको छ।

बन्दीको शरीरलाई केन्द्रित गरेर सार्वजनिक रमिताको शैलीमा दिन शुरु भएको सजाय परम्परा अहिलको समयसम्म आइपुग्दा कसरी अपराध गर्ने व्यक्तिको सोच र व्यवहारलाई अनुशासित गर्ने हिसाबले गुप्त प्रक्रियाको रूपमा विकसित भयो भन्ने बारेमा मिशेल फुकोले डिसिप्लिन एण्ड पनिसः द बर्थ अफ द प्रिजन (१९७५) भन्ने पुस्तकमा गरेको व्याख्या रोचक र समाजविज्ञानका दृष्टिले महत्वपूर्ण छ। उनले समाजिक सम्बन्धहरूको विश्लेषण गर्ने क्रममा बन्दीको शरीर र जेललाई शक्ति प्रयोगको साधनको रूपमा व्याख्या गरेका छन्। कुनै पनि वस्तुलाई बुझ्न त्यसको मिहिन अवलोकन गर्न आवश्यक हुन्छ र यसले त्यो व्यक्ति, वस्तु वा प्रक्रियाका बारेमा ज्ञान उत्पादन गर्छ। र यही ज्ञानलाई उपयोग गरेर त्यो व्यक्ति वा प्रक्रियामाथि शक्ति प्रयोग गरिन्छ भन्ने उनको विश्लेषण छ। शक्ति आफैंमा स्वामित्वमा राखिरहन सकिने कुनै उत्पादन वा वस्तु होइन। शक्ति त्यसको प्रयोगबाट मात्र अनुभव गर्न सकिन्छ। बन्दी र जेल त्यो शक्ति प्रयोगका साधन हुन् भन्ने मत उनको छ।

अरुमाथि नियन्त्रण कायम गर्न अरुको बारेमा जानकारी लिन आवश्यक छ। त्यसका लागि अवलोकन(अब्जरभेसन) एउटा तरिका हो। एकातिर व्यक्ति वा प्रक्रियाको अवलोकनले त्यसका बारेमा जानकारी वा ज्ञान निर्माण गर्छ भने उक्त व्यक्ति वा प्रक्रियामा सामेल समूहमाथि भय उत्पन्न गर्छ। कसैले हेरिरहेको छ भन्ने भाव उत्पन्न गराउँदा पनि उक्त व्यक्ति वा समूहलाई मनोवैज्ञानिक रूपमा नियन्त्रण गर्न सकिन्छ। यसका अन्य व्यवहारिक उदाहरण छन्। सवारीसाधनको गति जाँच गर्न ट्राफिक प्रहरीले प्रयोग गर्ने यन्त्रले पनि त्यही काम गर्छ। आजकाल व्यापक रूपमा प्रयोगमा आएको सिसिटिभि यसको ज्वलन्त उदाहरण हो। वित्तीय संस्थामा पैसाको सुरक्षा, सडकमा लेन अनुशासनको अनुगमन, उद्योगमा कर्मचारी वा कामदारले तोकिएको काम गरे नगरेको सुपरीवेक्षण वा विद्यालयमा विद्यार्थीको कृयाकलापलाई अनुगमन गर्न यस्तो प्रविधि प्रयोग गरिएको पाइन्छ। क्यामेराले हामीलाई हेरिरहेको छ भन्ने सन्देशले तत् तत् स्थानमा सम्बन्धित व्यक्ति वा समूहलाई अनुशासित गरिरहेको हुन्छ। र त्यही एउटा क्यामेराबाट सम्बन्धित क्षेत्रको सुपरिवेक्षकले आफ्नो शक्ति पनि प्रयोग गरिरहेको हुन्छ।

समाज विकासको प्रारम्भिक चरणमा तत्कालीन समयमा अपराध मानिएका घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रण गर्ने तरिका उसको शरीरमाथि शक्तिको प्रयोग थियो। गम्भीर मानिएका घटनाहरूमा सार्वजनिक स्थानमा लगेर मानिसहरूको उपस्थितिमा उसको अपराधको बयान गर्ने र यातना वा मृत्युदण्ड नै दिइन्थ्यो। यस्ता शारीरिक सजायको सार्वजनिक प्रदर्शनले बाँकी मानिसहरूमा भयको सञ्चार गरिदिन्थ्यो र उनिहरूमाथि मनोवैज्ञानिक नियन्त्रण गथ्र्यो। त्यस्तो अवस्थामा बन्दीगृहहरू सजायका लागि पालो पर्खने स्थलजस्तो मात्र हुन्थे। उतिबेला जेललाई आफैंमा सजायको रूपमा लिइँदैनथ्यो। तर, समाज विकासका विभिन्न चरणहरूमा त्यस्ता दण्ड परम्पराहरू आलोचित हुँदै गए। मानवीयताका कुराहरू उठे। विस्तारै मानवअधिकारका दृष्टिबाट त्यसस्ता सजायलाई अनुचित भनि व्याख्या हुँदै गयो। क्रिश्चियन मिथकहरूले तत्कालीन पश्चिमा समाजमा स्थापित भएको मानिस जन्मँदै पापी जन्मन्छ भन्ने भाष्यलाई विभिन्न वैज्ञानिक अनुसन्धानहरूले गलत सावित गर्दै गएपछि जेललाई सुधार गृहको रूपमा विकास गर्ने भन्ने नयाँ दृष्टिकोण जन्म्यो (फुको २९)।

१८ औँ शताब्दीपछि जेल सुधारको पैरवी गर्नेहरूले जेल आत्मअनुशासन वा स्वनियन्त्रणको तालिम स्थल हो भनि व्याख्या पनि गरेका छन्। समकालीन जेल पद्धतिहरूमा यो कुरालाई जोड दिएर जेल भित्र व्यायाम, ध्यान, र अन्य उत्पादनमूलक क्रियाकलाप गराउन पनि शुरु गरिएको देखिन्छ। तर, मिशेल फुकोले अनुशासनलाई शासकबाट प्रयोग गर्ने गरि माथिबाट तल जाने बाध्यकारी शक्तिको प्रयोग नभई संरचनागत रूपबाट नै स्वतः अनुशासन पालना गर्ने गरी शक्तिको प्रवाह हुने अवस्थालाई इङ्गित गरेका छन्। उनले उदाहरणका रूपमा बेलायती सामाजिक सुधारक जेरेमी बेन्थमले १८ औँ शताब्दीमा गरेको पेनोप्टिकनको प्रयोगलाई उद्धृत गरेका छन्। पेनोप्टिकन भन्नाले ‘बीचमा गार्ड हाउसको रूपमा एउटा टावर बनाएर त्यहाँबाट अवलोकन गर्न सकिने गरि चारैतिर गोलाकार शैलीमा बनाइएको भौतिक संरचना’ हो। त्यो बीचको टावरमा गार्ड नहुँदा पनि गार्डले हेरिरहेका छन् भन्ने मनोविज्ञानले परिधिमा बनेका बन्दकोठामा रहेका बन्दीहरूले आफ्नो व्यवहारलाई नियन्त्रित गरिरहेका हुन्थे। मिशेल फुकोको विचारमा मानिस यही सुपरीवेक्षण र नियन्त्रणको उत्पादन हो। राज्यको सर्भिलियन्सको अर्थात् निगरानीको संरचनाले मानिसलाई वशमा लिन सजिलो वस्तु वा शरीरको रूपमा निर्माण गरिदिन्छ। र, त्यो निगरानी, विश्लेषण र दण्डको भयले मानिसमा जे बाँकी रहन्छ, त्यो नै नै हामी हौँ। यो निष्कर्षले पनि शक्तिको प्रयोग या प्रवाह अनुशासनको विधिबाट हुन्छ भन्ने तर्कलाई बल दिन्छ।

तर, जेलका केही समस्याहरू छन्। गम्भीर मानिएका अपराधमा लामो समय जेलमा बसेका मानिसहरू के साँच्चिकै सुध्रिएर निस्कन्छन् त ? कैद भुक्तान गरेपछि कुन सीप वा क्षमताका आधारमा उनीहरू समाजमा सुधारिएको रूपमा आर्थिक सामाजिक कृयाकलापमा संलग्न हुन सक्लान त ? यी प्रश्नहरू महत्वपूर्ण छन्। तर यिनको उत्तर सजिलो छैन। हामी झन् थप अपराधका लागि उनीहरूलाई विवश पारेर जेल बाहिर त पठाउदै छैनांैँ भन्ने प्रश्न पनि ध्यान दिन आवश्यक छ। जेलको प्रयोग अपराध गर्ने व्यक्तिलाई राज्यद्वारा नियन्त्रण गर्न सकिने किसिमको ‘डोसाइल’ बनाउन र अपराधलाई विभिन्न कोटीमा विभाजन गर्ने, त्यस मुताबिक दोषी करार गर्ने र जेल मार्फत् शासनमा बस्नेले आफ्नो शक्तिको अभ्यास गर्ने प्रक्रियालाई वैधता त पाइरहेको छैन भन्ने गम्भीर प्रश्न पनि सँगै आउँछ। हिजोआज यसको उदाहरण हामीले सजिलै देखेका भोगेका पनि छौँ। सरकार विरोधी हुँदा गायन वा कलाकर्म पनि अपराध बनेका उदाहरण छन्। हत्या लगायत अन्य जघन्य भनिएका अपराधहरूलाई राज्य ‘राजनीतिक’ कोटीमा राखेर उन्मुक्ति दिइएका उदाहरण पनि छन्। तर सोही प्रकृतिको अपराधमा जेल बसिरहेका अन्य कैदीहरू समाजका लागि खतरा करार भएर बन्दीगृहमा बसिरहेका छन्। त्यसैले फुकोको पनि संशय छ। जेल सुधार भन्दा पनि राज्यले अपराधका किसिमहरू, तरिकाहरू, सम्भावनाहरूको ज्ञान मार्फत् आफ्ना विरोधीहरूलाई तह लगाउने वैध संरचना बन्नतिर उन्मुख छन् कि भन्ने देखिन्छ। तर, समाजमा अनुशासन कायम गर्ने सजिलो माध्यमको रूपमा यसको स्वीकार्यता अन्य दण्ड प्रणालीको भन्दा बढी नै देखिन्छ।

जेलको आधुनिक मोडेलको प्रयोग समाजका अन्य संस्था र संरचनाहरूमा पनि प्रयोग गरिएको पाइन्छ। जस्तो, अवलोकन गर्ने वा निगरानीमा राख्ने, त्यो व्यक्तिका बारेमा ज्ञान लिने र ज्ञान मार्फत बनेको शक्तिको प्रयोग त्यही व्यक्ति वा समूहमाथि गर्ने जेलको मोडल विद्यालय, अस्पताल, परिवार वा अन्य सार्वजनिक संस्थाहरू पनि प्रयोग भएका छन्। प्रश्न गर्न सिकाउने भन्दा हाम्रो शिक्षण संरचनाले अनुशासनलाई शिक्षाको महत्वपूर्ण उद्देश्य बनाएको देखिन्छ। त्यो संरचनागत रूपमा स्वअनुशासित हुन, शासन र कानुनलाई मान्न, शासकप्रति प्रतिबद्घ हुन सिकाउने एउटा तरिका पनि हो। राज्यका अवयव आफैं लागेर व्यक्तिलाई अनुशासनमा लगाउने नभई शक्तिको प्रवाहले स्वचालित रूपमा स्वनियन्त्रण प्राप्त गर्नसक्ने अवस्था सिर्जना गरेका छन्।

जेल प्रणालीको उत्पत्तिलाई हेर्दा यसको प्रयोग सार्वजनिक रूपमा भौतिक शरीरको अन्त्यबाट शुरु हुन्छ र विकासक्रममा यो स्वतन्त्रतालाई सीमित गर्ने संयन्त्रको रूपमा रहन गएको देखिन्छ। उदाहरणका लागि सन् १७६५ मा फ्रान्समा जेल सुधारको कानुन बन्यो जसलाई ‘रुल्स फर द हाउस अफ योङ्ग प्रिजनर्स इन पेरिस’ भन्ने नाम दिइयो। यसले बन्दीहरूले जेलमा पालन गर्नुपर्ने नियमहरू तोक्यो। सार्वजनिक रूपमा यातना दिने र मृत्युदण्ड दिने अमानवीय सजाय पद्धतिबाट यो नियम तुलनात्मक रूपमा मानवीय देखियो। तर बन्दीलाई चिनाउन निश्चित प्रकारको पहिरन लगाउनुपर्ने, कपाल मुण्डन गर्नुपर्ने, हतकडी लगाएर शहरको सफाइ वा सार्वजनिक निर्माणको काम गर्नुपर्ने जस्ता सार्वजनिक रूपमा प्रर्दशन हुने नियम यथावतै रहे। जुन झण्डै १९औँ शताब्दीको शुरुतिर आएरमात्र परिवर्तन भई बन्दीका कृयाकलाप बन्दी गृहभित्रमात्र सीमित हुन गए। यसले सजायलाई शारीरिक यातनाबाट केही अधिकारहरूको कटौतीको विषय बनायो। तर, त्यस्तो खालको जेल बसाइभित्र पनि बन्दीलाई बाध्यकारी श्रमका साथै खानाका कोटा निर्धारण, यौनजन्य शारीरिक कृयाकलापबाट वञ्चिती, हत्कडीको प्रयोग वा अन्य शारीरिक यातना, वा एकान्तमा कैद जस्ता व्यवस्थाहरू मार्फत् बन्दीको भौतिक शरीर सजायको तारो बनिरह्यो (फुको, पृ. १६)।

त्यसपछि उठेका जेल सुधारका प्रयत्नहरू भने भौतिक रूपमा शरीरलाई यातना दिने कुरालाई घटाउने वा बन्द गर्नेतिर उन्मुख भए। अब क्रुरता र शारीरिक कष्ट कम गर्ने र दया र सम्मानको व्यवहार बढाउनेतर्फ जेल सुधारका प्रकृयाहरू उन्मुख हुँदा सजाय प्रणालीको तारो अब बन्दीको शरीरबाट बन्दी को ‘आत्मा’ तिर स¥यो भन्ने विश्लेषण फ्रान्सेली दार्शनिक ग्याब्रियल बोनोट डे मेब्लीले गरेको देखिन्छ (फुको १६)। मिशेल फुकोले यो रूपान्तरणलाई एउटा सार्वजनिक वियोगान्तबाट अर्को अनुहारविहिन, बुझ्न कठिन प्रहसनको युगमा हामी गयौँ भनेका छन्। जहाँ सजाय प्रणालीको तारो शरीररहित सत्य अर्थात् सजिलोको लागि बन्दीको आत्मामा केन्द्रित भयो। अब शरीरलाई नचलाइकनै उसको मन, व्यवहार र सोचमाथि नियन्त्रण गर्ने तरिकाहरू शुरु भए। ज्ञान र शक्तिले नै सत्य निमार्ण गर्ने अवस्था रह्यो (फुको १९४)।

अब अपराधको ज्ञान, अपराधमा संलग्न व्यक्तिको बारेमा ज्ञान र कानुनी ज्ञानका आधारमा मात्र सजायको निरूपण हुने अवस्थाबाट फरक आयामहरू सजाय प्रणालीभित्र विकास हुन थाल्यो। खासमा उक्त व्यक्तिले अपराध गर्नुका कारण के थिए? त्यसका लागि केवल उसको अपराधिक मनोवृत्ति जिम्मेवार थियो कि अचेतन अवस्थामा त्यो अपराध हुन गयो? अपराधका लागि वंशाणुगत गुणको प्रभाव पनि छ कि तत्कालीन आर्थिक सामाजिक वातारण पनि त्यसका लागि जिम्मेवार छन् भन्ने प्रश्नहरू पनि उठ्न थाले। यो प्रश्नले दण्ड वा सुधारको केन्द्रमा अब त्यो बन्दी नभएर अपराधका अन्य कारकतत्व हुने भए। यो प्रश्नसँगै बन्दीको शरीरलाई भौतिक रूपमा गरिने दण्डको अन्त्य आवश्यक भएर सुधार अन्य पक्षमा केन्द्रित हुनुपर्ने बुझाइको विकास हुँदै गयो। उदाहरणका लागि, मानसिक रोगका कारणले कुनै अपराध हुन गएको रहेछ भने, त्यो अपराध अब अपराध भएन। र उक्त घटनाका लागि उक्त व्यक्ति अपराधी पनि भएन। तर यो नयाँ दृष्टिकोणको उपयोग भने विस्तारै अन्य प्रयोजनमा पनि हुन थाले। आजकाल राजनीतिक उद्देश्य प्राप्तीका लागि गरिएका ‘अपराधहरू’ अपराधको कोटीमा नपर्ने खालका अभ्यासहरू त्यसैको प्रयोगको एउटा निरन्तरता हो भन्न सकिन्छ। सङ्क्रमणकालीन न्यायसम्बन्धी हुने गरेका बहसहरू यिनै अवधारणाबाट विकसित हुँदै आएका छन्। राजनीतिक उद्देश्य अभिप्रेरित ‘अपराध’ मा उन्मुक्ति दिनुपर्छ भनेर पैरवी गर्नेहरूले उक्त अपराध तत्कालीन राजनीतिक, आर्थिक, सामाजिक वातावरण कारक थियो भन्ने तर्क गर्ने गरेका छन्।

यसरी हेर्दा नयाँ दण्ड प्रणालीमा सुधारको निशाना बनाइएको ‘आत्मा’ राजनीतिक संरचनाको साधन पनि हो, र त्यसको प्रभाव क्षेत्र पनि हो। बन्दीको भौतिक शरीर अब त्यही नियन्त्रित आत्माको बन्दी हुन पुग्छ (फुको ३०)। तर पछिल्लो समय जेलकै अवधारणा गलत भएको भनेर आलोचना पनि गरिएको छ। त्यसरी विरोध गर्नेहरूले चार ओटा कुरालाई प्रमुख रूपमा उठाएको देखिन्छ। पहिलो, जेलप्रणालीले अपराधको प्रकृति अनुसार वस्तुगत रूपमा जेल सजाय तोक्न सम्भव छैन भन्ने तर्क गरेका छन्। दोस्रो, जेलबाट मुक्त भएपछि सत्कर्ममा फर्किन्छ भन्ने त्यसले सुनिश्चित गर्दैन भन्ने तर्क छ। तेस्रो, जेल व्यवस्थाले आममानिसहरूको व्यवहारमा तात्विक फरक पार्दैन भन्ने तर्क छ। चौथो, जेलले सरकारी साधनस्रोतको अपव्यय बढाउँछ भन्ने तर्क छ। बन्दीहरू लामो समयसम्म बेकम्मा भएर बस्नुपर्ने र त्यसले गर्दा उनीहरूमा अपराध चिन्तन झन् बढ्दै जाने तर्क पनि उत्तिकै छन्। चाल्र्स चाब्राउड लगायतका दार्शनिकहरूले त सबै खाले अपराधका लागि एउटै किसिमको सजायको रूपमा जेलको अवधारण ठीक हो कि होइन भन्ने विषयलाई उठाएका छन्। यो त हरेक रोगका लागि एउटै विशेषज्ञता भएका चिकित्सककहाँ जाने वा एउटै किसिमको औषधी सिफारिस गर्नु जस्तो भयो भनि जेल प्रणालीको आलोचना भएको पनि छ (फुकोद्वारा उधृत, पृ. ११७)। कतिपयले जेललाई अपराधी सुरक्षित राख्ने व्यवस्थाको रूपमा पनि आलोचना गरेका छन्।

तर, जेल व्यवस्थाको विरोध गर्नेहरूको प्रतिवाद गर्नेहरू पनि उत्तिकै सशक्त छन्। उनीहरूले सार्वजनिक सुरक्षाको विषय र दण्डहीनताले पार्ने प्रभावहरूका बारेमा प्रशस्तै तर्क गरेका छन्। यही सिद्धान्त अनुरूप बन्दीका आचरणमा सुधार ल्याउन समय तालिका बनाएर व्यायाम, ध्यान, सामूहिक कृयाकलाप, र श्रम र उत्पादनका काममा बन्दीलाई लगाउने परिपाटी थालिएको छ। खासगरी, जेलभित्रै श्रमबाट आर्थिक उपार्जन गर्ने किसिमका कृयाकलापले उनीहरूलाई जेलबाट मुक्त भएपछि समाजमा भिज्न, उत्पादनशील काममा लाग्न प्रेरित गर्छ र जेलभित्रकै आचरणमा फरक ल्याउँछ भन्ने धारणा पनि उनीहरूको छ। कामको यो विश्वव्यापी विधि (युनिभर्सल पेडागोजी अफ वर्क)का हिमायतीहरूले यसको त प्रशंसा नै गरेका छन्। जेलसम्बन्धी १७७९ को अमेरिकी कानुनमा कामको आदत बसाल्नुलाई जेलको एउटा सुधारात्मक उद्देश्यका रूपमा व्याख्या गरिएको थियो (फुको १२३)। तर जेलमा बन्दीहरूलाई सुधारात्मक प्रक्रियामा लैजान बन्दीहरूको अवस्था, आनिबानी, रुची, आदिका बारेमा जान्न जरुरी हुन्थ्यो। त्यसैले उनीहरूलाई निगरानीमा राखेर र उनीहरूका बारेमा जानकारी वा ज्ञान लिने प्रणालीको पनि विकास हुँदै गएको देखिन्छ। जसले कालान्तरमा ती दोषीहरूलाई अनुशासित गर्न सम्भव हुन्छ भन्ने तर्क गरिएको थियो।

अनुशासनलाई बुझ्ने दुई किसिमका बिम्ब छन्। पहिलो चाहिँ बन्दीगृहजस्ता समाजबाट अलि पर अलग्गै निर्माण गरिएका संरचनाहरू जसको नकारात्मक देखिने उद्देश्य बढी छन्। जस्तो दुष्टलाई नियन्त्रणमा लिने, सञ्चार र सम्पर्क विच्छेद गर्नु, र समयको पावन्दीमा राख्नु। अर्को प्यानोप्टिकोन मोडलको सुधार प्रक्रिया छ जुन सुपरीवेक्षणमा आधारित छ। यसले स्वनियन्त्रित र प्रभावकारी सुधारमा जोड दिएको छ। यो दोस्रो तरिका चाहिँ सामाजिक संरचनाका अन्य अवयवहरूमा पनि प्रयोग हुँदै र विकसित हुँदै गएको छ। एक हिसाबले आधुनिक समयमा जेलको विकास र प्रयोगमाथि उल्लेखित दोस्रो उद्देश्यका लागि भएको पाइन्छ। पेलेग्रिनो रोसीले त जेललाई सभ्य समाजको दण्ड प्रणाली नै मानेका छन्। यो सबैका लागि समान तरिकाले प्रयोग हुने र शासकको व्यक्तिगत विवेकमा आधारित नभई स्वतन्त्र संस्थाको रूपमा क्रियाशील रहन सक्छ भनेका छन् (फुको २३१)। जेललाई समर्थन गर्नेहरूले पनि यसको प्रयोगलाई दुईवटा मोडेलमा प्रयोग गरेका छन्। अउवर्नको जेल मोडलमा बानीको विकास गरेर सुधारतिर लैजाने कुरालाई जोड दिइएको छ भने फिलाडेल्फियाको जेल मोडलमा उसलाई निर्जन रूपमा राखेर आत्मचिन्तनका माध्यमबाट सत्मार्गका लागि आलोकित हुन सक्छ भन्ने अवधाराणा पनि छ। तर, यस्तो आध्यात्मिक मोडलले के बन्दीमा आधारभूत सुधार आउँछ भन्ने प्रश्न उत्तिकै गम्भीर छ।

न्याय निरूपणको दृष्टिले जेलको प्रयोग कति ठीक र कति बेठिक भन्ने प्रश्नको उत्तर त्यति सजिलो छैन। तर एउटा कुरा के चाहिँ सत्य हो भने यातना र अन्य अमानवीय व्यवहार र हत्याको सट्टा जेललाई सुधार केन्द्रको रूपमा लाने अवधारणा तुलनात्मक रूपमा बढी ‘मानवीय’ छ। तर जेललाई शासकहरूले कसरी आफ्नो शक्तिको अभ्यास गर्ने माध्यमको रूपमा प्रयोग गर्छन् कुरा पक्कै विचारणीय छ। यसले गर्दा शासकले अपराधका नयाँ परिभाषाहरू गर्ने र शासन विरोधीहरू ती परिभाषा अनुसार अपराधी हुने खतरा उत्तिकै छ भन्ने पनि समकालीन समयका प्रयोगहरूले देखाएका छन्। अर्कोतर्फ आफ्नो अनुकूल हिँड्न कबुल गर्ने बन्दीहरूलाई तथाकथित सुधार भएको प्रतिवेदनका आधारमा आममाफी दिने र तिनलाई आर्थिक राजनीतिक लाभका लागि शासकहरूले फेरि प्रयोग गर्ने खतरा पनि बढेको छ। त्यसैले जेल अपराधीलाई सजाय दिने, वा सुधार प्रक्रियाबाट अपराधको दर घटाउने भन्दा पनि शक्तिको प्रयोगको माध्यमको रूपमा यसको प्रयोग बढ्ने अवस्था देखिन्छ।

सन्दर्भ सामग्री

१. न्युटन, माइकल। क्रिमिनल जस्टिसः द प्रिजन एण्ड द पेनल सिस्टम। चेल्सी हाउस पब्लिसर्स, २०१०।
२. फुको, मिशेल। डिसिप्लिन एण्ड पनिसः द बर्थ अफ द प्रिजन (१९७५)। भिन्टेज बुक्स, दोस्रो संस्करण, १९९५।
३. मेयर, आन्द्रेय। प्रिजन डिस्कोर्स ः ल्याङ्ग्वेज याज अ मिन्स अफ कन्ट्रोल एण्ड रेजिस्टेन्स। पेलग्रेभ म्याकमिलन, २००४।
४. रोथ, मिचेल पि। प्रिजन एण्ड द प्रिजन सिस्टम: एन इनसाइक्लोपेडिया। ग्रीनउड, २००६।

(लेखक एम्नेष्टी इन्टरनेशल नेपालका पूर्व उपाध्यक्ष एवं त्रिभुवन विश्वविद्यालय, अङ्ग्रेजी केन्द्रीय विभागका उपप्राध्यापक हुनुहुन्छ।)