चुनावमा कार्टुन कलाले ल्याउने तरङ्ग !
ड. कृष्णराज सर्वहारी
विषय प्रवेश
कार्टुन भनेको विकृति, विसङ्गति तथा समाजका नकारात्मक पक्ष माथिको कटाक्ष हो । सटिक रेखा वा रङद्वारा हास्यचेतसहित गरिएको प्रस्तुति नै कार्टुन याने कि ‘व्यंग्यचित्र’ हो । अहिले विभिन्न अखबारमा कार्टुनको प्रयोगले पत्रिकालाई जीवन्त बनाएको छ । कार्टुनको प्रयोग नभएको अखबार पाठकलाई चटनी नभएको भोजन जस्तो लाग्छ ।
अन्य देशको कार्टुनसँग तुलना गर्ने हो भने पनि नेपाली कार्टुन धेरै पछाडि छ । कार्टुनिस्टको क्षमता वृद्धि गर्ने कुनै माध्यमको विकास नेपालमा अझै हुन सकेको छैन । कार्टुन सिक्न कुनै औपचारिक अध्ययन थलो छैन । चित्रकला क्षेत्रमा लागेकाहरू नै यो विधामा आकर्षित भएको देखिन्छ । कार्टुन भनेको क्यारिकेचर गर्ने कला हो । कार्टुनले हरेक आकृतिको हल्का स्वरूप बिगार्छ, ताकि त्यो क्यामेराले खिचिएको तस्बिरभन्दा फरक होस्, जसले जनमानसमा हास्यव्यंग्य र चेतनाको सञ्चार गर्न सकोस् (महर्जन, २०७६) ।
कार्टुनिस्ट रविन सायमीका शब्दमा सत्ता र शक्तिको बलमा नाक फुलाएर हिँड्नेहरूको नाक कार्टुनिस्टको निशानामा पर्ने गर्छ । उनी भन्छन्, ‘सत्ता, पैसा, भ्रष्टाचार, आश्वासन, बाहुबलको आडमा समाजमा नाक फुलाएर हिँड्नेहरूको नाक भाँच्ने विधा नै कार्टुन हो’ (पौड्याल, २०७५) ।
उता अर्का कार्टुनिस्ट बासु क्षितिजको विचारमा कार्टुनमा क्यारिकेचर भएन भने कार्टुन नै हुँदैन । कार्टुनमा विभिन्न पात्र हुन्छन् । ती पात्रलाई फोटोको जस्तै दुरुस्तै राखिए त्यसले कार्टुनको रूप पाउँदैन । ती पात्रलाई क्यारिकेचरले हेर्दा हास्यरस थपिदिन्छ । हरेक मानिसको अनुहार र शरीरको आफ्नो परिचय हुन्छ । कसैको जुँगा मोटो, आँखा ठूलो र नाक लामो । यी चिजलाई क्यारिकेचरले तन्काउने काम गर्छन् (विक, २०७९) ।
राणा प्रधानमन्त्री श्री ३ जुद्ध शमशेरको श्रीपेचलाई हात्तीको सुँढबाट निस्किएको पानीको फोहोराले फ्याँकिरहेको र राजाको (त्रिभुवन) श्रीपेच सिंहले जोगाइरहेको कार्टुन नेपाली राजनीतिमै महत्व राख्ने खालको छ । कलाकार चन्द्रमानसिंह मास्केले बनाएको उक्त कार्टुनमा हात्तीलाई जनता र कुकुरलाई राणाको प्रतीकका रूपमा देखाइएको छ । मास्केका परिवारका अनुसार १९९५ सालमै बनाइएको यही कार्टुनका कारण १९९७ सालमा चन्द्रमानलाई सर्वस्वसहित १८ वर्ष काराबासको सजाय तोकिएको थियो (थुम्केली, २०७७) । राणाविरोधी आन्दोलनका क्रममा बनाइएका पर्चाहरूमा समेत कार्टुन प्रयोग हुने गरेको पाइएको छ ।
२००७ सालपछिको खुकुलो परिवेशमा केही कार्टुन बनाउने वातावरण भए पनि त्यति बनेको पाइँदैन । अहिलेसम्म भेटिएका कार्टुनमा गोवर्धनविक्रम शाहले तुलसी गिरीको लेख पढेपछि ‘संयुक्त प्रयास’मा २०१४ सालको साउन अंकमा छपाएको कार्टुन नै पहिलो अखबारी कार्टुन मानिन्छ ।
तात्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ गते लोकतान्त्रिक शासन व्यवस्थाको कू गरेपछि छयालीसमा पञ्चायतको अवसान नहुँदासम्म कार्टुन कलाले फक्रिने मौका पाएन । छयालीसको आन्दोलनपछि अहिलेको गणतन्त्रकालमा कार्टुन कला निकै फस्टाउन मौका पाएको छ ।
अग्रज कार्टुनिस्ट मोहनश्याम महर्जन ‘खोकना’ले विमर्श साप्ताहिकमा ०४९ साल कात्तिक २१ गते तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायका बारेमा बनाएको कार्टुनका कारण सम्पादक हरिहर विरही एक साता जेल बस्नु परेको थियो । कार्टुनमा नरिवलको रुखमा चढेका बाँदररूपी उपाध्यायलाई सत्तापक्ष कांग्रेसका नेता र प्रतिपक्ष नेकपा एमालेका नेताले नरिवल आफूतिर छिटो खसाल्न भनेको विषय छ । सत्ता पक्षले खोकनालाई आइन्दा यस्तो कार्टुन नबनाउन चेतावनी दिएको थियो (थुम्केली, २०७७) । लोकतन्त्र पुनस्र्थापनापछि कार्टुनकै कारण सम्पादकको गिरफ्तारीको यो पहिलो घटना थियो । कार्टुनकै कारण अन्य अखबारका सम्पादकलाई पक्राउ अनि स्पष्टिकरणको झमेला छ । तर, कार्टुनको आयतन फैलिँदो छ ।
प्रस्तुत आलेख भने केही प्रतिनिधि कार्टुनको चर्चा गर्दै चुनावमा कार्टुनको प्रयोगबारे केन्द्रित रहेको छ । त्यसै पनि मिडियाकर्मीहरूको चर्चा खासै हुँदैन, त्यसमाथि कार्टुस्टिहरू पर्दा पछाडि रहेर सिर्जना गर्ने भएकाले खासै चर्चामा हुँदैनन् । यहाँ शिलापत्रका लागि नवराज कुँवरले विभिन्न कार्टुनिस्टहरूसँग गरेको कुराकानीलाई स्रोतको रुपमा बढी प्रयोग गरिएको छ ।
चुनावमा कार्टुनको प्रयोग
अघिपछि नेताहरूलाई घोचपेच गर्दै आएका कार्टुनिष्टहरूले चुनावको माहोलमा कार्टुनको प्रयोगलाई अझ बिस्तार गर्छन् । २००७ सालपछि र २०१५ सालको आम निर्वाचनका बेलाका पर्चा र पार्टीका मुखपत्रमा पनि कार्टुनको प्रयोग भयो । वरिष्ठ कार्टुस्टि दुर्गा बराल ‘वात्स्यायन’का अनुसार २०१५ सालको चुनावी पर्चा र मुखपत्रहरूमा निकै कार्टुन प्रयोग भएको छ । उनी भन्छन्, ‘संयुक्त प्रजातन्त्र पार्टीको मुखपत्र संयुक्त प्रयासमा यस्ता कार्टुन छापिएका पाइन्छन्’ (पौडेल, २०७५) ।
आगामी २०८१ वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेश १ मा उपनिर्वाचन हुँदैछ । खासगरी उम्मेदवारहरू तय भएर चुनावी भाषण हुन थालेपछि यसमा कार्टुनिष्टहरूको कला अब केही दिनपछि सल्बलाउन थाल्नेछ । यहाँ केही प्रतिनिधि कार्टुनको चर्चा गरिन्छ ।
कसले कसलाई पछार्ने ?
प्रसङ्ग हो, २०७४ सालको संसदीय चुनावको । त्यसबेला चुनावको मुखमै दुई कम्युनिस्ट शक्ति एमाले र माओवादीले वाम गठबन्धन बनाए । जबकि एक्ला एक्लै पनि उनीहरूले राम्रै सिट हात पार्दै आएका थिए । दुवै शक्ति मिलेपछि त्यसको सबैभन्दा ठूलो झट्का नेपाली कांग्रेसलाई लाग्यो । एक्लाएक्लै भिड्दा नै निकट प्रतिस्पर्धा हुने दुई पार्टीसँग एक्लै चुनाव लड्न निस्कँदा कांग्रेस सभापति शेरबहादुर देउवा कमजोर परेका थिए । उनी मैदानमा कम्युनिस्टहरूको शक्तिशाली गठबन्धनविरुद्ध उत्रेको सन्दर्भलाई कार्टुनिष्ट उत्तम नेपालले कार्टुनमा व्यंग्य गरे (कुँवर, २०८० क) । यसमा एमालेको चुनाव चिन्ह सूर्य तथा माओवादीको चुनाव चिन्ह हँसिया, हँथौडा कुँदिएको दुई हात एउटै ग्लोबमा छिरेको बज्र मुक्का देउवाजस्तो देखिने व्यक्तिमा पर्दा उनलाई थाम्न हम्मे हम्मे परेको देखाइएको छ ।
तर, सत्ताको खेल चुनाव जितेर झण्डै दुईतिहाइ सरकारको नेतृत्व गरेको कम्युनिस्ट शक्ति फुटेर एउटा प्रतिपक्षमा, अर्को कांग्रेसकै साथ लागेर सरकारमा गयो । २०७९ सालको चुनावमा कांग्रेस–माओवादी गठबन्धन भयो तर सरकार एमाले–माओवादीको बन्यो । उता एमाले–माओवादीको गठबन्धन सरकार दुई महिना पनि टिकेन, पुनः कांग्रेस–माओवादीको गठबन्धन सरकार बन्यो । यो गठबन्धन पनि लटरपटर एक वर्ष टिकेर २०८० फागुन २० देखि एमाले–माओवादीको पुनः गठबन्धन सरकार बनेको छ । यो गठबन्धन पनि कति दिन टिक्ने हो ? थाहा छैन । सत्ताको लागि ‘अपवित्र गठबन्धन’ गर्दै आफै कार्टुन बन्ने गरी उपद्रो गरेपछि ती नेताहरूलाई कार्टुनमार्फत् किक हान्न कार्टुनिष्टहरूले किन पो बाँकी राख्थे र ।
कसको पल्ला भारी ?
२०७९ को स्थानीय तहको चुनाव नजिकिएसँगै राजनीतिक दलहरू चुनावी तालमेलको कसरतमा लागे । सत्तारुढ गठबन्धनले नेपाली कांग्रेसका तात्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा समिति नै बनाएर गठबन्धनलाई मूर्तरूप दिने तयारी गर्यो । उता एक्लै लड्ने बताउँदै आएको नेकपा एमालेले पनि साना दललाई बटुल्ने प्रयासमा लाग्यो । यसलाई गठबन्धन भर्सेस एमालेको झल्को दिने गरी २०७८ चैत २७ गते रातोपाटीमा कार्टुनिष्ट उमेशचन्द्र अधिकारीले कार्टुन बनाए, जसको एक पल्लामा एमाले अध्यक्ष ओली एक्लै तुर्लुंग झुण्डिएका देखिन्छन् भने अर्को पल्लामा शेरबहादुर देउवा, उपेन्द्र यादव, चित्रबहादुर केसी, माधव नेपाल र प्रचण्ड देखिन्छन् ।
अहिले गठबन्धनको कित्ता परिवर्तन भएको छ । काँग्रेसले अबको २०८४ सालको चुनावमा एक्लै चुनाव लड्ने उद्घोष गरेको छ । को कुन पल्लामा बस्ने भन्ने कार्टुनिष्टहरूको कलामा आगामी चुनावमा गठबन्धनसामु देउवा एक्लै तुर्लुंग झुण्डिएको देखिने कला देखिन बेर छैन ।
फोन संवाद कार्टुनले तरंग
२०७९ मंसिर ४ को चुनाव आउन महिना दिन बाँकी थियो । एमाले अध्यक्ष केपी ओलीले नागरिकका कुरा सुन्ने भन्दै ‘कल केपी बा’ सञ्चालन गरे । यो प्रसंगलाई लिएर २०७९ कार्तिक ३ को नागरिक दैनिकमा कार्टुनिष्ट रविन सायमीको ‘कल केपी बा’ शीर्षकमा कार्टुन छापियो । एमाले अध्यक्ष ओलीले दुई दुई पटक संसद विघटन गरेका थिए । अनि २०७४ को चुनावमा चुच्चे रेल, पानी जहाज, घर घरमा ग्याँस लगिने लगायतको चर्चा गरेका थिए । सोही प्रश्न उठाउँदै फोन गरेर उत्तर सोधेको र केपी ओली जस्तो अनुहार भएको व्यक्तिले कान थुनेको कार्टुन थियो ।
उक्त कार्टुन छापिएकै दिन प्रेस काउन्सिलले नागरिक दैनिकका सम्पादकसँग स्पष्टीकरण सोधेको थियो । कार्टुनिष्ट सायमी भन्छन्, ‘सत्तामा जानुअघि (चुनाव अघि) वा आसीन रहँदाको समयमा नागरिकमाझ उहाँ (केपी) ले थुप्रै घोषणा गर्नुभएको थियो । तीमध्ये अधिकांश पूरा गर्न सक्नु भएन । तर, नागरिकमा प्रश्न त थियो नै । यही विषयलाई मैले ‘कल केपी बा’ मा नागरिकले तेर्स्याएको प्रश्नसँग लगेर जोडेँ र कार्टुन बनाएँ । प्रेस काउन्सिलबाट मलाई स्पष्टीकरण सोधिएको थियो । तर, पछि काउन्सिलले माफी माग्यो । मैले त जे हो, त्यो न देखाएको हुँ (कुँवर, २०८० घ) । चौबीस घण्टे स्पष्टीकरण सोधिएकोमा नेपाल कार्टुनिष्ट क्लबले पनि त्यसबेला विज्ञप्ती जारी गरी विरोध जनाएको थियो ।
राजनीतिक दलका शीर्ष नेतालाई अक्सर कार्टुनमार्फत व्यङ्ग्य गर्ने कार्टुनिष्ट रवि मिश्र एमाले अध्यक्ष केपी ओली ‘कार्टुनजेनिक’ रहेको बताउँछन् । ‘तपाईंलाई राम्रो लेखकको भाषा सम्पादन गर्न जति सजिलो हुन्छ, हामीलाई ओलीले बोलेका कुरामा कार्टुन बनाउन त्यस्तै सजिलो हुन्छ,’ उनी भन्छन् । कहिलेकाहीँ ओलीले यस्तो गर्दा चाहिँ कार्टुन बन्छ भन्ने अनुमान लगाएरै गतिविधि गरेजस्तो लाग्ने रविको भनाइ छ । उनी भन्छन्, ‘उहाँले कहिल्यै पनि बोर हुने खालको कुरा गर्नुहुन्न । त्यसैले पनि उहाँलाई बढी हेरिन्छ, पढिन्छ । कार्टुनिस्टले पनि उहाँका गतिविधि नियाल्छन्’ (कुँवर, २०८० ग) ।
यसरी अघिल्लो चुनावमा गरिएको वाचा नेताहरूले अर्को चुनाव आउँदासम्म पनि पूरा नगरेपछि जनसरोकारका कुरा कार्टुनिष्टहरूले कार्टुन कलामार्फत् दनक दिने गरेका छन् । सामाजिक सञ्जालको व्यापक प्रयोग भएको हालको अवस्थामा विकृति, विसंगति देखाइएका यस्ता कार्टुन सामाजिक सञ्जालप्रेमीहरूले व्यापक शेयर गर्ने गरेका छन् । उता उज्यालो रेडियो नेटवर्क लगायतले चुनावी कार्टुनमात्रै होइन, अघि पछि अखबारमा प्रकाशित कार्टुनको हुलिया बताउँदै कार्टुन कलालाई व्यापकता दिन भूमिका खेलेका छन् ।
नेताको योग्यता
नेताको योग्यताबारे प्रत्येकजसो चुनावमा बहस हुने गरेको छ । यो प्रसङ्ग कार्टुनिस्टहरूले छुटाउने कुरै भएन । २०७९ वैशाख ३० को स्थानीय निर्वाचन भएकै दिन कार्टुनिस्ट राजेश मानन्धरले डबली खबरमा यसबारे कार्टुन कोरेका छन् । जसमा एक बृद्ध चराचुरुंगीलाई भन्दैछन्, ‘मनमनै ता भन्न पाइयो नि । ६० वर्ष नाघेका, स्नातक पास नगरेका, घुस्या, खाली भुँडी भर्नेलाई भोट नदिने लजा’ (डबली खबर, २०८० ख) ।
चुनावमा कुनै दलको प्रचार अभियानमा खट्ने बहानामा धेरैको लागि कमाउने उपर्युक्त अवसर पनि हो । यसमा को खाँटी कार्यकर्ता भनेर छुट्याउन स्थानीय छोटे नेताहरुलाई पनि हम्मे हम्मे पर्छ । यस विषयमा कार्टुनिस्ट राजेश मानन्धरले नै डबली खबरमा २०७९ वैशाख ३० को स्थानीय निर्वाचनको एक साता अगावै २३ वैशाखमा चोटिलो कार्टुन बनाएका छन् । जसमा झोलाभरी विभिन्न ६ वटा दलको झण्डा देखिन्छ । अनि बूढाले बूढीलाई भन्दैछन्, ‘३० गतेसम्म घरको खाना खाइदैन बूढी, लास्टै चुनाव लाग्या छ क्या’ (डबली खबर, २०८० क) ।
चुनाव लगत्तै पनि कार्टुन कलाको घेरामा नेता
चुनाव अघिमात्रै होइन, चुनाव लगत्तै पनि कार्टुन कलाले तरङ्ग ल्याउने गरेको छ । २०६४ सालमा माओवादीले प्रत्यक्षतर्फ बहुमत नै पायो । ऊ संविधानसभाको सबैभन्दा ठूलो शक्ति बन्यो भने सरकार उसैको नेतृत्वमा बन्यो । २०७० को चुनावमा पनि हामी नै पहिलो दल हुन्छौँ भन्नेमा माओवादी ढुक्कजस्तै देखिन्थ्यो । तर, त्यस्तो भएन । किनकि माओवादीले आफ्नो खुट्टामा बञ्चरो हानिसकेको थियो । जनताको विश्वास गुमाउँदै गएका कारण नै ऊ तेस्रो दलमा खुम्चियो । चुनावमा अनपेक्षित हारपछि माओवादी अध्यक्ष प्रचण्डले भनेका थिए, ‘भोट हाल्न हिँडेका हाम्रा मतदाताको बाइकको हावा फुस्काइयो, अवरोध खडा गरियो, माओवादीलाई खस्ने भोट रोकियो ।’ (कुँवर, २०८० ख) । उनको त्यही वक्तव्यलाई व्यंग्य गर्दै कार्टुनिष्ट रविन मानन्धरले कार्टुन बनाए, जसमा माओवादी पराजित भनेर लेखिएको पत्रिका च्यापेर रोइरहेको प्रचण्डजस्तो देखिने अनुहारलाई मिडियाले सोध्दैछ, ‘हावा फुस्काइदिए रे ? मोटरसाइकलको कि तपाईंको ?’
२०८० वैशाखमा चितवन क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने २०७९ मंसिर ४ को भन्दा धेरै मत ल्याउँदै विजयी भए । मतपरिणामअनुसार ५४ हजार १७६ मत प्राप्त गर्दै निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठलाई लामिछानेले ४२ हजार ९६२ मतले पराजित गरेका थिए । माओवादी पार्टीको समेत समर्थन पाएका श्रेष्ठले जम्मा ११ हजार २१४ मत मात्रै ल्याउन सके ।
सोही प्रसंगलाई लिएर कार्टुनिष्ट राजेश केसीले बाह्रखरी अनलाइनका लागि निर्वाचन परिणाम आएकै दिन २०८० वैशाख १२ गते कार्टुन बनाए । जसमा नेपाली काँग्रेसका महामन्त्री गगन थापा जस्ता देखिने पात्रले घण्टीमा टाँसेको सानो रुखको चित्रलाई इंगित गर्दै प्रचण्डजस्तो अनुहारलाई भन्दैछन्, ‘मैले एस्मा (रुख)मा छाप हान्नु भन्या थेँ ।’ उता प्रचण्डले जवाफ दिएका छन्, ‘मैले नि त्यसैमा (घण्टीमा) भोट हाल्नू भन्द्या थेँ त नि ।’ अर्थात् माओवादीको मत काँग्रेसलाई नभई रास्वपालाई गएको उक्त कार्टुनले छर्लङ्ग्याएको थियो ।
कार्टुनिस्ट रविन्द्र मानन्धरले आफ्नो कार्टुन करिअरमा गणेशमान सिंह, मरिचमानसिंह श्रेष्ठ, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालादेखि प्रचण्ड, डा बाबुराम भट्टराई सम्मको कार्टुन बनाएका छन् । आफ्ना नेताका विषयमा घोचपेच हुँदा पार्टीका कार्यकर्ता कार्टुनिस्टमाथि खनिने गरेको उनको भनाइ छ (श्रेष्ठ, २०७८) ।
नेताको कार्टुनले दिक्क
त्यसो त क्यारिकेचर कार्टुन भन्ने बित्तिकै खाली नेताकै मात्र भन्ने चलन थियो । जहिले त्यही अनुहार, नेताको कार्टुन हेर्दा हेर्दै मानिसहरु दिक्क भएको महसुस गर्दै नयापनको लागि सामाजिक व्यक्तित्वहरूको पनि कार्टुन कोर्ने अभियान कार्टुनिस्टहरुले २०७९ सालमा चलाएका थिए । जसअनुसार नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा नाट्यकर्मी सुनिल पोखरेलदेखि हास्य कलाकार सन्तोष पन्तसम्म ‘नेपाली क्यारिकेचर २०७९ प्रदर्शनी’मा सजिएका थिए ।
कार्टुनिस्ट बासु क्षितिजको विचारमा कार्टुन भनेको विकृति, विसङ्गतिको विरुद्ध चोटिलो प्रहार हो । त्यसैले, कार्टुनमा प्रायःजसो नेताहरू नै आउँछन् । हामी राजनीतिबाट अलग रहन सक्दैनौँ । भ्रष्टाचार, काण्ड, घोटाला यसको मूलकारण खोज्दै जाँदा यसमा दल विशेष नेतासँग सम्बन्धित हुन्छ । त्यसैले प्रायः नेता कार्टुनमा आउँछन् । हरेक दिनको कार्टुन नेतालक्षित नै हुन्छन् (विक, २०७९) । सामाजिक व्यक्तित्वहरूको पनि कार्टुन कोर्ने अभियानले यसको घेरा अब फराकिलो हुन थालेको छ ।
र, अन्तमा
मिडियाको विकाससँगै अब अखबारमा मात्रै होइन, अनलाइन पत्रिकामा पनि कार्टुन कलाले स्थान पाउन थालेको छ । कार्टुनिस्टहरूको सङ्ख्या बढ्दो क्रममा छ । तर, केही कार्टुनमा कला पक्ष नसमेटिएका सतही सिर्जनाले पनि स्थान पाएको देखिन्छ । त्यसो त अखबार, अनलाइनका सम्पादकले राजनीतिक कार्टुनलाई प्रथामिकता दिन्छन्, पाठकले समेत राजनीतिक कार्टुन नै रुचाउँछन् ।
राजनीतिसँगै सामाजिक कार्टुनले पनि पर्याप्त स्थान पाए यसको दायरा अझ फराकिलो हुँदै जानेछ । कार्टुनिस्ट रविन सायमीको विचारमा ‘सामाजिक कार्टुनका लागि यहाँ खासै स्पेस नै छैन,’ उनले भने, ‘सबैले राजनीतिक कार्टुन नै बनाउन सक्छन् भन्ने छैन’ । उता बात्सायनको विचारमा सुरु–सुरुमा नेपाली कार्टुनमा बढी व्यक्तिगत घोचपेच हुने गथ्र्यो । त्यस चरणलाई पार गरेर स्वस्थ व्यंग्य गर्ने चरणमा नेपाली कार्टुन पुगे पनि अझै वैचारिक र व्यंग्यचेत कमजोर रहेको छ (पौडेल, २०७५) । यसका लागि कार्टुनिस्टहरूले आफ्नो अध्ययनशैलीलाई फराकिलो बनाउनुपर्ने त छ नै, साथै कार्टुनकलालाई कोर्समा राखी यसलाई बृहत् बनाउनु जरुरी देखिन्छ ।
स्तरीय कार्टुनका लागि नेपालका व्यवसायिक कार्टुनिस्टमा राजनीतिक र सामाजिक चेतको आवश्यकता भएको ‘नेपालमा कार्टुन कलाको इतिहास’ पुस्तकका लेखक डा कुन्दन अर्यालको ठहर छ । उनी भन्छन्, ‘विषयवस्तुको ज्ञानबिना सतही आधारमा कार्टुन बनाउनु हुँदैन । कार्टुन कलाको माध्यम भए पनि यो पत्रपत्रिकाबाट अभिव्यक्त हुने व्यंग्य चित्र भएकाले यसले व्यावसायिक पत्रकारिताको दायित्व बहन गर्नुपर्छ (महर्जन, २०७६) । कार्टुनिस्ट कार्टुन बनाउन एक किसिमले स्वतन्त्र हुन्छ । तर, सम्पादक र कार्टुनिस्टबीच मन्थन गरी बनाइएका कार्टुन कला अझ जीवन्त हुनेमा दुई मत छैन ।
कार्टुनिस्टले सधैँ समाजप्रतिको दायित्व ख्याल गरेर कार्टुन कोर्नुपर्ने कार्टुनिस्ट रविन्द्र मानन्धरको बुझाइ छ । उनका अनुसार, कार्टुनिस्टले समाजका बेथितिमाथि व्यंग्यात्मक शैलीमा सम्बन्धित निकायलाई सचेतना दिने प्रयास गरिरहेको हुन्छ वा यस्तै ध्येय राखिएको हुन्छ । उनी भन्छन्, ‘कार्टुन बनाउँदा सकारात्मक परिवर्तनको अपेक्षा हुन्छ । यद्यपि, हालसम्म कार्टुनकै कारण यस्तो परिवर्तन भयो भन्ने सुन्न वा देख्न पाएको छैन (श्रेष्ठ, २०७८) । कार्टुनिस्टहरूले आफ्नो कार्टुन कलाबाट भलै परिवर्तनको अनुभूति नगरेको महसुस गर्छन् । तर, नेताका विषयमा घोचपेच हुँदा पार्टीका कार्यकर्ता कार्टुनिस्टमाथि खनिने परिघटना नै परिवर्तनको लागि दवाव हो ।
नेताहरूले चुनावमा जबसम्म आफूले गरेका ‘वाचाको धोती’ फुस्काइरहने छन्, आफ्ना कुरा राख्न भन्दा अर्कालाई सत्तोसराप गरिरहने छन्, चुनावी घोषणापत्रलाई हात्तीको देखाउने दाँतको रूपमा देखाइरहने छन्, तबसम्म तिनका कर्तुत कार्टुनिस्टहरुले छर्लङ्याइ रहने छन् ।
सन्दर्भ सामग्री
कुँवर, नवराज । २०८० क । रविन साय्मिका १३ कार्टुनः एमालेका ‘बा’देखि ‘माओवादको मलामी’सम्म । शिलापत्र । ६ माघ ।
कुँवर, नवराज । २०८० ख । ‘कक्षाकोठामा पछाडि बसेर सरकै कार्टुन बनाउँथे’ । शिलापत्र । १३ माघ ।
कुँवर, नवराज । २०८० ग । ‘केपी ओली कार्टुनजेनिक हुनुहुन्छ’ । शिलापत्र । २० माघ ।
कुँवर, नवराज । २०८० घ । साताका कार्टुनिस्ट उत्तम नेपाल र उनका १० कार्टुन । शिलापत्र । २७ माघ ।
डबली खबर । २०८० । कार्टुन डबली । २३ वैशाख ।
डबली खबर । २०८० । कार्टुन डबलीः स्थानीय निर्वाचन । ३० वैशाख ।
थुम्केली, देवेन्द्र । २०७७ । कार्टुनको शक्ति । नयाँ पत्रिका, झन् नयाँ परिशिष्ट । १० असोज ।
पौडेल, विष्णु । २०७५ । अखबारी कार्टुनका आठ दशक । नागरिक अक्षर । ८ वैशाख ।
पौड्याल, अजबी । २०७५ । कार्टुनः नाक भाँच्ने कला । अन्नपूर्ण पोष्ट, फुर्सद । १९ जेठ ।
विक, सम्झना । २०७९ । ‘नेताको कार्टुन हेर्दाहेर्दा मान्छे दिक्क भए’ । अनलाइनखबर । २९ असार ।
महर्जन, सपना । २०७६ । व्यंग्य कार्टुनको सकस । अन्नपूर्ण पोष्ट । १२ जेठ ।
रातोपाटी । २०७८ । साताको कार्टुनः गठबन्धन भर्सेस एमाले ! । २७ चैत ।
श्रेष्ठ, प्रबिता । २०७८ । रविन्द्र मानन्धरको कार्टुन यात्राः विद्यालयको बेथितिदेखि देशको विकृतिसम्म । काठमाडौ प्रेस । ११ चैत ।
सम्बन्धित विचार मञ्चहरू
नेपालको सङ्घीयताः अन्तरसरकारी वित्तीय हस्तान्तरण सुधारका सवाल
भूमिका वित्तीय सङ्घीयता वित्तीय स्रोत र साधन (काम सहित) को न्यायोचित बाँडफाँट लगायतसँग सम्बन्धित छ । कामलाई दामले पछ्याउनु पर्दछ भन्ने सामान्य सिद्धान्त छ । चाहे एकात्मक व्यवस्था होस चाहे…
नेपालमा सङ्घीयताको अभ्यास र मानव अधिकारका सवाल
नेपालजस्तो लोकतान्त्रिक मुलुकहरूले मानव अधिकारको संरक्षण र सम्वर्धनका विषयलाई संविधान तथा कानुनमा उल्लेख गरी त्यसको परिपालनालाई महत्व दिएका हुन्छन्। मानव अधिकार उल्लङ्घन तथा ज्यादतीबाट कोही पनि पीडित नहोेस् भनी उनीहरूको…
सङ्घीयतापछिको नेपाल : आशाको सञ्चार, समृद्धिको यात्रा !
सङ्घीयता भनेको दुई वा दुईभन्दा बढी तहको सरकार हो। जनताबाट निश्चित भएको सार्वभौम सत्ता तहगत सरकारबाट, तहगत व्यवस्थापिकाबाट प्रयोग हुने व्यवस्था हो। मेरो अध्ययनमा अहिले विश्वका ३० ओटा मुलुकमा सङ्घीय…
लुम्बिनी प्रदेश, सङ्घीयता चुनौती र सम्भावना
ऋषि आजाद लुम्बिनी प्रदेशको पहिचान लुम्बिनी प्रदेश नेपालको संविधान २०७२ असौज ३ मा भएको राज्य विभाजनपछि बनेका सात प्रदेशहरु मध्ये एक हो । यो नेपालको चौथो ठूलो जनसंख्या भएको प्रदेश…
जेलः सजाय, सुधार प्रणाली कि शक्ति प्रयोगको माध्यम ?
केशव सिग्देल यो सङ्क्षिप्त लेखमा जेलको विकास र यसले व्यक्ति र समाजलाई पारेका प्रभावका बारेमा केही समाज वैज्ञानिक छलफल गरिएको छ। यस लेखको उद्देश्य नेपाल वा विश्वमा हाल जेलको अवस्था…