कोभिड–१९: स्वास्थ्य अनुशासन पालनामा नै जोड

रमेशप्रसाद तिमल्सिना

गत मङ्सिर महिनायता कम हुँदै आएको कोभिड–१९ को सङ्क्रमण दरमा गत दुईहप्तादेखि वृद्धि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने प्रतिवेदनमा उल्लेख छ  । भारतमा कोभिड सङ्क्रमणको दोस्रो र तेस्रो लहर सुरू भएपछि नेपालमा पनि सङ्क्रमित हुनेहरूको सङ्ख्या बढ्न थालेको आंकलन गरिएको छ । खुला सीमाना, बेरोकतोक आवगमन र सीमानाकामा परीक्षण नगरिनुजस्ता कारणले सङ्क्रमण विगतमा जस्तै गाउँगाउँमा पुग्ने हो की भन्ने आशङ्का गर्न थालिएको छ ।नेपालमा २०७६ साल माघ ९ गते पहिलो सङ्क्रमित फेला परेका थिए । दुई महिनापछि चैत १० गते दोस्रो सङ्क्रमित फेला परेलगत्तै सरकारले गत वर्ष चैत ११ गतेबाट बन्दाबन्दीको घोषणा गरेको थियो । एक हप्ताका लागि भनेर गरिएको बन्दाबन्दीको अन्त्य २०७७ साउन ७ गतेमात्रै भयो । तर, देशका विभिन्न जिल्ला प्रशासन तथा स्थानीयतहले त्यसपछि पनि निषेधाज्ञा जारी गरेका थिए । बन्दाबन्दीको शुरुआत भएको १० दिनदेखि इन्सेकले कोरोना भाइरसको दैनिक अपडेट प्रकाशन गरी आम नागरिकलाई कोभिड–१९ बारे सुसूचित गर्न थालेको थियो ।

कोरोना सङ्क्रमणको अवस्था, स्थानीय सरकार तथा स्थानीय प्रशासनले गरेका असल कामको विवरण, अप्ठ्यारोमा परेका नागरिकहरू तथा स्वास्थ्य सावधानी अपनाउन विज्ञहरूले दिएको सुझावजस्ता विषयलाई समेटेर दैनिक अपडेट प्रकाशन गर्न थालेको आज एक वर्ष पूरा भएको छ । कोभिड–१९ सम्बन्धी दैनिक अपडेट हेर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।स्वास्थ्य मन्त्रालयले २०७७ चैत ८ गते प्रकाशन गरेको विज्ञप्तिमा ‘देशभर सभा जुलुस र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक तथा भिडभाड हुने कार्यहरू नगर्न तथा नगराउन’ अनुरोध गरेको छ । यसैगरी गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘सार्वजनिक स्थलमा भिडभाड नगर्ने, सार्वजनिक यातायात प्रयोग गर्दा मास्क स्यानिटाइजर र भौतिक दूरी कायम गर्ने र यस्ता कार्य नगरेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाहीसमेत हुने’ उल्लेख छ । देशका विभिन्न जिल्लाका प्रशासन कार्यालयहरूले पनि यस्तै प्रकारका सूचनाहरू जारी गरेका छन् । एक वर्षको बिचमा कोभिड–१९ को अवस्था फेरि पुरानै ठाउँ वरपर आइपुगेको विज्ञहरूले बताएका छन् ।  सरूवा रोग विशेषज्ञ डाक्टर बाबुराम मरासिनी विगतबाट सिकेको पाठलाई व्यवहारमा उतार्न ढिला गर्ने हो भने अवस्था गम्भीर हुने बताउनु हुन्छ । उहाँका भन्नु हुन्छ गितका गल्तीबाट सिक्ने र स्वास्थ्य सावधानी अपनाउनुको विकल्प छैन ।

कोभिड सङ्क्रमणको तथ्याङ्क र नेपाल

नोबेल कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वका धेरै देशमा सङ्क्रमण फैलिएको छ । विश्वका सबैभन्दा बढी कोभिड–१९ का सङ्क्रमित भएका १० देशहरूमा क्रमशः अमेरिका, ब्राजिल, भारत, फ्रान्स, रुस, बेलायत, इटाली, टर्की, स्पेन र जर्मनी रहेका छन् । यी १० देशमा मात्रै ०७७ चैत १९ गतेसम्म ८ करोड ३० लाख ९९ हजार ६ सय ८० जना सङ्क्रमित भएका छन् भने विश्वभर १३ करोड १ लाख ७४ हजार ६ सय १७ जना सङ्क्रमित भएका वल्डोमिटरले जनाएको छ ।  सार्क मुलुकमा १ करोड ३० लाख ९ हजार ९ सय जना सङ्क्रमित भएका छन् भने सङ्क्रमितको सङ्ख्या अनुसार नेपाल चौथो स्थानमा पर्छ ।  नेपालमा चैत १९ गतेसम्म २ लाख ७७ हजार ४ सय ६१ जना सङ्क्रमित भएका छन् । वल्डोमिटरका अनुसार नेपाल धेरै सङ्क्रमित भएका देशहरूमा ५० औँ स्थानमा छ । वल्डोमिटरले २ सय २१ मुलुकको सूची राखेको छ । नेपालको जनसङ्ख्याको एक प्रतिशतभन्दा कमलाई कोभिड–१९ को सङ्क्रमण देखिएको छ ।Covid_data_2021_04_02नेपालमा चैत १९ गतेसम्म २२ लाख ७५ हजार ५ सय ४० ओटा स्वाब परीक्षण गरिएकोमा २ लाख ७७ हजार ४ सय ६१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।  यो सङ्ख्यालाई परीक्षण गरिएका व्यक्ति र सङ्क्रमित व्यक्ति मान्ने हो भने कूल परीक्षणको १२ प्रतिशत व्यक्तिलाई कोभिड पुष्टि भएको भन्न सकिन्छ ।

कतिले लगाए कोभिडविरूद्धको खोप ?

नेपालमा २०७७ चैत १५ गतेसम्म १७ लाख ९० हजार १ सय २५ जनाले कोभिड–१९ विरुद्ध खोपको पहिलो मात्रा लगाइसकेका छन् । यो भनेको नेपालको कुल जनसङ्ख्याको ५.९३ प्रतिशत हो ।  आगामी वैशाख ७ देखि दोस्रो मात्रा खोप लगाउन सुरू गर्ने स्वास्थ्य मन्त्रालययले जनाएको छ ।

कोभिड–१९ को बिमा भुक्तानीको अवस्था 

बिमा समितिका अनुसार ५ अर्ब रुपियाँ बराबरको बिमा दाबी भुक्तानी भइसकेको छ । बिमा समितिले चैत ६ गतेसम्मको भनी प्रकाशन गरेको तथ्याङ्क अनुसार बिमा कम्पनीहरूले सो रकम भुक्तानी गरेका हुन् । अहिलेसम्म बीमा कम्पनीमा ८६ हजार ६ सय १२ जनाले कोभिड–१९ बीमा दाबी गरेकोमा ५३ हजार ३ सय २४ जनाले भुक्तानी पाइसकेका छन् । जसमा बीमा कम्पनीले ५ अर्ब १४ करोड १२ लाख ५० हजार रुपियाँ भुक्तानी गरेका छन् । समितिका अनुसार अहिले २२ हजार ४ सय ३ ओटा फाइल प्रमाणीकरणका लागि स्वास्थ्य सेवा विभागको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) मा पठाएकोमा १३ हजार ३ सय ५३ ओटा फाइल प्रमाणित भएर बीमाको पुल शिखर इन्स्योरेन्समा आइसकेको छ । यसैगरी, अहिले इडीसीडीमा ९ हजार १ सय ६३ ओटा फाइल प्रक्रियामा रहेको समितिले जनाएको छ ।

कोभिड–१९ र मानव अधिकार

कोभिड–१९ को सङ्क्रमणका कारण व्यक्तिका सबै किसिमका मानव अधिकारका विषयहरू तुलनात्मकरूपमा ओझेलमा परे ।  स्वास्थ्यको अधिकार संविधानले नै सुनिश्चित गरेको मौलिक हक हुँदाहुँदै पनि यसबिचमा नेपाली नागरिकले सहजै सो अधिकार उपभोग गर्न पाएनन् । स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार हुने, स्वास्थ्यसँस्थामा औषधि तथा स्वास्थ्यकर्मीको अभाव हुने जस्ता समस्या यो अवधिमा रहेको इन्सेक प्रतिनिधिहरूले जनाए । संविधानमा उल्लेख गरिएका मानव अधिकार उपभोग गर्न बाधा व्यवधान भएकमाले नागरिकको दैनिकीमासमेत समस्या उत्पन्न हुन पुग्यो । क्वारेण्टाइनमा राम्रो व्यवस्था नभएको, हजारौँको सङ्ख्यामा भारतबाट आएका नेपालीलाई उचित व्यवहार नगरिएको, स्वास्थ्य उपचारमा लापरबाही गरिएको, मानव अधिकार रक्षक त्यसमध्ये पनि स्वास्थ्यकर्मी, पत्रकार तथा शिक्षकमाथि कुटपिट तथा दुर्व्यवहार भएका र महिला तथा बालबालिकामाथि हुने हिंसाका घटना यो अवधिमा सार्वजनिक भए ।सर्वोच्च अदालतले असोज १५ गने कोरोना भाइरस परीक्षण निःशुल्क गर्न सरकारका नाममा परमादेश जारी गर्‍यो । नेपालको संविधानमा संविधानमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने उल्लेख छ । कोरोना सङ्क्रमितको उपचार निःशुल्क गर्न नसकिने स्वास्थ्य मन्त्रालयले जनाएपछि कोरोनाको निःशुल्क उपचार गरिरहेका सरकारी अस्पतालहरूले बिरामी भर्ना हुनुअघि धरौटी राख्नुपर्ने रकमको सूची प्रकाशन गरेका थिए । कोभिड–१९ सङ्क्रमणको परीक्षण र उपचार निःशुल्क पाउनु पर्ने नागरिककको संवैधानिक अधिकार भएको सर्वोच्च अदालतको आदेश पुनरावलोकन गर्न माग गर्दै सरकारले असोज १५ गते पुनरावलोकन गर्न निवेदन दियो । सर्वोच्चले कार्तिक २० गते सो निवेदन खारेज गर्‍यो । यो आदेशसँगै कोरोना सङ्क्रमित नागरिकको निःशुल्क उपचार गर्न सरकार बाध्य भयो ।

अबको बाटो

नेपाली समाजमा भएको सामाजिक, आर्थिक तथा राजनीतिक परिवर्तन, चेतनास्तर, साक्षरतामा भएको वृद्धिलाई सही रूपमा प्रयोगमा ल्याउनु आवश्यक छ । एक वर्षको अवधिमा सरकारले गरेका राम्रा अभ्यासलाई निरन्तरता दिने तथा सुधार गर्नु पर्ने पक्षलाई सरकारी संयन्त्रबाट सुधार गर्नु जरुरी छ । एक वर्षको अवधिमा कोभिड–१९ को सङ्क्रमण फैलन नदिनका लागि स्वास्थ्य अनुशासनको पालना नै महत्वपूर्ण भएको हुँदा सोको लागि नागरिक सचेतना बढाउनु आवश्यक छ । यो अवधिमा कलकारखाना, उद्योगधन्दा बन्द हुँदा रोजगारी गुमेकाहरूको वैकल्पिक रोजगारीको व्यवस्थाका लागि तीनै तहका सरकारको तदारूकता आवश्यक छ । आमनागरिकलाई परेको पीडा र मर्कामा तीनै तहका सरकारले संरक्षणका नीति अघि सार्नु आवश्यक छ । स्वास्थ्य अनुशासन पालना गर्ने, विज्ञको सुझाव अनुसार आफ्नो दैनिकी सञचालन गरेमा कोभिड–१९ को सङ्क्रमणबाट बच्न सकिन्छ ।